तपाईं राम्रो ब्याट्री र क्यामरा भएको मध्यम मूल्यको फोन खोज्दै हुनुहुन्छ भने ओपो एफ-१९ प्रो विकल्प हुन सक्छ। हालसालै सार्वजनिक एफ-१९ प्रो ओपोको फ्ल्यागसिप फोन हो। त्यसैले यसमा धेरै सुविधा र फिचर तपाईंले पाउन सक्नुहुनेछ।
ओपो एफ सिरिज अल्ट्रा स्लिम बडी डिजाइनका कारण चर्चित छन्। एफ-१९ प्रो पनि यही डिजाइनमा बनेको छ। ६.४ इन्चको ठूलो डिस्प्ले भएको फोन भए पनि यसको डिजाइनकै कारण यो बोक्दा भारी हुँदैन। यो हलुका हुनुका साथै निकै पातलो पनि छ।
एफ-१९ प्रो फोटो र भिडिओ खिच्न एकदमै उपयोगी फोन छ। यसमा चार वटा क्यामरा छन्, ४८ मेगापिक्सलको मुख्य क्यामरा, ८ मेगापिक्सलको अल्ट्रा वाइड, दुई मेगापिक्सलको म्याक्रो र दुई मेगापिक्सलकै मोनो क्यामरा छन्। अनि यसमा ३२ मेगापिक्सलको सेल्फी क्यामरा पनि छ।
ओपो एफ-१९ प्रो भिडिओ खिच्नेहरूका लागि राम्रो विकल्प हुन सक्छ। किनकी यसमा एकैपटक दुईतिरको भिडिओ खिच्न मिल्ने सुविधा छ। सेल्फी मोडमा बोल्दै गरेको र आफू अगाडिको अरू कुनै गतिविधिको भिडिओ एकैपटक खिच्न मिल्ने भएपछि दुवैतिरका दृश्य कैद गर्न सकिन्छ।
त्यस्तै यसको क्यामरामा भएको अर्को विशेषता भिडिओ-फोटोमा ब्याकग्राउन्डको रङ फेर्न मिल्ने हो। कुनै पनि मान्छेको फोटो-भिडिओ खिच्दै हुनुहुन्छ भने, त्यसको ब्याकग्राउन्ड ब्ल्याक एन्ड ह्वाइट बनाएर मान्छे मात्रै रंगीन बनाउन सकिन्छ।
योबाहेक अन्य विभिन्न फिल्टर र मोडमा पनि फोटो-भिडिओ खिच्न मिल्ने सुविधा छ जुन तपाईंले आफैं चलाउँदै थाहा पाउन सक्नुहुनेछ।
अब कुरा गरौं ब्याट्रीको। ओपो एफ-१९ प्रोमा ४३१० एमएएच पावरको ब्याट्री छ। कम्पनीले एकपटक पूरा चार्ज गरेपछि यो फोन १६ घन्टासम्म चल्ने दावी गरेको छ।
अनि ३० वाटको भुक फ्ल्यास चार्ज प्रविधि यसमा भएकाले यो फोन चाँडै चार्ज हुन्छ। कम्पनीका अनुसार पाँच मिनेट मात्र चार्ज गर्दा पनि फोनमा साढे दुई घन्टासम्म युट्युब चलाउन सकिन्छ। त्यस्तै एक घन्टा इन्स्टाग्राम चलाउन वा तीन घन्टा बढीको टकटाइम पनि पाँच मिनेटको चार्जले नै दिन्छ।
ओपो एफ-१९ प्रोको बाहिरी आवरण पनि निकै स्मुथ र प्रिमियम फिनिसिङ भएको छ। फ्ल्युड ब्ल्याक (कालो) र फेन्टास्टिक पर्पल (बैजनी र नीलोको मिश्रण) रङमा उपलब्ध फोनका दुवै रङ आकर्षक छन्।
फोनको पावर बटन दायाँतिर छ भने बायाँतिर भोल्युम अप र डाउन बटन छ। तलपट्टि हेडफोन ज्याकको प्वाइन्ट र युएसबी पोर्ट छ।
एफ-१९ प्रोमा तीन वटा सिम राख्न मिल्छ, दुइटा सामान्य र एउटा नानो सिम। धेरै नम्बर प्रयोग गर्नेहरूलाई यो फोन उपयोगी हुन्छ।
यसमा भएको ८ जिबी र्याम, १२८ जिबी इन्टरनल स्टोरेज र मिडियाटेक हिलियो पि ९५ अक्टाकोर प्रोसेसरले फोन सुस्त हुन दिँदैन।
गेम खेल्न रूचाउने प्रयोगकर्ताका लागि यसमा गेम फोकस मोड पनि छ। यो मोड अन गरेपछि गेम खेलिरहेको समयमा फोन, नोटिफिकेसन, जेस्चर जस्ता कुनै पनि अवरोध आउने छैन।
गोपनियताका लागि यो फोनमा नम्बर लक, फेस लक र फिंगर प्रिन्ट लक सुविधा छ।
ओपो एफ-१९ प्रोको बजार मूल्य ४४ हजार ९ सय ९० रूपैयाँ तोकिएको छ।