पाकेको खसीको मासुबाट ‘पुल्ड मिटलोफ’ बनाउने तरिका


दसैंमा खासगरी खसीको मासुको खाने चलन छ। एकनाश एकैखाले परिकार खाँदा–खाँदा वाक्क लाग्न सक्छ। नयाँ परिकार बनाउन चाहनुहुन्छ तर सबै मासु पकाइसक्नु भएको छ भने चिन्ता नलिनूहोस्! आज हामी तपाईंलाई पाकेकै मासुको नयाँ परिकार बनाउन सिकाउनेछौं। त्यो परिकार हो ‘पुल्ड मिटलोफ’।

धेरैले यस परिकारको नाम नसुनेको हुनसक्छ। युरोपका धेरै देशमा मासुको मुख्य परिकारका रुपमा मिटलोफ खाने गरिन्छ। आज हामी एक सेफको सहयोग मार्फत खसीको मासुबाट यो परिकार बनाउन सिकाउने प्रयास गर्दैछौँ।

आवश्यक साम्रागी

दुई वटा अण्डा

एक वा दुई कप दूध

दुई कप पकाइएको टुक्रा मासु

एक कप माडिएको पाउरोटी

एउटा मसिनो गरी काटिएको हरियो प्याज

स्वादअनुसार नुन

एकदेखि चार कप मसिनो गरी काटिएको भेडे खुर्सानी (क्याप्सिकम)

एक चम्चा सुख्खा तोरी दाना

एक चम्चा कालो मरिचको धुलो

एक वा दुई कप बार्बिक्यु सस

कुकिङ स्प्रे

समयः

तयार गर्ने अवधिः १५ मिनेट

पकाउने अवधिः १ घण्टा

सम्पूर्ण तयारी सकिन लाग्ने अवधिः १ घण्टा २० मिनेट

पकाउने विधि

१. सर्वप्रथम सम्पूर्ण पूर्वतयारी गरिसक्ने।

२. त्यसपछि सबै सामाग्री र उपकरण तयार पार्ने।

३. ओभनलाई १७५ डिग्री सेल्सियसमा प्रिहिट गर्ने।

४. लोफ प्यानलाई कुकिङ्ग स्प्रेले स्प्रे गर्ने।

५. अण्डालाई राम्ररी फिटेर एउटा बटुकोमा राख्ने र त्यसमा खसीको मासु, माडिएको पाउरोटी, भेडे खुर्सानी, हरियो प्याज, तोरी र मरिच हालेर मजाले चलाउने।

६. उक्त मिसावटालाई अघि तयार पारेको लोफ प्यानमा सार्ने।

७. त्यसमा मासुलाई कसेर दबाउने अनि माथिबाट बार्बिक्यू सस फैलाउने।

८. यसलाई प्रिहिट गरेको ओभनमा १ घण्टासम्म बेक गर्ने।

९. यसपछि तयार पाकेको मिटलोफलाई ५ देखि १० मिनेटजति सेलाउन दिने। मिटलोफ खानका लागि तयार भयो।

यो परिकार पकाउने विधि दुई दशकदेखि क्रियाशील वरिष्ठ सेफ कुमार चालिसेको सहायतामा तयार पारिएको हो। उनी अष्ट्रेलियाको ‘टेफ एनएसडब्लु’ नामक संस्थाद्वारा ‘ट्रेनिङ एण्ड एसेसमेन्ट’ का लािग ‘सर्टिफाइड’ सेफ हुन्।

सेफ कुमार चालिसे

हाल उनी बाजेको सेकुवामा कर्पोरेट सेफ तथा काठमाडौँको ‘गेट कलेज’ मा सेफ तथा निरिक्षकका रुपमा कार्यरत छन्।

त्यस्तै उनले पाकशाष्त्रमा आधारित तीन पुस्तक लेखेका छन् भने नेपाली खानाका परिकारहरुको इतिहास सम्बन्धी पुस्तक प्रकाशनको क्रममा छ।यसबाहेक उनले डेढ दर्जनभन्दा बढी देशहरुमा नेपाली खानाका विभिन्न परिकारहरुको प्रवर्द्धन गर्ने कार्यक्रमहरु समेत आयोजना गरेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.