खसीको मासु र स्याउको सलाद खाने कि!


मासुमा भिटामिन ए, बी, डीका साथै आइरन, जिंक, पोटासियम लगायतका पौष्टिक तत्व हुन्छ। मासुमा शरीरलाई आवश्यक प्रोटिन पनि प्रशस्त हुन्छ।स्वस्थ मासु खाँदा शरीरमा स्फूर्ति आउँछ।

तर, सही तरिकाले पकाउन, खान तथा भण्डारण गर्न नजान्दा मासुले नकारात्मक असर गर्न सक्छ। त्यसैले मासु किन्दा, पकाउँदा र खाँदा सावधानी अपनाउनु पर्नेमा चिकित्सकहरु जोड दिन्छन्। मासुको खान रुचाउने भए पनि हामीमध्ये धेरै जना यसका विभिन्न परिकारबारे कमै जानकार छौँ।

त्यसैले यदि तपाईं मासुको पारखी हुनुहुन्छ र उपलब्ध मासुबाट कुनै नयाँ परिकार बनाएर आफू र परिवारलाई खुवाउन चाहानुहुन्छ भने आज हामी बिलकुलै नयाँ परिकार बनाउन सिकाउँदै छौँ।हामीले तपाईंलाई सिकाउन लागेको परिकार मासु र स्याउको सलाद हो।हामी एक जना सेफको सहयोग मार्फत तपार्इंलाई खसीको मासुबाट यो परिकार पकाउन सिकाउने प्रयास गर्दैछौँ।

तयार गर्ने अवधिः ३५ मिनेट

पकाउने अवधिः १० मिनेट

सम्पूर्ण तयारी सकिन लाग्ने अवधिः ४५ मिनेट

आवश्यक सामग्री

तीन चम्चा एप्पल जेली

एक चम्चा मसिनो गरी काटिएको ताजा थाइम (थाइम एक मसला जडिबुटी हो, जुन नर्सरी वा मार्टहरुमा पाउन सकिन्छ।)

बीचमा काटेको मटन चप ३ पिस (करिब ११ -४ पाउण्ड)

माथिबाट दल्न जैतुन (एक्स्ट्रा भर्जिन ओलिभ) तेल १­‍-२ कप

१-­२ वटा सानो रातो प्याज (राम्ररी काटिएको)

३ चम्चा तोरी दाना

१-­२ कप एप्पल साइडर भिनेगर

२ बोट बोस्टोन वा बिब लेट्टुस (सलादमा प्रयोग गरिने साग)

एउटा स्याउ, मसिनो टुक्रा गरी काटिएको

एउटा गान्टे मुला, ताछेर मसिनो गरी काटिएको

३ वा ४ कप ब्लू चिज, स–साना टुक्रा बनाएर माडिएको

माथिबाट छर्नका लागि मसिनो गरी काटिएको ताजा पार्स्ले (धनियाँ जस्तै एक मसला जडिबुटी)

कोसर नुन (यो हामीले प्रयोग गर्दै आएको नुनभन्दा अलग हुन्छ, जुन मार्टहरुमा किन्न सकिन्छ) र मरिचको ताजा धुलो (स्वाद अनुसार मात्रा लिन सकिने)

पकाउने विधि

१. सर्वप्रथम सम्पूर्ण पूर्व तयारी गरिसक्ने।

२. त्यसपछि सबै सामग्री र उपकरण तयार पार्ने।

३. ग्रीललाई उच्च तापमा तताउने।

४. २ टेबल चम्चा एप्पल जेलीलाई थाइमसँग मिसाउने।

५. खसीको मासुलाई नुन र मरिच छर्केर दुवैतिर जैतुनको तेलले ब्रस गर्ने।

६. मासुको चपलाई दुवैतिर ग्रीलको डाम बस्ने गरी ३­३ मिनेट ग्रील गर्ने।

७. अघिको जेली­थाइम मिक्सचरले मासुलाई ब्रस गरेर मटन चप पाकुन्जेल, अझ २ मिनेट जति ग्रील गर्ने र सेलाउन दिने।

८. डाइस (बाकस जस्तो) काटेको प्याजलाई १० मिनेट जति चिसो पानीमा भिजाउने।

९. अर्कोतिर तोरी, भिनेगर र बाँकी रहेको १ चम्चा एप्पल जेलीलाई एउटा बटुकोमा मज्जाले फिट्ने र नुन­मरिच हाल्ने।

१०. त्यसमा बिस्तारै आधा कप जैतुन तेल थपेर मलाइदार हुनेगरी फिट्ने।

११. पाकेको मटनलाई खान मिल्ने टुक्रा पार्ने र त्यसमा लेट्टुस, डाइस काटेको एप्पल, गान्टे मुला, सुख्खा प्याज र ब्लू चिज हालेर राम्ररी चलाउने।

१२. त्यसपछि प्लेटमा राखी माथिबाट पार्स्ले टुक्रा छर्ने। सलाद तयार भयो।

यो परिकार पकाउने विधि दुई दशकदेखि क्रियाशील वरिष्ठ सेफ कुमार चालिसेको सहायतामा तयार पारिएको हो। उनी अष्ट्रेलियाको ‘टेफ एनएसडब्लु’ नामक संस्थाद्वारा ‘ट्रेनिङ एण्ड एसेसमेन्ट’ का लािग ‘सर्टिफाइड’ सेफ हुन्।

सेफ कुमार चालिसे

हाल उनी बाजेको सेकुवामा कर्पोरेट सेफ तथा काठमाडौँको ‘गेट कलेज’ मा सेफ तथा निरिक्षकका रुपमा कार्यरत छन्।

त्यस्तै उनले पाकशाष्त्रमा आधारित तीन पुस्तक लेखेका छन् भने नेपाली खानाका परिकारहरुको इतिहास सम्बन्धी पुस्तक प्रकाशनको क्रममा छ।यसबाहेक उनले डेढ दर्जनभन्दा बढी देशहरुमा नेपाली खानाका विभिन्न परिकारहरुको प्रवर्द्धन गर्ने कार्यक्रमहरु समेत आयोजना गरेका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.