बजारमा दूधको अभाव,राजधानीबासीले आज मात्रै १ लाख ४० हजार लिटर दूधको खीर खाए

बजारमा दूधको अभाव,राजधानीबासीले आज मात्रै १ लाख ४० हजार लिटर दूधको खीर खाए


नेपाली समाजमा साउन १५ को दिन दूधको खीर खाने परम्परा चलिआएको छ । यो चलन कहिलेबाट शुरू भएको यकिन नभएपनि साउन १५ देशैभरि मनाइन्छ । उपत्यकामा आजकै दिन खीर खाने परम्परा रहि आएपनि उपत्यका बाहिर भने साउन महीनाभित्र खानुपर्ने मान्यता छ ।

असारको झरीमा खेतमा काम गरेको शरिरलाई उर्जा दिन नरिवल, दालचिनी, ल्वाङ आदि मसला मिश्रित खीर खाने चलन रहेको जानकारहरु बताउँछन् । त्यस्तै असारमा सबै कृषि कार्य सम्पन्न भएको अवसरमा मिठो भोजन खीर खाने चलन बसेको कतिपयको भनाई छ ।

सामान्य दिनमा करीब ७ लाख लिटर दूध खपत हुने काठमाडांैमा आज यसको २० प्रतिशत धेरै माग अर्थात करीब ८ लाख ४० हजार लिटर पुगेको नेपाल डेरी एशोसिएशनका अध्यक्ष सुमित केडियाले जानकारी दिए ।

यसको अर्थ राजधानीमा आज खीर खानको लागि मात्र करीब १ लाख ४० हजार लिटर दूध खपत भयो । यो दूधको मूल्य करीब ८९ लाख ६० हजार हुन जान्छ ।

सिताराम दूधले मात्र करीब ३५ हजार लिटर दूध बजारमा पठाएको केडियाले जानकारी दिए । बजारमा माग उच्च भएपनि दूध कम उत्पादन कम हुने मौसम भएको कारणले माग अनुसार पूर्ति गर्न नसकिएको उनको भनाइ छ । ‘गर्मीमा यसै दूध कम उत्पादन हुन्छ, त्यस माथी आजको दिन उत्पादित दूध किसानले आफ्नो घरमै धेरै खपत गर्ने हुँदा माग धान्न नसकिएको हो’ केडियाले सेतोपाटीसँग भने।

दूग्ध विकास संस्थान (डिडिसी)ले मात्र आज १ लाख ८१ हजार लिटर विक्री गरेको डिडिसीका बजार प्रबन्धक सञ्जिव कुमार झाले जानकारी दिए ।

खीर खानको लागि पसलमा डिडिसीको दूध किन्न जाँदा दूध सकिएर फर्कनु परेको बानेश्वर बुद्धनगरकी सम्झना पौडेल बताउँछिन्। ‘पसलेहरुले दैनिक रुपमा दूध लाने ग्राहकलाई अघिल्लो दिनै सोधेर छुट्याएर राखिदिने रैछन्, मैले हिजो अर्डर गर्ने मेसो नै पाइन’ उनले भनिन् ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.