कतिपय बिरामीलाई चिकित्सकहरूले रातो मासु नखान सल्लाह दिन्छन्। त्यस्ता बिरामीका लागि खसीबोका तथा च्याङ्ग्राको मासु घातक हुन्छ।
तर धेरै मानिसहरूलाई रातो मासुको स्वाद नलिएसम्म मासु खाए जस्तो अनुभव नै हुँदैन।
त्यसैले चिकित्सकहरूले नखान सल्लाह दिँदादिँदै पनि कतिपयले अनियन्त्रित रूपमा रातो मासु खाइदिन्छन्। जसकारण उनीहरूको स्वास्थ्यमा झन् समस्या बढ्छ।
त्यसकारण रातो मासुको सामान्य विकल्प बनेको छ अस्ट्रिच मासु। नेपालमा यसको व्यावसायिक उत्पादन भइसकेको छ।
तपाईंले पनि अस्ट्रिचको मासु खाने सोच्नुभएको छ तर यसको के परिकार, कसरी बनाउने भन्ने होला। यसबाट विभिन्न परिकार बनाउन सकिन्छ।
यहाँ भने हामीले ग्रेभी बनाउने तरिकाकबारे उल्लेख गरेका छौं।
अस्ट्रिच ग्रेभी बनाउन चाहिने सामग्रीहरू :
- टुक्रा पारिएको अस्ट्रिच मासु
- सूर्यमुखीको तेल
- प्याज
- गरम मसला
- अदुवा लसुनको पेस्ट
- गोलभेडा
- बेसार
- नुन
- करीपाउडर
- जिराको धूलो
- हरियो धनियाँ।
तरिकाः
प्यान वा कराईमा ठिक्क मात्रामा तेल राखेर तताउनुहोस्। टुक्रा पारेको प्याजलाई हल्का खैरो हुन्जेलसम्म तेलमा तताएपछि मासु राख्नुहोस्।
प्याज र मासुलाई राम्ररी चलाएर मासुको परिमाण अनुसार ५ मिनेटसम्म भुट्नुहोस्।
त्यसमा अदुवा र लसुनको पेस्टलाई राखेर थप दुई मिनेट पकाउनुहोस्।
त्यसपछि बेसार, करी पाउडर, जिरा र खुर्सानीको धूलो हाल्नुहोस्।
त्यसलगत्तै पिस बनाएको गोलभेडा पनि राख्नुहोस्।
आवश्यकता अनुसार तातो पानी, स्वादअनुसारको नुन राखेर उमालेपछि प्रेसर कुकरमा राखी २/४ सिठ्ठी लागाउनुहोस्।
यसपछि अस्ट्रिच ग्रेभी तयार हुन्छ।
त्यसमा हरियो धनियाँ राखेर स्वाद अझै बढाउन पनि सकिन्छ।