सबैजसो घरधनीका लागि पानीको ट्यांकी सफा गर्नु ठूलै झमेला हो। ट्यांकीभित्र पसेर गुम्सिँदै कि आफैंले घोट्नुपर्यो, कि महँगो ज्याला तिरेर कामदार लगाउनुपर्यो।
सफा गर्न पनि सजिलो कहाँ छ र, भित्र जमेको लेउ र फोहोरको लेदो उघाउँदै फाल्दा कम्ता समय लाग्दैन। थकाइ उस्तै। मान्छे पनि फोहोरी भइने।
उपभोक्ताको यही समस्या सुल्झाउन पञ्चकन्या ग्रुपले आफ्ना ट्यांकी विशेष डिजाइन गरेर बजारमा ल्याएको छ। पञ्चकन्या ब्रान्डको स्टिलको पानी ट्यांकी सफा गर्न कुनै दुःख हुँदैन। न मान्छे पस्नुपर्छ, न फोहोर उघाउँदै फाल्नुपर्छ। यो आफैं सफा हुन्छ भन्न मिल्छ।
ट्यांकीमा रहेको एउटा प्लगजस्तो बटन खोलेका भरमा ट्यांकीबाट सबै फोहोर निस्किएर आफैं सफा हुने यसको विशेषता हो।
'सजिलै सफा गर्न मिल्नु नै यो ट्यांकीको मुख्य सुविधा हो,' पञ्चकन्या ग्रुप सेल्स एन्ड मार्केटिङ शाखाका दिनेश जोशी भन्छन्।
उनका अनुसार यो ट्यांकीको फेद कराइ गहिरो आकारको हुन्छ। त्यही गहिरो भागमा फोहोर, लेउ, धूलो, मरेका किराकिरी सबै थिग्रिएर जम्मा भएर बस्छ। ट्यांकीको त्यही गहिरो भागको बाहिरपट्टि बटन हुन्छ। त्यसलाई बाहिरैबाट खोल्न मिल्छ, खोल्नासाथ जमेको फोहोर स्वार्र बाहिर निस्किन्छ।
'अब ट्यांकीभित्रै पसेर सफा गर्ने दिन गए। पानीको गुणस्तर हेरेर समय समयमा बटन खोलेर सफा गर्न सकिन्छ,' जोशीले भने।
जो कोहीले सजिलै सफा गर्न सकिने हुँदा सफाइको खर्च, समय र मेहनत जोगिन्छ। ट्यांकी सफा गर्नुको सकस झेलेकाहरूलाई यो ठूलो राहत हो।
पञ्चकन्याको यही पानी ट्यांकीको अर्को पनि खास विशेषता छ।
यसमा पानी सकिएपछि आफैं मोटर चलेर पानी तानिन्छ। यसका लागि मोटरको स्विच 'अन' नै राख्नुपर्छ।
मोटर चलाइरहँदा पानी भरिएर खेर जाला नि भन्ने सोच्दै हुनुहुन्छ होला। यसको पनि सजिलो समाधान यो ट्यांकीले दिन्छ। जोशीका अनुसार यो ट्यांकीमा पानी भरिएपछि मोटरबाट पानी तानिन आफैं बन्द हुन्छ।
'यो ट्यांकी राख्नुभएको छ भने न पानी सकिएर हैरान हुनुपर्छ, न भरिएर खेर जाने चिन्ता हुन्छ,' जोशीले भने, 'पानी सकिएपछि आफैं तानिन्छ, भरिएपछि आफैं बन्द हुन्छ।'
त्यस्तै यो ट्यांकीमा पानी धेरै समय रह्यो भने गन्हाउने समस्या पनि नहुने उनको भनाइ छ। ट्यांकीको माथिल्लो भागमा 'एअर भेन्टिलेसन' राखिएको छ। यसले भित्रको तातो हावा र गन्ध बाहिर निकाल्न सहयोग गर्छ।
ट्यांकी स्टिलका भएकाले भित्र र बाहिर खिया नलाग्ने उनले बताए। ट्यांकीको रेडिमेड स्ट्यान्ड पाइन्छ जुन सजिलै फिट गर्न सकिन्छ। स्ट्यान्ड पनि स्टिलकै भएकाले त्यसमा पनि खिया लाग्दैन। अनि घामपानीको असर वा अन्य धक्काले टुटफुट हुने सम्भावना पनि भएन।
स्टिलबाट बनेकाले यो धेरै टिकाउ पनि हुन्छ। कम्पनीले यो ट्यांकीमा ५० वर्षको ग्यारेन्टी दिएको छ। यो अवधिमा ट्यांकीमा कुनै पनि समस्या आए कम्पनीले अर्को राखिदिने जोशीले बताए।
'ट्यांकीको बाहिरी भागमा मिरर कोट गरिएको छ। यसले गर्दा सूर्यको किरण परावर्तन भएर जान्छ र गर्मी महिनामा पानी तात्न पाउँदैन,' ट्यांकीको थप विशेषता बताउँदै जोशीले भने।
उनका अनुसार यो ट्यांकी सुरक्षित पनि छ। यसको बिर्को लक गर्न मिल्ने भएकाले खुत्रुक्क खस्ने वा बेतोड हावाहुरी आउँदा खुस्केर उड्ने समस्या हुँदैन।
यो ट्यांकीको अर्को विशेषता भनेको यो ठाडो र तेस्रो दुवै आकारमा पाइन्छ। ठाडो ट्यांकी २५० लिटरदेखि पाँच हजार लिटरसम्मका ट्यांकी पाइन्छन्। ग्राहकले आफ्नो आवश्यकताअनुसार दुई सय पचास, पाँच सय, हजार, पन्ध्र सय, दुई हजार, तीन हजार, चार हजार र पाँच हजार लिटरका ट्यांकी पाउनेछन्।
त्यस्तै तेर्सो भने एक हजार लिटरदेखि सुरू हुन्छ।
हाम्रो घरायसी प्रयोजनका लागि सामान्यतया छतमा एक हजार लिटरका ट्यांकी राखिन्छ।