चिसो बढेसँगै हिटर बजार तातेको छ। तपाईं पनि कोठा तताउन हिटर किन्ने सोचमा हुनुहुन्छ?
के-कस्तो किन्ने भनेर अलमलमा हुनुहुन्छ?
यिनै अलमल समाधान गर्न हामीले काठमाडौं, महाबौद्धका इलेक्ट्रिक सामान व्यापारी साधुराम फुँयाल र राजेश गौतमसँग कुराकानी गरेका छौं।
उनीहरूका अनुसार अहिले बजारमा विभिन्न प्रकारका हिटर पाइन्छन् र यिनको विशेषता पनि फरक छ।
तर जुनसुकै हिटर चलाए पनि कोठाको झ्याल/ढोका वा भेन्टिलेसन खुला हुनुपर्ने उनीहरूले सुझाए। ढ्यामढुम्म सबै कोठा गुम्साएर हिटर नबाल्नुहोला।
फुयाँल र गौतमका अनुसार बजारमा पाइने हिटरका प्रकार, मूल्य र उपयोगिता निम्नानुसार छः
फ्यान हिटरः
यो हिटरले जाडो र गर्मी दुवै मौसममा काम गर्छ। यसले पंखाले झैं हावा फ्याँक्छ, आवश्यकताअनुसार चिसो र तातो।
यसले एउटा सानो कोठालाई तातो बनाउन सक्छ। धेरै ठूलो कोठा तताउन भने खासै उपयोगी हुँदैन।
सामान्यतया बजारमा यसको मूल्य १२-१३ सय रूपैयाँसम्म पर्छ।
ह्यालोजन हिटरः
हेलोजिन हिटरको विशेषता भनेको यो छिट्टै तात्छ र छिट्टै सेलाउँछ। यो सामान्यतया २/३ रड भएको पाइन्छ। यसलाई आफ्नो आवश्यकताअनुसार बाल्न सकिन्छ।
यसलाई पंखा झैं घुमाउन पनि मिल्छ। यसले एउटा ठूलै कोठा तताउन सक्ने व्यापारीहरू बताउँछन्। यसको अगाडिको भागबाट ताप आए पनि धेरै जोखिम हुँदैन। भूलवश बलिरहेको भागमा छोइयो भने पनि पोल्दैन। त्यसैले अलि परै बसेर यो ताप्न पनि सकिन्छ।
फेरि यो चाँडै सेलाउने भएकाले निभाइसकेपछि थन्क्याउन पनि सहज हुन्छ।
यसको मूल्य २ हजारदेखि २२ सयसम्म पर्छ।
क्वार्ज हिटरः
यो हिटर झट्ट हेर्दा ह्यालोजन हिटरजस्तै देखिन्छ। तर क्वार्ज हिटर ह्यालोजनको तुलनामा ढिलो तात्छ र ढिलै सेलाउँछ।
थोरै ध्यान दिए यो पनि सुरक्षा हिसाबले खतरा नहुने फुँयालले बताए।
यसको मूल्य एक हजारदेखि ११ सयसम्म पर्छ।
टाइमर हिटरः
यो हिटर भने ठ्याक्कै स्ट्यान्ड पंखाजस्तै देखिन्छ। यसको पनि तापक्रम नियन्त्रण गर्न मिल्छ र पंखाजस्तै यताउता घुम्छ पनि।
यसलाई कतिबेरसम्म चलाउने भनेर समय सेट गर्न मिल्छ। बढीमा एक घन्टासम्म टाइमर सेट गर्न मिल्ने यो हिटर तापेर बस्न भने मिल्दैन। तर कोठा तातो बनाउन यो उपयोगी हुने व्यापारीहरू बताउँछन्।
यसको मूल्य ३ हजारदेखि ३२ सयसम्म पर्छ।
ग्यास प्लस इलेक्ट्रिक हिटरः
यो हिटर ग्यास र विद्युत दुवै माध्यमबाट चलाउन सकिन्छ। ग्यासबाट चलाउँदा राप राम्रो आउने व्यापारीहरू बताउँछन्। यो ठूलो कोठामा उपयोगी हुन्छ। यसको राप धेरै आउने हुनाले कोठामा हावा बहने ठाउँ पनि राम्रो हुनुपर्छ।
ग्यासबाट बल्ने हुनाले अहिले सजग पनि हुनुपर्छ। अनि मुख्य कुरा यो बालेका बेला अगाडिको भागबाट जोगिनुपर्छ। यसलाई छुँदा मात्र पनि हात पोल्न र चोट लाग्न सक्छ। अनि धेरै नजिक बसेर पनि नताप्नुहोला। यसले लुगामा आगो टिप्ने जोखिम धेरै हुन्छ।
यसको मूल्य ९ हजारदेखि सुरू हुन्छ भने ब्रान्डअनुसार ९ हजार पाँच सयसम्म पर्छ।