५५ मध्ये ५१ ग्यास उद्योग गुणस्तर चिन्हविहीन, कारबाही थाल्ने विभागको चेतावनी


सरकारले एनएस (नेपाल स्टयाण्डर्ड) चिन्ह नलिएका ग्यास उद्योगलाई कारबाही गर्ने भएको छ।

गुणस्तर तथा नापतौल विभागले आवश्यक गुणस्तरको मापदण्ड पुरा भएकालाई दिइँदै आएको एनएस चिन्ह नभए कारबाही गर्ने भएको हो। केही दिनअघि बीरगंजस्थित सुपर ग्यास उद्योगमा आगलागी हुँदा धनजनको क्षति भएपछि विभाग आक्रामक रुपमा प्रस्तुत भएको हो।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले त्यस्ता उद्योगलाई जरिवानादेखि बन्द गर्ने सम्मको कारबाही थालिने बताए। ‘कानुनले तोके बमोजिमका सम्पूर्ण सुरक्षाका मापदण्ड पुरा गरेका उद्योगलाई विभागले एनएस चिन्हद्वारा प्रमाणिकरण गर्छ, तर ग्यास जस्तो संवेदनशिल पदार्थमा लापरबाही गर्दा देशले ठूलो जनधनको क्षती ब्यहोर्नु परेको छ’ उनले भने ‘अब लापरबाही गर्नेलाई कारबाही थाल्छौँ।’

तर ५५ वटा जम्मा ग्यास उद्योगमध्ये केवल ४ उद्योगले मात्र एनएस चिन्ह लिएका छन्। हालसम्म साई बाबा, नेपाल, मनोज र श्री कृष्ण ग्यास उद्योगले मात्र सो चिन्ह लिएका विभागले जनाएको छ।

यसबाहेक अन्य ४२ उद्योगले कुनै प्रक्रिया सुरु नगरेको भन्दै विभागले कारबाही गर्ने चेतावनी दिएको हो। यसबाहेक अन्य ९ उद्योगले सो चिन्हका लागि आवेदन दिएका छन्।

आवेदन दिने उद्योगहरुमा नोबेल, मेट्रो, श्री राम, जानकी, कोशी, श्री, एनएल, बाबा तथा सगरमाथा ग्यास रहेका छन्। तिसहित कुल ५१ उद्योगले अब यो चिन्ह लिनुपर्ने भएको छ। यदी यी उद्योगले अब एनएस चिन्ह नलिए कारबाही गर्ने विभागले जनाएको छ।

विभागले गत वर्षभित्रमै एनएस चिन्ह लिन ग्यास उद्योगहरुलाई बारम्बार सचेत गराएको थियो। तर संवदेनशील बस्तुमा अपनाइनु पर्ने सुरक्षा मापदण्डमा हेलचेक्रयाँई गरी अटेर गरेपछि विभागले चेतावनी दिएको छ।

तर ग्यास उद्योगीले भने सरकारले तोकेको मापदण्डका सम्पूर्ण नियम पालना गर्ने क्षमतामा नरहेको भन्दै आलटाल गरिरहेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.