प्रदर्शनको क्रममा भएको आगलागीबाट वैदेशिक रोजगार विभागमा आंशिक क्षति पुगेको छ।
विभागका महानिर्देशक कमलप्रसाद भट्टराईका अनुसार विभागको संवेदनशील संरचना भने आगलागीबाट जोगिएको छ।
'तीनवटा ब्लकमध्ये एउटामा क्षति पुगेको छ। श्रम स्वीकृति प्रदान गरिने संरचनामा क्षति पुगेको छैन', उनले भने।
विद्यमान विषम परिस्थितिका कारण मुलुकमा भएको निषेधाज्ञा तथा कर्फ्युका कारण विभागबाट प्रदान हुने श्रम स्वीकृति, अनुसन्धान तथा मुद्धाको व्यवस्थापन राहत उद्दार लगायत अत्यावश्यक सेवा प्रदान गर्न केहि कठिनाई भएको विभागले जनाएको छ।
यस्तै, विभागका अनुसार अनलाइन तथा फोनबाट प्रदान गर्न सकिने सेवाहरू घरबाटै उपलब्ध गराइरहेको छ।
श्रम स्वीकृति लगायत सेवाहरू विभागले निरन्तर प्रदान गरिरहेको उनले बताए।
अवस्था सामान्य नभएसम्म कर्मचारीहरूले घरबाटै सेवा प्रवाह गर्ने विभागले जनाएको छ।
विभागबाट अन्तिम श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जान सकिन्छ। नेपालबाट कामको खोजिमा दैनिक दुई हजार हाराहारि युवाहरू बाहिरिने गरेका छन्।
अहिलेको अवस्थालाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार साँझ ६ बजेसम्मका लागि बन्द गरिएको छ। जसले गर्दा उडानहरू समेत प्रभावित भएका छन्।