मदिरा उद्योगलाई आयकर छुट दिएको विषयमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ।
आयकर ऐनको व्यवस्था अनुसार धितोपत्र बजारमा सूचीकृत उत्पादनमूलक उद्योगलाई १५ प्रतिशत कर छुटको व्यवस्था गरिएको छ।
औद्योगिक व्यवसाय ऐनले भने फलफूलमा आधारित ब्राण्डी, साइडर र वाइनबाहेक सुर्तीजन्य र मदिराजन्य उद्योगले कुनै कर छुट वा सुविधा नपाउने व्यवस्था गरेको छ।
ठूला करदाता कार्यालयअन्तर्गतको एक करदाताले आर्थिक वर्ष २०७९/८० सहित चार आय वर्षमा ५ अर्ब १३ करोड १० लाख ७४ हजार रूपैयाँ करयोग्य आयमा २५.५ प्रतिशत दरले कर गणना गरेको देखाएको छ।
धितोपत्र बजारमा सूचीकृत भएको आधारमा उक्त करदाताले कर छुटको सुविधा पाउन नहुने देखिएको महालेखाको ठहर छ।
धितोपत्र बजारमा सूचीकृत भएको एउटा मात्रै मदिराजन्य उद्योग हिमालयन डिष्टिलरी रहेको छ।
महालेखाले ४.५ प्रतिशतको दरले प्रदान गरिएको २३ करोड ८ लाख ९८ हजार रूपैयाँको कर छुटको वैधानिकता माथि छानबिन गर्नुपर्ने भनेको छ।
यो रकम अनुचित रूपमा छुट दिइएको हुन सक्ने भन्दै महालेखाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।