नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई हस्पिटालिटीका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटकीय पूर्वाधार विकासका लागि सरकारले निजी क्षेत्रलाई नीतिगत सहजीकरण आवश्यक रहेको बताएका छन्।
नवलपुरको मौलाकालीमा इला होटलको उद्घाटन समारोहमा बोल्दै उनले पर्यटन क्षेत्रको विकासले मुलुकको आर्थिक समृद्धि र रोजगारी सिर्जनामा ठूलो योगदान पुग्ने बताए।
'नेपालमा विदेशी पर्यटकको औसत बसाइ १२ दिन र दैनिक खर्च ५० डलरभन्दा कम छ, जुन घट्दो छ,' ढकालले भने, 'पर्यटकको बसाई र खर्च बढाउन ठूला पूर्वाधार चाहिन्छ।'
उनले नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति र धार्मिक महत्त्वलाई विश्वसामु पुर्याउन पर्यटकीय संरचना निर्माण अपरिहार्य रहेको बताए।
आइएमई हस्पिटालिटीले हाल पाँचवटा होटल र रिसोर्ट सञ्चालनमा ल्याएको छ।
चन्द्रागिरि रिसोर्ट, होटल ले हिमालय, लेकसाइट रिट्रिट, बागलुङको इला होटल र नवलपुरको इला होटल यसमा छन्।
'सातवटै प्रदेशमा केबलकार सहितका होटल र रिसोर्ट बनाउने योजनामा छौँ,' उनले भने।
तीनवटा प्रदेशमा केबलकार सञ्चालनमा छन् भने लुम्बिनी, सुदूरपश्चिम र ताप्लेजुङमा निर्माण कार्य भइरहेको उनले जानकारी दिए।
सरकारले नीतिगत सुधार र सहुलियत दिएमा निजी क्षेत्रले ठूलो लगानी गर्न सक्ने ढकालले बताए।
चितवन, तनहुँ र नवलपुरको संगमस्थललाई धार्मिक र पर्यटकीय गन्तव्य बनाउने लक्ष्य रहेको उनले बताए।
'मौलाकालिका मन्दिर र देवघाटको महत्त्व विश्वसामु पुर्याउन यो होटल र केबलकारले सघाउँनेछ,' ढकालले भने।
पर्यटन पूर्वाधारले रोजगारी, राजस्व र विदेशी मुद्रा आर्जन बढाउनुका साथै गरिबी निवारणमा योगदान पुग्ने ढकालले बताए।
'सरकारले सानो नीतिगत व्यवस्थाले बिना लगानी ठूलो प्रतिफल पाउन सक्छ,' उनले भने।
ढकालले यो संरचनालाई नवलपुरको गहना र स्थानीय जनताको साझा सम्पत्तिका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरे।
'हरेक डाँडामा पर्यटनको सम्भावना छ र त्यसलाई उपयोग गर्न पूर्वाधार बनाउनुपर्छ,' उनले भने।