सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत विकास निर्माणमा देखिएका कमजोरी सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति परिवर्तन गर्ने घोषणा गरेको छ।
सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
विगतमा घोषणा गरिएका भौतिक पूर्वाधारका सबै परियोजनालाई पुनःप्राथमिकीकरण गरिने छ।
परियोजनालाई वर्गीकरण गरी आर्थिक वर्ष २०८२/८३ भित्र र यो संसदको अवधिमा सम्पन्न हुने समय तालिका निर्धारण गरिने छ।
निर्माणाधीन र निर्माण गर्नुपर्ने सबै परियोजनाको स्रोत आकलन गरी सम्पन्न हुन नसक्ने सम्भावना भएका परियोजनालाई स्थगन गरिने छ।
यसले स्रोतको प्रभावकारी व्यवस्थापन र परियोजना कार्यान्वयनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।