नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले वैदेशिक रोजगारीमा रहेका नेपाली र गैरआवासीय नेपालीलाई आफ्नो आम्दानीको केही हिस्सा नेपालमा लगानी गर्न आग्रह गरेका छन्।
नेपाली जनसम्पर्क समिति युएईले नयाँ वर्ष २०८२ को अवसरमा आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले नेपालमा लगानीको ठूलो सम्भावना रहेको बताएका हुन्।
विदेशबाट नेपाललाई नकारात्मक रूपमा मात्र हेर्ने प्रवृत्ति गलत भएको उनले बताए।
'विदेशमा जस्तै लगानी र मिहिनेत नेपालमै गर्न सकियो भने राम्रो सम्भावना छ,' ढकालले भने।
नेपाल सरकारले पछिल्लो समय दुई दर्जनभन्दा बढी कानुन सुधार गरेर लगानीमैत्री वातावरण बनाउन खोजेको र निजी क्षेत्रको पहलमा यो सम्भव भएको जानकारी उनले दिएका छन्।
उनले भने, 'यदि वैदेशिक रोजगारीमा रहेका नेपाली वा एनआरएनले आम्दानीको केही अंश नेपालमा लगानी गरे भने उत्पादन, रोजगारी र राजस्व वृद्धि तीव्र हुन्छ।'
ढकालले हालै नेपालमा १० अर्ब रूपैयाँ पुँजीको 'नेपाल डेभलपमेन्ट कम्पनी' स्थापना गरिएको जानकारी पनि दिए।
यो कम्पनीले देशभित्र र बाहिर रहेका नेपालीहरूको पुँजी संकलन गरी जलविद्युत, पर्यटन र उद्योगलगायत क्षेत्रमा लगानी गर्नेछ।
उनले विदेशी लगानीबिनै विकास सम्भव छ भन्ने सन्देश दिन पनि यो कम्पनीको स्थापना गरिएको बताए।
'१० अर्ब इक्विटी मानेर ७५–८० प्रतिशत ऋण जुटाउन सकिन्छ। यसरी ४० अर्बभन्दा बढी लगानी सम्भव हुन्छ,' उनले उल्लेख गरे।
आफ्नो अनुभव सुनाउँदै ढकालले बागलुङदेखि सुरु गरेको यात्रामा २५ हजारभन्दा बढीलाई रोजगारी दिन सफल भएको बताए।
'मेहनत, इमानदारी र लगनशीलता भयो भने नेपालमै पनि सफलता सम्भव छ,' उनले भने।