नेपाल भारत भन्सार महानिर्देशकस्तरीय बैठक काठमाडौंमा सुरु भएको छ। भन्सार विभागका महानिर्देशक महेश भट्टराईका अनुसार आज र भोलि दुई दिन बैठक चल्नेछ।
बैठकमा नेपाल भारत दुई देशीय व्यापार सहजीकरण तथा व्यवस्थापनका विषयमा छलफल हुने बताइएको छ। विशेष गरी भन्सारमा हुने चोरी पैठारी तथा गैरभन्सार अवरोधको समीक्षा र आगामी योजनाका विषयमा छलफल गर्ने एजेण्डा रहेको छ।
त्यस्तै भन्सार क्षेत्रमा क्वारेन्टाइन सुविधा विस्तार गर्ने विषय पनि बैठक एजेण्डामा रहेको छ।
तेस्रो मुलुकबाट भारतीय भूमि हुँदै नेपालमा हुने आयात तथा नेपालबाट भारतीय भूमि हुँदै तेस्रो मुलुकमा हुने निर्यातका सवालमा पनि बैठकमा छलफल हुने बताइएको छ।
विशेषगरी यस्ता सामान ढुवानी गर्ने गाडीको ट्र्याकिङ गर्ने योजना रहेको छ।
ढुवानीका लागि भारतमा रहेका नेपाली गाडीको अवस्था बुझ्नका लागि नेपाललाई सहज हुनुका साथै गाडीहरू नेपाल प्रवेश गरे वा गरेनन् भन्ने विषय भारतलाई जानकारी हुने भएकोले यो व्यवस्था गर्न खोजिएको हो।