नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले नेपाल–भारत व्यापार सम्बन्धलाई सुदृढ गर्दै क्षेत्रीय व्यापार विस्तारमा ध्यान दिनुपर्ने बताएकी छन्।
भारत सरकारको विदेश मन्त्रालय र भारतीय उद्योग परिसंघ (सिआइआई)ले आयोजना गरेको 'व्यावसायिक संवादः औद्योगिक दृष्टिकोण' अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल प्रतिनिधि मण्डलको नेतृत्व गर्दै राणाले नेपालको व्यापार सुधारका सम्भावनाबारे आफ्नो धारणा राखेकी हुन्।
'नेपालले भारतजस्ता ठूला छिमेकी मुलुकहरूसँगको व्यापार सहकार्यलाई अझ बलियो बनाएर क्षेत्रीय समृद्धि हासिल गर्न सक्छ। खासगरी, पूर्वी भारतका राज्यहरूसँग व्यापार र लगानीका नयाँ अवसर खोज्न जरुरी छ,' राणाले भनिन्।
राणाले नेपाल र भारतबीचको खुला सिमाना र सांस्कृतिक सम्बन्धलाई आर्थिक अवसरका रूपमा उपयोग गर्नुपर्ने बताइन्।
सहकार्य र क्षेत्रीय साझेदारीका माध्यमबाट मात्र दुवै देशको व्यापार र आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सकिने उनको भनाइ छ। व्यापार सहज बनाउन भन्सार प्रणालीलाई थप प्रभावकारी बनाउनु पर्ने उनले बताइन्।
दक्षिण एसिया क्षेत्रीय व्यापारमा विश्वकै सबैभन्दा कम एकीकृत व्यापार भएको भन्दै यसलाई बढाउनु पर्ने बताइन्।
उनका अनुसार यो क्षेत्रले आफ्नो कुल व्यापारको ५ प्रतिशतभन्दा कम व्यापार रहेको छ। त्यस्तै क्षेत्रीय छिमेकी, आसियानको आपसी व्यापारको आकार ३५ प्रतिशतभन्दा बढी छ भने युरोपेली संघको करिब ६० प्रतिशत छ।
भौगोलिक र सांस्कृतिक विशेषताले नेपाल र भारतबीचको सम्बन्धलाई आर्थिक सहयोगमा रूपान्तरण गर्न सकिने राणाले बताइन्।
'लुम्बिनी र बोधगयालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गर्दा व्यापार र रोजगारीमा वृद्धि गर्न सकिन्छ। साथै, जलविद्युत निर्यातबाट दुवै देशलाई फाइदा पुग्छ,' उनले भनिन्।
राणाले नेपाल र भारतबीच व्यापार, पर्यटन, र ऊर्जा क्षेत्रमा भएका सम्भावनाहरूलाई उपयोग गर्न सरकार र निजी क्षेत्र एकसाथ लाग्नुपर्ने बताइन्।