उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले कानून संशोधन गरेर भए पनि सरकारले लगानीको वातावरण बनाउने बताएका छन्।
मुलुकको आर्थिक अवस्था पहिलेको भन्दा सुध्रिँदै गएको जनाउँदै पौडेलले व्यवसायीहरूलाई निराश नहुन आग्रह गरे।
लुम्बिनी राष्ट्रिय महोत्सवको भैरहवामा उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न अग्रसर रहेको भन्दै उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गरे।
उनले यही सरकारले अर्थतन्त्रका सम्पूर्ण समस्या समाधान गरी मुलुकलाई चलायमान बनाउने दाबी गरे।
‘सरकारले जसरी हुन्छ निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न लागेको छ,’ उनले भने, ‘उद्योगी व्यापारीका समस्या छन्, मजदुरका समस्या छन्, किशोर किशोरीको समस्या छन् ती अब समाधान हुन्छन् भन्ने आम नागरिकमा विश्वास हुँदै गएको छ।’
वर्तमान सरकार बन्ने बेला मुलुकको अवस्था ठीक नभएको तर सरकार बनेपछि हरेक कुरा समाधान हुँदै लयमा गइरहेको उनले दाबी गरे।
अर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रकै गौरव भएकोले यसको सञ्चालनमा शंका नगर्न आग्रह गरे।
विमानस्थल सञ्चालनका लागि सरकारले गरेका निर्णयहरू क्रमशः कार्यान्वयन हुँदै गएको उल्लेख गर्दै पौडेलले निजी क्षेत्रले पनि आफ्नो तर्फबाट कामहरू गर्नुपर्ने बताए।
उनले विमानस्थल राम्रोसँग चल्ने दाबी समेत गरे।
‘विमानस्थल राम्रोसँग चल्छ, कसरी चल्छ, हामी चलाएर देखाउँछौं,’ पौडेलले भने।
हालको टर्मिनल भवन निर्माण भए पनि त्यो अपुग रहेको बताउँदै अर्को भवन निर्माण गर्न तयारी भइरहेको उनले बताए।
‘विमानस्थलमा अरू काम पनि बाँकी छ। पूर्ण क्षमताको विमानस्थल बनाउन आवश्यक पूर्वाधार निर्माण गर्नेछौं,’ उनले भने, ‘एकाध समस्या आए पनि त्यसलाई समाधान गर्दै अगाडि बढ्दैछौं।’
अर्थमन्त्री पौडेलले भैरहवालाई अझै पूर्वाधारयुक्त र पर्यटकलाई आकर्षित गर्नुपर्ने बनाउने बताए।
अर्थमन्त्री पौडेलले निर्माणाधिन आयोजना देखाउँदै जनतामा निराशा छर्ने काम भइरहेको गुनासो गरे।
बुटवल–नारायणघाट सडकमा केही समस्या देखिए पनि त्यसको समाधानको लागि सरकारले पहल गरिरहेको उनले बताए।
पौडेलले भैरहवालाई अझै पूर्वाधारयुक्त विकसित सहर बनाउनका लागि सरकारले लगानी गर्दै जाने बताए।