लक्ष्मी ग्रेनाइट उद्योगले उत्पादन गरेको ग्रेनाइट र पशुपति सेरामिक्सले उत्पादन गरेको टायल नेपाली बजारमा पाइन थालेको छ।
देशको दोस्रो विशेष आर्थिक क्षेत्र (सिमरा सेज) मा रहेका उद्योगका उत्पादन अहिले बजारमा भेटिन्छ।
यी उद्योग विशेषत: अन्तर्राष्ट्रिय बजारलाई केन्द्रित गरेर खुलेका हुन्।
सरकारले दिएको सुविधाको आधारमा उनीहरूले पहिलो चरणमा नेपाली बजारमा सामान पठाएका छन्।
सरकारले विशेष आर्थिक क्षेत्र ऐन २०७३ को संशोधन गरी पहिलो तीन वर्ष उत्पादनको कम्तीमा १५ प्रतिशत, ६ वर्षभित्र उत्पादनको ३० प्रतिशत निर्यात गरे हुने व्यवस्था गरेको छ। यसअघि ६० प्रतिशत निर्यात भएकै हुनु पर्ने व्यवस्था थियो।
सिमरा सेजभित्रका सात वटा उद्योग उत्पादन सुरू गर्नुपूर्व औद्योगिक पूर्वाधार निर्माणमा लागेका छन्। यी उद्योग अधिकांश भारतीय र चिनियाँ लगानीका छन्। पाँच वटा थप उद्योगले सञ्चालन गर्नको लागि सेजबाट अनुमति लिएका छन्।
सिमरा सेजका सहायक निर्देशक पप्पु गिरीका अनुसार थप दुई वटा उद्योग अहिले वातावरणीय प्रभाव मूल्यांकनका क्रममा रहेका छन्। सिमरा सेजले हालै २३ वटा प्लटको लागि आवेदन खुला गरेकोमा ६३ वटा प्लटको लागि आवेदन आएको छ। यसमध्ये प्राथमिकताको क्रममा २३ वटा प्लटको लागि छनोट गरिने गिरीले बताए।
सिमरा सेजले प्लट ६ हजार ५०० स्क्वायर फिटदेखि सात हजार स्क्वायर फिटसम्मका क्षेत्रको विकास गरेको छ।
व्यवसायी गुड्डु श्रीवास्तवको लगानी रहेको लक्ष्मी ग्रेनाइट इन्डष्ट्रिजले अहिलेसम्म ६ करोड रूपैयाँ बढीको ग्रेनाइट बजारमा पठाएको छ। विशेषगरी काठमाडौंमा यसको माग बढी भएको श्रीवास्तवले बताए। यो उद्योगले मासिक दुई लाख स्क्वायर फिट ग्रेनाइट उत्पादन गर्ने क्षमता राख्छ। तर अहिले एक सिफ्टमा मात्रै उत्पादन गरेको छ।
लक्ष्मी ग्रेनाइटले भारतको राजस्तानबाट ठूलो ढुंगा आयात गर्छ। सिमरा सेजमा रहेको उद्योगमा मेसिन, बिजुली, श्रम तथा पानीको सहायताबाट ग्रेनाइट बनाइन्छ। अहिलेसम्म यस्तो ढुंगामा पूर्णतः भारतको भर पर्नु परेको उनले बताए। एउटै ढुंगाको तौल १६ टनदेखि ५० टनसम्मको हुने उनको भनाइ छ।
गत चैतबाट उत्पादन सुरू गरेको पशुपति सेरामिक्स प्रालीको टायल पनि बजारमा बिक्री वितरण सुरू भएको छ।
यो उद्योगले सात करोड बढीको टायल बिक्री गरिसकेको जनाएको छ। टायल क्षेत्रमा काम गरिरहेका भारतीय लगानीकर्ताहरूको साझेदारीका उद्योगी तुलसी रौनियारले सिमरा सेजमा टायल उत्पादन सुरू गरेका हुन्। भारतीय बजारलाई नै केन्द्रित गरेर डेढ अर्ब रूपैयाँको लगानीमा यो उद्योग सञ्चालनमा ल्याइएको छ।
सञ्चालनमा आएका दुई वटा उद्योग नै निर्माण सामग्री केन्द्रित उद्योग हुन्।
पछिल्लो दुई वर्षदेखि निर्माण क्षेत्रको बजार सुस्त रहेको कारण त्यसको असर उद्योगमा परेको उनीहरूको गुनासो छ।
यस बाहेक टायल उत्पादन गर्नको लागि नेपोभिट सेरामिक्स प्रालीले धमाधम उद्योग पूर्वाधार निर्माणको काममा लागेको छ। उद्योग सञ्चालन गर्नको लागि सबभन्दा बढी जग्गा नपोभिटले लिएको सिमरा सेजले जानकारी गराएको छ।
उसले ८ वटा प्लटको लिएर अहिले पूर्वाधार निर्माणको काम गरेको छ। २०७९ वैशाखदेखि जितपुर सिमरा ८ मा नेपोभिट ब्रान्डका टायल उत्पादन सुरू गरिएको थियो।
बालाजी म्यानुफ्याक्चरिङ प्रालीले इलेक्ट्रोनिक्स सामग्रीहरू उत्पादन गर्ने गरी, श्री माँ तारा एक्सपोर्टस् इम्पाेर्टस् प्रालिले मसला उत्पादन गर्ने गरी, केम्याक्स हिमालय प्रालिले कस्मेटिक सामग्री उत्पादन गर्ने गरी, आरएस इन्ड्रष्टिजले औद्योगिक केमिकल तथा मेटल उत्पादन गर्ने गरी औद्योगिक पूर्वाधार निर्माणको काममा लागेको छ।
चीनका तीन वटा कम्पनीहरू इलेकट्रोनिक गाडी, लिलोन ब्याट्री तथा लिड एसिड ब्याट्री उत्पादन गर्ने गरी, दुई पांग्रे तथा तीन पांग्रे विद्युतीय सवारी साधन उत्पादन गर्ने गरी र विद्युतीय उपकरणहरू उत्पादन गर्ने गरी औद्योगिक पूर्वाधार निर्माणको काममा लागेको सेजले जनाएको छ।
लुगा उत्पादन गर्ने, प्रिमिक्स उत्पादन गर्ने, कृषि प्रशोधन गर्ने, टायर प्रोसेसिङ गर्ने र मेडिकल उपकरण उत्पादन गर्ने गरी पाँच वटा कम्पनीले प्लटहरू लिएका छन्।
एकै ठाउँमा बैंक, बीमा, वित्त तथा अन्य सरकारी सेवा दिने गरीका सर्भिस भवन, बिजुली, पानी, ढलको व्यवस्थापन साथै नयाँ उद्योग सञ्चालन गर्न जग्गाको उपलब्धतामा समस्या भइरहेको समयमा यी सबै व्यवस्थापनसहित सिमरा सेजले उद्योगी लोभ्याएको छ।
ठूलो र व्यवस्थित प्रशासनिक भवनका साथै उल्लेखित सबै सुविधा दिने गरी सर्भिस भवनहरू निर्माण गरिएको छ। सिमरा सेजमा आठ सय ३३ बिगाहा क्षेत्रफल रहेकोमा पहिलो चरणमा 'ब्लक ए' लाई केन्द्रित गरेर संरचना निर्माण गरिएको थियो।
जहाँ प्रशासनिक भवन, दूषित पानी प्रशोधन केन्द्र, आन्तरिक सडक पूर्वाधार, ढल, भन्सार, खानेपानी, बैंक, बीमा, पेट्रोल पम्प, धर्मकाँटा लगायतको संरचना तयार गरिएको छ।
विशेषगरी नयाँ उद्योग सञ्चालनमा ठूलो समस्याको रूपमा रहेको जग्गा प्राप्ति भएकोमा उद्योगीहरूले सस्तो भाडामा सेजभित्र जग्गा पाएका छन्। प्रति स्क्वायरफिट २० रूपैयाँ भाडा दर तोकिए पनि पहिलो तीन वर्षका लागि छुट दिइएको छ। पहिलो वर्ष १० रूपैयाँ, दोस्रो वर्ष १२, तेस्रो वर्ष १५, चौथो वर्षदेखि २० रूपैयाँको दरले भाडा तोकिएको छ।
सेजमा रहेका उद्योगले आवश्यक मेसिनरी, कच्चा पदार्थ तथा प्याकेजिङ सामग्री आयात गर्दा भन्सार शुल्क लाग्ने छैन।
उद्योगले दिने लाभांशमा पनि पाँच वर्षसम्म छुट सुविधा छ। त्यसपछि भने तीन वर्षसम्म लाभांशमा लाग्ने करको ५० प्रतिशत छुट पाउने छन्।
देशको दोस्रो विशेष आर्थिक क्षेत्र सिमरा सेजभित्र रहेका दुई वटा उद्योगले आफ्ना उत्पादनहरू बजार प्रवेश गराएका छन्। केही उद्योगहरू उत्पादनको पर्खाइमा छन्।
नयाँ उद्योग सञ्चालन गर्न अहिले कतै पूर्वाधार निर्माणको काम चलेको छ भने कतै नयाँ प्लट लिन उद्योगीहरूले प्रस्ताव लिएका छन्।