चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ। सरकारले चालु आवमा तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख रूपैयाँ बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखेको थियो। हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने सरकारको लक्ष्य थियो। तर, अवस्था भने त्यस्तो छैन।
सरकारको दैनिक हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार असार १५ गते बुधबारसम्म विकास निर्माणको काममा कुल विनियोजित बजेटमध्ये ४० प्रतिशत मात्रै खर्च भएको पाइएको छ। कार्यालयका अनुसार कुल रु एक खर्ब ५१ अर्ब नौ करोड चार लाख मात्रै खर्च भएको छ। यो लक्ष्यको ३९.९६ प्रतिशत बराबर हो।
सरकारको कुल खर्च भने ६७.९४ प्रतिशत बराबर भएको छ। कुल रु १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख बराबर खर्च गर्ने लक्ष्य राखिएकामा हालसम्म रु ११ खर्ब नौ अर्ब ३७ करोड ३२ लाख बराबर खर्च भएको छ। कुल विनियोजनको ६७.९४ प्रतिशत हो।
सरकारको खर्चमध्ये सबैभन्दा बढी खर्च चालुमा देखिएको छ। रु १० खर्ब ६५ अर्ब २९ करोढ ३९ लाख बराबरको चालु खर्च गर्ने लक्ष्य राखेको सरकारले हालसम्म रु आठ खर्ब ६६ अर्ब ९० करोड ६० लाख अर्थात् ८१.३८ प्रतिशत खर्च गरेको छ।
त्यस्तै, वित्तीय व्यवस्थातर्फ कुल रु एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख बराबरको खर्च गर्ने लक्ष्य राखेकामा हालसम्म रु ९१ अर्ब ३७ करोड ६८ लाख अर्थात् ४८.२४ प्रतिशत खर्च भएको छ। सरकारले नियमित रुपमा गर्नुपर्ने ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि यस खालको व्यवस्था गरेको हुन्छ। सरकारको पनि नियमित दायित्व हुन्छ, त्यसलाई भुक्तानीका लागि हरेक वर्ष बजेटमा नै वित्तीय व्यवस्था शीर्षकमा रकम विनियोजन गर्ने गरिएको हुन्छ। यो त भयो खर्चको कुरा।
अब सरकारको आम्दानी पनि हेरौं। कार्यालयका अनुसार असार १५ गतेसम्म कुल रु नौ खर्ब ७० अर्ब ४५ करोड ६९ लाख बराबर राजस्व संकलन गरेको छ। यो कुल लक्ष्यको ८२.२ प्रतिशत हो। सरकारले रु ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबर राजस्व संकलन गर्ने लक्ष्य चालु आवका लागि राखेको थियो।
त्यसमा कर राजस्वतर्फ रु आठ खर्ब ९९ अर्ब १५ करोड ५७ लाख संकलन भएको छ। यो कुल लक्ष्यको ८४.१९ प्रतिशत हो। चालु आवका कर राजस्वतर्फ रु १० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख लक्ष्य राखेको थियो। यस्तै, अनुदानतर्फ रु ५९ अर्ब ९१ करोड ९९ लाख प्राप्त गर्ने लक्ष्य राखेकामा हालसम्म रु १३ अर्ब ८८ करोड ३३ लाख अर्थात् २३.१७ प्रतिशत प्राप्त गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेट प्रस्तुत गर्दा चालु आवमा कुल सरकारी खर्च रु १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात ८८.६ प्रतिशत हुने संशोधित अनुमान प्रस्तुत गर्नुभएको थियो। कुल सरकारी खर्चमध्ये चालु खर्च रु नौ ९ खर्ब ७१ अर्ब ८६ करोड अर्थात् ९१.२ प्रतिशत, पुँजीगत खर्च रु तीन खर्ब ९ करोड अर्थात् ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ७५ अर्ब ५६ करोड अर्थात ९२.७ प्रतिशत खर्च हुने संशोधित अनुमान अर्थमन्त्रीको थियो।
कोभिड-१९ महामारीको विषम परिस्थितिका बीच हालसम्मको राजस्व संकलनको अवस्था सन्तोषजनक रहेको छ। चालु आर्थिक वर्षमा राजस्व परिचालन लक्ष्यको हाराहारीमा नै रही रु ११ खर्ब ५२ अर्ब ४२ करोड संकलन हुने अनुमान गरिएको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढी हो।
चालु आर्थिक वर्ष वैदेशिक सहायतातर्फ अनुदान रु २४ अर्ब ८१ करोड र ऋण रु एक खर्ब ७२ अर्ब ८८ करोड परिचालन हुने संशोधित अनुमान छ। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म रु एक खर्ब ३५ अर्ब आन्तरिक ऋण उठाइसकिएको छ। चालु आर्थिक वर्षमा रु दुई खर्ब ३१ अर्ब ३० करोड आन्तरिक ऋण परिचालन हुने अवस्था रहेको अर्थमन्त्रीको भनाइ छ।
रासस