दसैं सकिएसँगै इँटा, गिटी, बालुवा, डन्डी र सिमेन्टलगायत केही निर्माण सामग्रीको मूल्य हेरेफेर भएको छ।
यीमध्ये डन्डीको मूल्य सबभन्दा धेरै वृद्धि भएको छ भने सिमेन्टको भाउ पनि केही बढेको देखिन्छ।
इँटा, गिटी र बालुवामा भने थोरै मात्र हेरफेर भएको छ।
हेरौं कुन निर्माण सामग्रीको मूल्य कति पुग्यो-
इँटाः
गत महिना तराईको एक नम्बर इँटा प्रतिगोटा १७ रूपैयाँ थियो। धादिङको लोकल इँटा र काठमाडौंको इँटा साढे १५ रूपैयाँमा उपभोक्ताले पाइरहेका थिए।
त्यसैगरी भक्तपुरको इँटा १६ रूपैयाँ थियो।
अहिले तराईको इँटामा प्रतिगोटा ५० पैसा बढेको छ भने धादिङकोमा ५० पैसादेखि एक रूपैयाँसम्म कम भएको छ। भक्तपुरको भने हेरफेर भएको छैन।
गोल्डेन निर्माण सप्लायर्स, बल्खुका सञ्चालक ऋषि खतिवडाका अनुसार अहिले तराईको एक नम्बर इँटा साढे १७ रूपैयाँ प्रतिगोटा छ। त्यसैगरी धादिङको लोकल इँटा साढे १४ देखि १५ रूपैयाँ छ भने भक्तपुरको अघिल्लो महिनाकै मूल्य (१६ रूपैयाँ) छ।
यो पनि पढ्नुहोस्ः कोठामा वालपेपर राख्न कति खर्च लाग्छ? के छ फाइदा?
गिटी-बालुवाः
खतिवडाका अनुसार गिटीको भाउमा पनि हेरफेर भएको छैन। धादिङको कालो गिटी गत महिनाकै भाउ, प्रतिटिपर २८ हजार रूपैयाँमा पाइन्छ। त्यस्तै मेलम्चीको सेतो गिटी पनि अघिल्लो महिनाकै मूल्य, १९ हजार प्रतिटिपरमा उपभोक्ताले पाइरहेका छन्।
बालुवामा भने मूल्य थोरै हेरफेर भएको छ।
असोज महिनामा धादिङको डबल वास बालुवा प्रतिटिपर साढे २७ हजार थियो। अहिले पाँच सय रूपैयाँ कम भएर २७ हजारमा पाइन्छ।
त्यस्तै असोजमा २४ हजार रूपैयाँ प्रतिटिपरमा पाइएको खोलाको बालुवा, मेलम्चीको क्रसर बालुवा र प्लाष्टर गर्ने बालुवाको मूल्य यो महिना पनि उस्तै छ। अहिले मूल्यमा घटबढ नभए पनि विस्तारै बालुवा, गिटी र इँटाको मूल्य अझै एक हजार जति सस्तो पर्नसक्ने खतिवडाले जानकारी दिए।
उनका अनुसार हिउँदमा सबै खानीतिर गाडी जानसक्छ। पहिला धादिङको राम्रो रोडाका लागि खोलै खोला जानुपर्थ्यो। बर्खामा गाह्रो हुन्थ्यो, अहिले ती ठाउँबाट पनि सजिलै गिटी आउन थालिसकेको छ। त्यस्तै हिउँदमा निर्माण सामग्रीको माग धेरै भएकाले उत्पादन उच्च नै हुन्छ। उत्पादनले बजार पाइरहने हुँदा मूल्यमा असर नपरिहाल्ने उनी बताउँछन्।
'अहिले पेट्रोलियम पदार्थको मूल्य धेरै बढेको छ। यस अनुपातमा निर्माण सामग्रीको मूल्य भयंकर बढ्नुपर्ने हो। तर प्रतिस्पर्धा धेरै भएकाले बढेको छैन। फेरि गाडी चलाउनु त पर्यो। त्यसैले घाटा खाएर भए पनि ओसारपसार र आपूर्ति गर्नैपर्ने बाध्यता छ,' उनले भने।
यो पनि हेर्नुहोस्ः थोरै जग्गामा, कम खर्चमा बनाउन सकिने ४ प्रकारका घर (भिडिओ)
सिमेन्टः
दसैंलगत्तै उद्योगीले सिमेन्टको भाउ पनि बढाएका छन्।
हाल कोइलाको मूल्य आकासिएका कारण सिमेन्टको भाउ बढेको उद्योगीहरू बताउँछन्। उनीहरूका अनुसार सिमेन्टका लागि क्लिंकर बनाउनुपर्छ। यसका लागि कोइला अत्यन्तै आवश्यक कच्चा पदार्थ हो। हाल कोइलाको मूल्य छ गुणासम्म बढेको अर्घाखाँची सिमेन्टका बजार प्रमुख रमेश थापा बताउँछन्।
'कोइलाको आपूर्ति कम भएको छ, अभाव छ। यसकारण कोइलाको लागत बढ्यो र सिमेन्टको भाउमा असर पर्यो,' थापाले प्रस्ट्याए, 'सिमेन्टको मूल्य अझै बढाउने कुरा छ।'
दसैंअघि अर्घाखाँचीले ओपिसी (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट/छिटो सुक्ने) को भाउ अघिल्लो वर्षको यही समयमाभन्दा बोरामा एक सय रूपैयाँ घटाएर कारोबार गरिरहेको जानकारी दिएको थियो। त्यो बेला अर्घाखाँची ओपिसीको कारखाना मूल्य प्रतिबोरा ६ सय २० रूपैयाँ थियो।
भ्याट, ढुवानी खर्च लगायत जोडेर वितरकसम्म पुग्दा ७ सय ६६ रूपैयाँ २५ पैसा हुन्थ्यो। यसमा वितरकले दसदेखि बीस रूपैयाँसम्म नाफा राखेर बिक्री गर्छन्। त्यसैले उपभोक्ताले सात सय ७० देखि सात सय ९० रूपैयाँसम्ममा सिमेन्ट पाइरहेका थिए।
अहिले उद्योगले बोरामा २० रूपैयाँ बढाएको छ। हाल अर्घाखाँची ओपिसीको कारखाना मूल्य नै प्रतिबोरा ६ सय ४० रूपैयाँ पुगेको थापाले जानकारी दिए। उपभोक्तासम्म आइपुग्दा सात सय ९० देखि आठ सय २० रूपैयाँसम्म पर्छ।
यसैगरी शिवम् सिमेन्टको मूल्य पनि गत महिनाको तुलनामा ३० देखि ३५ रूपैयाँ बढेको देखिन्छ। गत असोजमा शिवम् सिमेन्टको उपभोक्ता मूल्य सात सय ६५ देखि सात सय ८० रूपैयाँ थियो। हाल बढेर सात सय ९५ देखि आठ सय १५ रूपैयाँ प्रतिबोरा पुगेको कम्पनीले जानकारी दिएको छ।
डन्डीः
व्यवसायीहरूका अनुसार दसैंअघिको तुलनामा डन्डीमा किलोको १२ देखि १५ रूपैयाँ बढेको छ। पसल र कम्पनीअनुसार भाउ अलिकति फरक पर्छ।
अम्बे, जगदम्बा र पञ्चकन्या स्टिलका आधिकारिक विक्रेता विकास श्रेष्ठका अनुसार सबैजसो छडको मूल्य अहिले बढेको छ।
हाल अम्बे किलोको एक सय ५ रूपैयाँ छ। त्यसैगरी जगदम्बा उपभोक्ताले एक सय ८ रूपैयाँमा पाउँछन्। पञ्चकन्या पनि दसैंअघिभन्दा ५ रूपैयाँ बढेर एक सय १७ रूपैयाँ पुगेको छ।