२०७२ सालको भुइँचालोपछि फलामे छड निर्माण कम्पनी र उपभोक्ता संख्या बढेको छ। प्रतिस्पर्धी बजारमा सबै कम्पनीले आफू अब्बल रहेको दावी गरिरहेका हुन्छन्। धेरै उपभोक्तालाई भने घरमा कस्तो छड प्रयोग गर्ने भन्ने अलमल भइरहेको हुन्छ।
आवासीय घर बनाउँदा छडको सही छनोट कसरी गर्ने त?
यसबारे हामीले बिल्ड इनोभेसनका निर्देशक तथा बिल्डिङ विशेषज्ञ इञ्जिनियर सुवास अधिकारीसँग जानकारी लिएका छौं। उनका अनुसार छड किन्ने बेलामा ध्यान दिनुपर्ने मुख्य कुरा ग्रेड र गुणस्तर हो।
साधारणतया छडको ग्रेड जति बढी भयो, त्यति नै बलियो मानिन्छ। आवासीय घर निर्माणमा एफइ ५०० र एफइ ४१५ ग्रेडका छड धेरै प्रयोग हुन्छ।
छडको ग्रेड, भारवहन क्षमताका साथै लचकताबारे उत्तिकै सचेत हुनुपर्छ।
'ग्रेडले छडको बलियोपन बुझाउँछ। उच्च ग्रेडका छड भए थोरै परिमाणले काम चल्छ र बलियो पनि हुन्छ,' अधिकारीले भने, 'लचकता बढी भएको छडले घर भूकम्प प्रतिरोधी बनाउन सहयोग गर्छ।'
ध्यान दिनुपर्ने अर्को कुरा छडको गुणस्तर हो।
निर्माण कम्पनीले बजारमा पठाएको छडको प्रयोगशाला परीक्षण गरेको हुनुपर्छ। उपभोक्ताले माग गरेको अवस्थामा कम्पनी वा आधिकारिक डिलरले उक्त रिपोर्ट देखाउनुपर्छ।
त्यस्तै नापतौल तथा गुणस्तर विभागले छडको गुणस्तर मापन गरेर एनएस चिह्न प्रदान गरेको हुन्छ। छडमा तोकिएको मापदण्ड पूरा नभए उत्पादन निषेध गरिने नियम भएको अधिकारीले जानकारी दिए।
'छड धेरै किन्दा होस् वा थोरै, प्रयोगशालाको पछिल्लो रिपोर्ट र गुणस्तर चिह्न हेर्न बिर्सिनु हुँदैन,' उनले भने, 'कम्पनी वा आधिकारिक विक्रेताले रिपोर्ट दिन मानेनन् भने आफैंले पनि गुणस्तर जाँच गराउन सक्छौं।'
घर डिजाइन गर्ने कम्पनीहरूले प्रयोगशाला परीक्षण गर्ने र सरकारी तहमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा छडको गुणस्तर जाँच हुने उनले जानकारी दिए।
बेलाबेलामा कम गुणस्तरका छड भेटिएको र यस्ता उत्पादकलाई गुणस्तर विभागले कारबाही गरेको खबर पनि सुनिन्छन्। त्यसैले सानो होस् वा ठूलो निर्माणका लागि, नबिर्सिकन त्यो छड गुणस्तर चिह्न प्राप्त हो कि होइन यकिन गर्नुपर्छ। निर्माण सुरू गर्नुअघि नै प्रयोग गरिने छडबारे राम्ररी बुझ्नुपर्छ।
'कहिलेकाहीँ नाम चलेका कम्पनीबाटै गडबढी भएको हुन्छ। यो कुरामा ध्यान दिनुपर्छ,' उनले भने, 'कवाडी फलाम पगालेर बनाएको डन्डी पर्यो भने निर्माण कमजोर हुन्छ। कम गुणस्तरका डन्डी कम मूल्यमा पाइने पनि हुन्छ। सस्तोमा पाइयो भन्दैमा किन्नु जोखिमपूर्ण हुन्छ।'
सामान्यतया हामीले एकपटक घर बनाउँछौं। यसमा वेवास्ता गरे जोखिम र हैरानी दुवै बेहोर्नुपर्ने हुनसक्छ। यदि आफूलाई छडबारे जानकारी छैन भने घर निर्माण जिम्मा दिइएको इञ्जिनियरसँग सोधपुछ गरी बुझ्न पनि उनी सुझाउँछन्।
अहिले बजारमा 'थर्मो मेकानिकल ट्रिटमेन्ट' प्रक्रियाद्वारा उत्पादित छड चल्तीमा छ। यसलाई सामान्य भाषामा टिएमटी छड भनिन्छ। व्यापारिक तथा आवासीय भवनमा टिएमटी छड नै प्रयोग भइरहेको अधिकारीले जानकारी दिए।
यस्तो छड ८, १०, १२, २० मिमि लगायत आकारमा उपलब्ध हुन्छ। घर बनाउने जमिन र संरचनाका आधारमा इञ्जिनियरले सुझाएअनुसार विभिन्न आकारका छड प्रयोग गर्नुपर्छ।
यो पनि पढ्नुस्ः
घर बनाउँदा कुन सिमेन्ट प्रयोग गर्ने? के छ ओपिसी र पिपिसीको विशेषता
कुनै पनि निर्माणमा सिमेन्ट अत्यावश्यक छ। निजी आवासको कुरा गर्दा हिजोआज ढुंगा माटोको घर कमैले बनाउँछन्। सिमेन्ट निर्विकल्प बनिसक्यो।
हामीकहाँ ओपिसी र पिपिसी गरी २ प्रकारका सिमेन्ट निर्माण क्षेत्रमा प्रयोग गरिन्छ। घर बनाउन प्रयोग गरिने सिमेन्टबारे जान्नुअघि ओपिसी (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट) र पिपिसी (पोर्टल्यान्ड पोज्जोलोना सिमेन्ट) ले कसरी काम गर्छ बुझ्न आवश्यक छ।
यसबारे हामीले निजी आवास निर्माण कम्पनी 'मेरो घर' का सिइओ तथा इञ्जिनियर विपीन गैरेसँग कुराकानी गरेका छौं।
उनका अनुसार कुनै पनि सिमेन्टले पानीको सम्पर्कमा आएपछि यसको वास्तविक गुण देखाउँछ।
'ओपिसी निर्माणमा छिटो सेट हुने सिमेन्ट हो,' इञ्जिनियर गैरेले भने, 'जुन निर्माणलाई छिटो सक्नुपर्ने हुन्छ वा छिटो फर्मा खोल्नुपर्ने हुन्छ, त्यहाँ यो सिमेन्ट प्रयोग गरिन्छ।'
ओपिसी बजारमा विभिन्न नाम र दाममा पाइन्छन्। सामान्यतया यसको बजारमूल्य कम्पनीअनुसार ८ सय देखि १ हजार रूपैयाँसम्म पर्छ। स्ल्याब, पिलर, पुल ढलान आदि काममा यो सिमेन्ट प्रयोग गरिन्छ। अर्घाखाँची, शिवम्, होङ्सी, अल्ट्रा, मारुती, उदयपुर सिमेन्ट, हेटौंडा आदि ओपिसीका उदाहरण हुन्।
तर ढलानका लागि ओपिसी मात्रै प्रयोग हुँदैन। धेरै उपभोक्तामा ढलानका लागि ओपिसी मात्रै प्रयोग गरिने बुझाइ रहेको इञ्जिनियर गैरे बताउँछन्। निर्माण समय लामो राखिएको छ भने पिपिसी पनि प्रयोग गर्न सकिने उनको भनाइ छ।
'ढलानका लागि ओपिसी नै चाहिने होइन,' उनले भने, 'कुनै ढलान लामो समय (फर्मा नखोली) राख्न सकिन्छ भने पिपिसी पनि प्रयोग गर्न सकिन्छ।'
ओपिसी पिपिसीभन्दा प्रतिबोरा १०० रूपैयाँ महँगो पर्छ। सामान्यतया ओपिसी ढलानको 'क्योरिङ' (ढलान बस्न दिइने समय) २० दिनसम्म हुन्छ। स्ट्यान्डर्ड क्योरिङ समय भने २८ दिनसम्म हुने गैरेले जानकारी दिए।
ओपिसी ३३, ४३ र ५३ ग्रेडमा पाइन्छ। ग्रेड भन्नाले सिमेन्टको मजबुती हो। छिटो सुक्ने र छिट्टै चर्किने भएकाले भित्ता प्लास्टरमा यो सिमेन्ट प्रयोग नगर्न इञ्जिनियर गैरेको सुझाव छ।
अब कुरा गरौं पिपिसीको।
पिपिसी ओपिसीभन्दा मसिनो हुन्छ। साथै प्रतिबोरा १०० रूपैयाँसम्म सस्तो हुन्छ। गैरेका अनुसार सस्तो हुनुको मतलब कमसल हुनु भने होइन।
'पिपिसी हतार नगरी निर्माण सम्पन्न गर्ने, लामो समय पानी राख्न सकिने (क्युरिङ) निर्माणमा प्रयोग गर्न सकिन्छ,' गैरेले भने, 'सस्तो हुनु भनेको कमसल हुनु होइन। पिपिसीको पनि ढलान गरी निर्माण बन्न सक्छ।'
पर्खाल वा गारोको मसला, प्लास्टर, भुइँ ढलान आदिमा लामो समय पानी राख्न सकिन्छ। त्यसैले यस्ता ठाउँमा पिपिसीको उपयोगिता धेरै हुने उनले बताए।
कहिलेकाहीँ ओपिसी बढी बलियो मानेर सबै निर्माणमा यही सिमेन्ट प्रयोग गर्न उपभोक्ता तत्पर हुने गैरेको अनुभव छ। तर प्लास्टरमा ओपिसी प्रयोग गर्दा छिटै चर्किने सम्भावना हुन्छ। साथै संरचना नराम्रो देखिने गैरे बताउँछन्। ब्रिज, अग्नि, जगदम्बा, वुद्ध, सोना आदि बजारमा पाइने पिपिसीका उदाहरण हुन्।