समिट एयरले ल्यायो नयाँ विमान, दुर्गम क्षेत्रमा उडान थपिने


आन्तरिक हवाई सेवा प्रदायक कम्पनी समिट एयर(पहिलेको गोमा)ले नयाँ विमान थप गरेको छ। चेक गणतन्त्रको जहाज निर्माता कम्पनी एलइटी (लेट) ले उत्पादन गरेको ‘एल ४१० युभिपी–ई२०’ विमान समिट एयरले आज काठमाडौंमा अवतरण गराएको छ।

मुलुकका दुर्गम क्षेत्र र पर्यटकिय क्षेत्रमा हवाई सेवा दिँदै आएको समिटले यसअघि नै उक्त सिरिजका विमान उडाइरहेको छ। एयरलाइन्सको यो चौथो विमान हो। उत्पादनपछि २ हजार घण्टाभन्दा कम उडेको उक्त विमान समिटले ३५ करोड रुपैयाँमा ल्याएको जानकारी दिएको छ।

दुईवटा इन्जिन भएको यो विमानमा १८ जना यात्रु अटाउने क्षमता रहेको छ। सानो धावनमार्ग भएका दुर्गमका विमानस्थलमा उडान सहज हुने छ। एयर कन्डिशनयुक्त या विमानले मुख्यगरी लुक्ला, डोल्पा तथा विभिन्न क्षेत्रमा केन्द्रित गरी उडान गर्ने एयरलाइन्सका प्रमुख कार्यकारी मनोज कार्कीले जानकारी दिए।

एयरलाइन्सका अनुसार आज आएको समिटको विमान भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको हो। अल्जेरियाका पाइलट स्टेफन जोलीले उडाएर ल्याएका थिए।

काठमाडौं,पोखरा र सुर्खेतलाई आधार बनाएर देशका विभिन्न क्षेत्रमा उडान गरिरहेको एयरलाइन्सले काठमाडौंदेखि फाप्लु,सुकेटार, खानीडाँडा, भोजपुर, लुक्ला, पोखराबाट मनाङ, मुस्ताङ र सुर्खेत नेपालगंजलाई आधार बनाएर सिमिकोट, जुम्ला, बाजुरा, डोल्पामा उडान गरिरहेको छ।

गोमाले १० रुटमा दैनिक उडान(अवतरण), दुइवटामा हप्तामा तीन, चारवटामा हप्तामा २ र पाँचवटामा हप्तामा एक उडान गरिरहेको छ। नयाँ विमान आएपछि यात्रुको चाप धेरै हुने ठाउँमा उडान थप गरिने कार्कीले जानकारी दिए।

 

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.