दशैंमा खसीका लागि पनि भारतकै भर!

आयात कम भएकाले मूल्य बढ्न सक्ने


दशैंमा सबैजसो वस्तुको कारोबारमा उल्लेख्य वृद्धि हुने गर्छ। दशैंमा खसीबोकाको खपत पनि उच्च रहन्छ। अन्य समयमा हप्ताको चारदेखि पाँच हजारसम्म खसीबोका खपत हुनेमा यस समय भने १० गुणाले बढी हुन्छ। तर, त्यहि मासुका लागि भने भारतीय खसीको भर पर्नुपर्ने बाध्यता कायमै रहेको छ।

दशैंमा काठमाडौं भित्रने खसीबोकाहरूमध्ये ८० देखि ८५ प्रतिशत भारतबाट आयात हुने व्यवसायीहरू बताउँछन्।

चौपाया खरीद विक्री सेवा संघका अध्यक्ष गोविन्द पाठकका अनुसार काठमाडौं चौपाया खरीद विक्री प्रालिमार्फत काठमाडौं उपत्यकाभित्र दशैंको समयमा ४० देखि ५० हजार बराबर संख्यामा खसीबोका भित्रने गर्छन् जसमध्ये मुश्किलले १० हजार मात्र स्वदेशी उत्पादन हुने गर्छन् भने  ३५ हजारदेखि ४० हजारसम्म भारतबाट आयात हुने गर्छ।

उनले भने, ‘हामीलाई लाज लाग्नुपर्ने हो, कृषि प्रधान देशमा ८५ प्रतिशतभन्दा बढी खसीबोका भने अन्य देशबाट आयात गर्नुपर्ने अवस्था छ।’
उनी  बाख्रापालनबाट किसान पलायन हुँदै जानु नै स्वदेशी बजारमा पर्याप्त खसीबोका उत्पादन हुन नसक्नुको प्रमुख कारण रहेको तर्क गर्छन्।

उनले आफू २०४८ सालदेखि यस क्षेत्रमा सक्रिय रहेको बताउँदै त्यतिबेलाको अनुभव सुनाउँदै भने, ‘त्यसबेला बजारमा आउने खसीबोकामध्ये ६० प्रतिशत स्वदेशी र ४० प्रतिशत भारतीय हिस्सा हुने गर्थ्यो तर ३० वर्षमा हामी पूर्ण परनिर्भर हुनुपर्ने अवस्थामा आइसकेका छौँ।’

मासुमा बढ्दो परनिर्भरताका पछाडि सरकारको उचित प्रोत्साहनको कमी, पर्याप्त घाँस तथा दानको अभाव, अवैज्ञानिक ढुवानी मापदण्ड, बाख्रापालनलाई सम्मानको पेशाका रुपमा नलिइनु, युवाहरूमाझ कृषि पेशाप्रति आकर्षण नहुँदा किसान बाख्रापालनबाट पलायान हुँदै गएको र उत्पादन निरन्तर घट्दै जानु जस्ता कारणहरू रहेको पाठकको बुझाइ छ।

उनी स्वेदशी उत्पादन बढाउन कृषक मैत्री नियम कानून, सरकारी अनुदानको सहज उपलब्धता तथा कृषि पेशालाई थप सम्मानजनक बनाई युवाहरूलाई कृषि कर्मतर्फ आकर्षित गर्नुपर्ने खाँचो औँल्याउँछन्।

दशैंका लागि उदयपुर, ओखलढुंगा, कपिलवस्तु, वीरगञ्ज, सिन्धुली, बाँके, कैलाली, काँभ्रे, धादिङ तथा भारतको कानपुर, हरियाणा, लक्ष्मणपुर, लखनौ, राजस्थान लगायतका स्थानबाट खसीबोका आयात हुँदै आएको व्यवसायीहरू बताउँछन्। यिनमा लाम्काने, बाबरी, जमुनापारी, खरीजाति लगायतका जातिका खसी हुने गरेको उनी बताउँछन्।

दशैंमा खाद्य संस्थानले भने १ हजार ५ सय खसीबोका तथा १ हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको छ ।

अन्य समयभन्दा दशैंमा खसीबोकाको कारोबार दश गुणाले बढी

अन्य समयमा काठमाडौंमा हप्ताको ४ देखि ५ हजारसम्म खसीबोका आउने गरेकोमा दशैंमा भने यो संख्यामा १० गुणा भन्दा बढीले वृद्धि हुने गरेको  व्यापारीहरू सुनाउँछन्।

व्यवसायी गोविन्द पाठकले अन्य समयमा प्रति हप्ता काठमाडौंमा ४ देखि ५ हजारसम्म माग हुने गरेकोमा दशैंका तीन दिन सप्तमी, अष्टमी र नवमीमा करीब ४० हजार खसीबोकाको कारोबार हुने गरेको जानकारी दिए।

‘दशैंका तीन दिन माग अत्यधिक हुन्छ। सबै खसी खोज्दै आउँछन्। कुखुरा र माछाको कारोबार भने नगन्य हुन्छ।’ उनले भने ।

दशैंकै लागि भनेर मनाङ, मुस्ताङ  जिल्लाहरूबाट आयात हुने च्याङग्रा भने आइनसकेको जनाए। त्यस्तै भेडा पनि पर्याप्त मात्रामा आइ नसकेको बताए ।

मूल्य
बजारमा विभिन्न प्रजातिका खसीबोका भित्रने गर्छन्। बोका पूजा तथा बलिका लागि खरीद गरिने गरिन्छ।
बागबजारस्थित खसीबजारका एक व्यापारी दिनेश बासकोटाले जिउँदो कालो रङ्गको बोकाको प्रति केजी ४ सय ५० रुपैयाँदेखि ५ सय रुपैयाँसम्म तथा रातो रङ्गको बोकाको भने ४ सय रुपैयाँदेखि ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको बताए।

त्यस्तै, जिउँदो खसीको भने ४ सय ६० रुपैयाँदेखि ५ सय १० रुपैयाँसम्म प्रति केजीका दरले किनबेच भइरहेको र भेडाको मासु प्रति केजी ८ सय रुपैयाँ तथा च्याङ्ग्रा भने १२ देखि १५ सय रुपैयाँसम्म पर्ने व्यवसायीहरू बताउँछन्।

आयात कम भएकाले मूल्य बढ्न सक्ने
तराई तथा भारतमा आएको बाढी तथा डुबानमा परेर दशैंका लागि पालेर राखिएको धेरै चौपाया मरेको, मुग्लिन नारायणघाटको सडकको दूरावास्था तथा राती सडक बन्द हुने भएकाले त्यस मार्गबाट खसीबोका पर्याप्त रुपमा ल्याउन नसकिएको भन्दै दशैंमा खसीबोकोको मासुको भाउ बढ्ने मासु व्यापारीहरूले संकेत गरेका छन्।

नेपाल माछामासु व्यवसायी महासंघका महासचिव चैत्यप्रसाद शाहीले माग अनुरुपको आपूर्ति हुन नसकेका कारण दशैंमा भाउ बढ्ने संकेत गरे।

शाहीले उदाहरण दिँदै भने, ‘भारतबाट यस समयमा जुन मात्रामा आउनुपर्ने हो  आएको छैन, पोहोरका वर्ष सोह्रश्राद्ध सुरू भएपछि भाउ घट्ने गर्थ्यो तर यस वर्ष भने घटेको छैन।’

उनले माग अनुसारको सहज आपूर्ति हुन सके भाउ तल माथी नहुने तर त्यसो नभए प्रति केजी ५० रुपैयाँसम्म बढ्न सक्ने संकेत गरे।

हाल खसीको मासुको भाउ प्रति केजी ९ सय रुपैयाँ रहेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.