बागलुङमा चाडपर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन

बागलुङमा चाडपर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन


नजिकै आएको चाडपर्वलाई लक्षित गरेर साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङले सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको छ। दसैँ, तिहार तथा छठ पर्वका बेला आम नागरिकलाई सहुलियतमा सामान उपलब्ध गराउने उद्देश्यले मंगलबारदेखि सुपथ मूल्य पसल सञ्चालन गरिएको हो।

पसलबाट चिनी र नुन बजार मूल्यभन्दा कममा बिक्रि गरिन्छ। सुपथ मुल्य पसलबाट चिनी एक केजीको ७७ दशमलव ५० रुपैयाँ र नुन १८ रुपैयाँमा बिक्री गरिने साल्ट ट्रेडिङ बागलुङ कार्यालयका प्रमुख मनोज श्रेष्ठले जानकारी दिए।

एक जनाले ५ सय १९ रुपैयाँमा ३ केजी नुन र ६ केजी चिनी लैजान पाउने व्यवस्था मिलाएको उनले बताए। तोकिएको भन्दा बढी लैजान नपाइने उनको भनाइ छ। पसल कात्तिक २० गते सम्म सञ्चालन हुने छ।

सुपथ मूल्य पसलको शुभारम्भ गर्दै बागलुङ प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले साल्ट ट्रेडिङको कार्यालयमा पसलको सुरुवात गरेपछि चाडपर्वका बेला बजार अनुगमनलाई प्रभावकारी बनाउने बताए। ‘चाड पर्वमा स्वास्थ्यलाई असर गर्ने खालका सामग्रीको बिक्रीवितरण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अनुगमनलाई कडाई गर्छौं,’ थापाले भने, ‘उपभोग्य वस्तुमा अखाद्य चिजको मिसावट र मनोमानी मूल्य गर्ने प्रवित्तिलाई निरुत्साहित गर्नुपर्छ।’

उनले यसका लागि व्यवसायी तथा सर्वसाधारण नागरिक सवैबाट सहयोग आवश्यक रहने बताए।  बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सुपथ मुल्य पसल खुल्ने श्रेष्ठले बताए। गत बर्षको तुलनामा यो वर्ष नुनको मुल्य केजीमा २ रुपैयाँ बढी र चिनी एक रुपैयाँ ५० पैसा कम रहेको छ।

कार्यालय प्रमुख श्रेष्ठका अनुसार गत वर्ष चिनी ७९ रुपैयाँ र नुन १६ रुपैयाँमा बिक्री गरिएको थियो। साल्ट ट्रेडिङले अघिल्लो वर्ष ३२ हजार ५ सय केजी नुन र ७१ हजार ३ सय केजी चिनी बेचेको थियो। त्यसबाट ६१ लाख ५२ हजार ७ सय रुपैयाँको कारोबार भएको थियो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.