हामीकहाँ मेरूदण्डको चोट (स्पाइनल इन्जुरी) प्राथमिक कारण सडक दुर्घटना हो। यसबाहेक भीरबाट, रूखबाट खसेर, कहिलेकाहीँ बाथरूममा चिप्लेर लगायत कारण समेत मेरूदण्डमा चोट लाग्ने सम्भावना हुन्छ।
इमर्जेन्सीमा घाइते आइसकेपछि उसलाई होसियारीपूर्वक हेरिन्छ। चोट लागेको ठाउँमा असर पर्न दिनु हुँदैन। कहिलेकाहीँ घाइतेलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न चार जना मान्छेसम्म चाहिन सक्छ।
बिरामीलाई दुखाइ कम हुने औषधि अनि सलाइन पानी दिएर सुरूआती उपचार गरिन्छ।
मेरूदण्डमा चोट लागेको कतिपय अवस्थामा शरीरको तल्लो भाग छोएको थाहा नपाउने र चलाउन नसक्ने हुन्छ। अर्को अवस्थामा छोएको थाहा हुने र चलाउन पनि सक्ने हुन्छ। यसकै आधारमा बिरामी पछि हिँड्न सक्छ कि सक्दैनौं भनेर सक्छौं। अथवा बैसाखीको सहाराले हिँड्न सक्छ कि सक्दैन भन्ने अनुमान हुन्छ।
सिटी स्क्यान र एमआरआई गरेर धेरै कुरा बुझ्न सकिन्छ। शरीर भित्रको हड्डी, नसामा कति असर गरेको छ भन्ने आधारमा भविष्यमा हिँड्न सक्छ कि सक्दैन भन्ने पत्ता लगाउन सकिन्छ। कतिपय बिरामीलाई जीवनभर ओछ्यानमै बस्नुपर्ने हुन सक्छ। त्यसैले कतिपय अवस्थामा बिरामी उठेर बस्न सक्नु पनि ठूलो उपलब्धि हुन्छ।
यसका लागि फिजियोथेरापी र व्यायाम गराउनुपर्छ। औषधि पनि खुवाउनुपर्छ। घाइतेका लागि घर पनि ह्विलचेयरमैत्री बनाउनुपर्छ।
मेरूदण्डको चोटबाट बच्ने पहिलो उपाय भनेको सडकको अवस्था सुधार्ने अनि तीव्र गतिमा सवारी साधन नचलाउने नै हो। विशेष गरेर दुईपांग्रे सवारी साधन चलाउँदा धेरै ध्यान पुर्याउनुपर्छ।
रूख काट्दा, भीरपाखामा जाँदा सावधानी अपनाउनुपर्छ।
लड्दा, ठोक्किँदा मेरूदण्डमा मात्र होइन, मस्तिष्कमा पनि चोट (ब्रेन इन्जुरी) लाग्न सक्छ। मेरूदण्डको चोटमा उपचार गर्न तत्काल आउनु र केही ढिलो आउनुले खासै अर्थ नराखे पनि मस्तिष्कको चोटमा धेरै अर्थ रहन्छ।
मेरूदण्डमा ट्युमरका कारण पनि समस्या हुन्छ। शरीरको अरू अंगबाट आएको ट्युमर भए रेडियोथेरापीबाट उपचार गरिन्छ। मेरूदण्डकै ट्युमर हो भने शल्यक्रिया, किमोथेरापी लगायत विधि अपनाइन्छ।
स्पाइनल ट्युमरको उपचारमा खुला र दूरबिन दुवै प्रविधि उपलब्ध छन्। दूरबिन प्रविधिबाट पूर्ण रूपमा उपचारमा जान सकेमा खर्च, अस्पतालको बसाइ र बिरामीलाई पनि धेरै सहज हुन्छ।
(न्युरो सर्जन डा. सरोज पन्त भरतपुरस्थित पुरानो मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत छन्।)