बजारमा रहर, मास, चना दालको मूल्य घटेको छ।
नेपाल खुद्रा व्यवसायी संघले उपलब्ध गराएको तथ्यांकले यस्तो देखाएको हो।
संघले प्रत्येक महिनाको १ र १५ गते खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्छ।
१५ दिन अघिको तुलनामा रहर दाल प्रतिकिलो १० रूपैयाँले घटेको छ।
१५ दिन अघि दुई सय ४० रूपैयाँमा कारोबार भइरहेको थियो भने अहिले चैत १५ मा आउँदा रहर दाल प्रतिकिलो दुई सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, मासको दाल पनि प्रतिकिलो पाँच रूपैयाँले घटेको छ।
१५ दिनअघि प्रतिकिलो एक सय ९५ रूपैयाँमा कारोबार भएको मासको दाल अहिले एक सय ९० रूपैयाँमा कारोबार भएको छ।
चनाको दालको मूल्य पनि पाँच रूपैयाँले घटेको छ।
१५ दिनअघि प्रतिकिलो एक सय ७५ रूपैयाँमा कारोबार भएको चनाको दाल अहिले एक सय ७० रूपैयाँमा कारोबार भएको छ।
छाटा मुंगको मूल्य भने प्रतिकिलो दश रूपैयाँले बढेको छ।
१५ दिनअघि प्रतिकिलो एक सय ८० रूपैयाँमा कारोबार भइरहेकोमा अहिले एक सय ९० रूपैयाँ पुगेको छ।
मुसुर दालको मूल्य स्थिर छ। बजारमा मुसुर दाल एक नम्बर र दुई नम्बर गरी दुई प्रकारको आउँछ।
ती दालको मूल्य क्रमशः एक सय ६५ र एक सय ५० रूपैयाँमा कारोबार भएको छ।
त्यस्तै, गेडा मुंगको मूल्य पनि स्थिर छ। बजारमा गेडा मुंग प्रतिकिलो एक सय ७० रूपैयाँमा कारोबार भएको छ।
यस्तै, खोस्टा मुंग दालको मूल्य पनि स्थिर छ। बजारमा खोस्टा मुंग दाल पनि एक नम्बर र दुई नम्बर गरी दुई प्रकारको आउँछ।
ती दालको मूल्य क्रमशः एक सय ९० र एक सय ८० रूपैयाँमा कारोबार भएको छ।
दालको स्वदेशी उत्पादन नगन्य मात्रामा छ। भारत लगायत अन्य मुलुकबाट दाल आयात गरिँदै आएको छ।