एएसी ब्लक उत्पादकहरूको पहिलो सम्मेलन सम्पन्न भएको छ।
एएसी ब्लक उत्पादक संघले शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै सम्मेलन सम्पन्न गरेको हो।
मुख्यगरी एएसी ब्लकको उपयोगिता बढाउन सम्मेलन गरिएको थियो।
सम्मेलनमा भारतीय एएसी विज्ञ तथा कंक्रिट टेक्नोलोजिष्ट मुकुन्द जोशीले एएसी ब्लकको विश्व बजारमा प्रयोगको बारेमा जानकारी दिए।
उनले नेपाल जस्तो भुकम्पीय जोखिम रहेको स्थानमा एएसी ब्लक उपयुक्त हुने बताए। उनले एएसी ब्लक ताप र ध्वनी प्रतिरोधक हुने भएकाले यो इँटाको उत्तम विकल्प हुने बताए।
सम्मेलनमा सरकारी निकायका प्रतिनिधिका साथै आर्किटेक्ट तथा स्ट्रक्चरल इञ्जिनियरहरूको सहभागिता थियो।
हाल यहाँ ९ वटा एएसी ब्लक उद्योग सञ्चालनमा छन्। यसमा कुल पाँच अर्ब रूपैयाँ लगानी छ।
उक्त उद्योगमा पाँच हजार जनाभन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन्।
हाल स्वदेशी एएसी ब्लकको कुल जडित क्षमता २२ सय घन मिटर प्रतिदिन छ। एएसी ब्लकको माग कम भएकाले उद्योगीले कुल क्षमताको २० प्रतिशत उत्पादन गरिरहेका छन्।