नेपाल उद्योग वाणिज्य महासंघले उद्योगहरूमा पटक-पटक हुने लोडसेडिङ प्रति चिन्ता व्यक्त गरेको छ।
पछिल्लो समय विभिन्न औद्योगिक क्षेत्रमा अग्रिम जानकारीबिना १२ घण्टासम्मको विद्युत कटौती हुँदा उत्पादन र व्यवसायमा ठूलो असर परेको महासंघको भनाइ छ।
बिहीबार विज्ञप्ति जारी गर्दै महासंघले लोडसेडिङका कारण उद्योगहरू नियमित सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका जनाएको छ। बारम्बारको विद्युत अवरोधले उत्पादन प्रक्रियामा बाधा पुर्याउनुका साथै मेसिनरी र उपकरणमा क्षति पुगेको जनाएको छ।
यसबाट मर्मत तथा प्रतिस्थापनमा ठूलो आर्थिक भार थपिएको महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ।
यस्ता समस्या निरन्तर दोहोरिएमा मुलुकको अर्थतन्त्रमा देखिएको सुधार प्रक्रिया प्रभावित हुने र दीर्घकालीन रूपमा आर्थिक संकटको सम्भावना बढ्ने चिन्ता महासंघले जाहेर गरेको छ।
महासंघले सरकारलाई उद्योग क्षेत्रका लागि नियमित, भरपर्दो र अविच्छिन्न विद्युत आपूर्ति सुनिश्चित गर्न तुरुन्तै आवश्यक कदम चाल्न आग्रह गरेको छ।
साथै, दीर्घकालीन रूपमा औद्योगिक विकासलाई टेवा दिन ऊर्जा पूर्वाधारमा थप लगानी गर्न, ऊर्जा आपूर्तिलाई सहज बनाउन र निजी क्षेत्रसँगको सहकार्यलाई सशक्त बनाउन माग गरेको छ।