रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका–८ का २७ वर्षीय रेशम खड्का स्थानीय जनप्रिय मावि, पेउघामा पढ्दादेखि नै गाउँघरका उत्पादन संकलन गरेर बेच्थे।
गाउँमा कागती किन्थे र आफ्नै किराना पसलमा राखेर बेच्थे। उनका बुबा प्रेमबहादुर खड्का पनि कान्छा छोरोका त्यो प्रयास राम्रो मान्थे र प्रोत्साहित गर्थे।
हाल नेपाली कांग्रेसको रुकुम जिल्लाका सहसचिव प्रेमबहादुर उतिबेला व्यापार गर्थे। किराना र फेन्सी पसल एकसाथ चलाएका थिए।
उनकै छोरा रेशमले ६ कक्षामा पढ्दा पहिलोपटक गाउँबाट ८० रुपैयाँमा केरा किनेर स्थानीय मेलामा बेच्दा २८० रुपैयाँ कमाए।
उनको कलिलो मस्तिष्कमा व्यापारबाट पैसा कमाइ हुन्छ भन्ने गाढा छाप बस्यो।
रेशम बाल्यकालमै आफ्नो खर्चको जोहो गर्थे। कक्षा सातमा पुग्दासम्ममा शनिबार र अन्य बिदाका दिन बुबाको पसलमा बसेर सामान बेच्न थालेका थिए।
पसलमा काम गर्दा पैसाको महत्व झन् बढी थाहा पाए।
त्यति बेला देशमा सशस्त्र द्वन्द्व चलेको थियो। माओवादीले चन्दा मागेर हैरान पार्थे। एक पटक ८० हजार र अर्कोपटक दुई लाख रुपैयाँ दिन बाध्य भएका थिए।
२०५७ सालमा पसलबाट घर फर्किंदै गर्दा प्रेमबहादुरलाई माओवादीले अपहरण गरेर चार महिना बन्धक बनाए। त्यसपछि व्यापार तहसनहस भयो।
रेशमको रुचि भलिबल खेलमा पनि थियो। विद्यालयमा साथीहरूसँग भलिबल खेल्थे। उनले २०६९ सालमा एलएसली दिए, सफल पनि भए।
घर सल्लाहअनुसार रेशम गाउँकै एक सहपाठीका साथ दाङ गए तर केही दिनमै ती सहपाठी पाल्पामा पढ्छु भनेर गए।
साथीले छाडेर गएपछि रेशम तुलसीपुरको रजौरास्थित माइली फुपुको घरमा बस्न गए। फुफाजु गंगालाल वली शिक्षक थिए। फुपाजुको सल्लाहअनुसार राप्ती बबई क्याम्पसमा कक्षा ११ मा भर्ना भए।
उनले क्याम्पसमा पनि भलिबल खेले। विद्यार्थी राजनीतिमा पनि सक्रिय भए। ‘नेपाल विद्यार्थी संघ’ को क्याम्पस एकाइ उपसभापति भए। पढाइमा पनि उत्तिकै चासो दिन्थे।
त्यही क्याम्पसमा वाणिज्यशास्त्र विषयमा स्नातक तहमा भर्ना भए। क्याम्पसले आयोजना गर्ने भलिबल प्रतियोगिता व्यवस्थापनको जिम्मा उनकै हुन्थ्यो।
टिममा रुकुमकै कमल खत्री र अन्य साथीहरू थिए। आपसमा छलफल र परामर्श हुन्थ्यो। क्याम्पसमा यो टिम निकै प्रभावशाली थियो।
रेशम र उनको टिमका साथीहरू एकपटक आकर्षक गेमसेट खोजी गर्दै हिँड्दा तुलसीपुर बसपार्कको ‘डिबी गार्मेन्ट’ मा पुगे। गार्मेन्ट उद्योग थियो प्रकाश वलीको।
टिमले त्यही गार्मेन्टमा आवश्यक सेट किन्यो।
व्यावसायिक सोचका रेशम त्यो गार्मेन्ट उद्योगबाट प्रभावित भए। यस्तै गार्मेन्ट चलाउन सके गज्जबै हुन्थ्यो जस्तो लाग्यो।
गार्मेन्ट सञ्चालक प्रकाश पनि क्याम्पसका विद्यार्थी नेता थिए। उनी क्याम्पसमा नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन ‘अखिल क्रान्तिकारी’ का अध्यक्ष थिए।
रेशमको टिमसँग प्रकाश पनि लोभिए। त्यो टिमलाई उद्योगमा जोड्न सके हुन्थ्यो भन्ने लाग्यो।
प्रकाश पनि रुकुमकै थिए, पढाइकै लागि दाङ आएका थिए तर रेशम र कमलसँग चिनजान थिएन। रुकुमेली हुनुका नाताले उनीहरूलाई आपसमा नजिकिन सजिलो भयो।
एक दिन प्रकाशले रेशमसँग व्यवसायको कुरा गरे। मिलेर काम गर्न चाहेको बताए।
प्रकाशका साझेदारले व्यवसायबाट हात झिकेका थिए। उनी ऊर्जावान नयाँ साझेदारको खोजीमा थिए।
प्रकाशले रेशम र कमलाई सँगै राखेर भनेछन् ‘क्याम्पसमा तपाईंहरूको लोकप्रियता लोभलाग्दो छ। मेरो गार्मेन्ट उद्योगमा मिलेर काम गरौं। उद्योग राम्ररी चलाऔं।’
रेशम र कमललाई कुरा उचित हो भन्ने लाग्यो। प्रकाश, रेशम, कमल र अर्का एक साथी माधव बस्नेतबीच छलफल भयो।
उद्योगमा चार जनाले जनही २५ प्रतिशत शेयर रहने गरी साझदारी गर्ने सहमति भयो।
यो कुरा थियो २०७५ सालको।
चार जनाले जनही ८ लाख रुपैयाँका दरले रकम जम्मा गरे। उद्योगलाई चाहिने मेसिन थपे। कालिगढ थपे। केही भौतिक संरचनामा पनि सुधार गरे।
रेशमले गार्मेन्टको आर्थिक पाटो र कमलले मार्केटिङ सह्माल्ने जिम्मेवारी पाए। माधव आफ्नै व्यवसायमा व्यस्त थिए।
रेशम ‘युनियन लाइभ इन्स्युरेन्स’ मा अकाउन्टेन्ट थिए। गार्मेन्टमा जोडिएपछि इन्स्युरेन्सको काम छोडे।
उनले गार्मेन्टको हिसाबकिताब व्यवस्थित बनाए।
यो साझेदारी सुरू हुँदा गार्मेन्टमा मासिक सरदर पाँच लाख रुपैयाँको व्यापार हुन्थ्यो।
सबै साझेदारले आआफ्नो क्षेत्रबाट मिहिनेत गरे। कारोबार गुणात्मक बन्दै गयो। परिणामले सबै उत्साहित थिए।
रेशम आफूले पनि मार्केटिङ सुरू गरे। रोल्पा, सल्यान, रुकुम, जाजरकोटसम्म पुगेर आफ्ना उत्पादनको प्रचार गर्थे। गार्मेन्ट उत्पादन किन्नुको फाइदाबारे बताउँथे।
उता कमलले मार्केटिङमा निकै ठूलो फड्को मारे।
गार्मेन्ट उद्योग फस्टाउँदै थियो। त्यही बेला कोभिड–१९ को विश्वव्यापी कहर फैलियो। देशभर लकडाउन भइदियो। कालिगढ दाङ बाहिरका थिए। धेरैजसो कालिगढ आआफ्ना घरतिर गए।
रेशमले त्यो असहज तर फुर्सदको समय रचनात्मक बनाउने विचार गरे। उनी क्षमता विकासमा लागे। गार्मेन्ट उद्योगबारे सामाजिक सञ्जाल युट्युबमा खोजी सुरू गरे।
उद्योगमा जनशक्ति कम भएको र आफूलाई फुर्सद मिलेको त्यो समयमा उनले कपडा आइरन गर्ने र प्याकिङ गर्ने काम सिके।
कामले काम सिकायो। उनले कपडामा प्रिन्ट गर्न पनि सिके। युट्युब हेर्दै केही नयाँ डिजाइन सिके।
त्यसपछि उनलाई कटिङ सिक्ने हुटहुटी जाग्यो। कटिङ मास्टर हरि भुसालसँग कटिङ सिक्न सुरू गरे।
कटिङ मास्टरले सिकाएअनुसार कैंची चलाउँदै रेशमले करिब एक महिनामा कटिङको धेरै काम सिके। अभ्यास बढाउँदै जाँदा उनी आफै कटिङ मास्टरसरह भए।
लकडाउनको समयमा अभ्यास गर्दागर्दै रेशम कटिङ, आइरनिङ र प्याकिङमा पोख्त भए। लकडाउन खुकुलो भएर काम सुरू भएपछि आफै अघि सरेर कामदारको खाँचो टार्न थाले।
‘मैले काम जानेपछि सजिलो भयो। कटिङ मास्टर अनुपस्थिति रहेका दिन पनि काम नरोकिने भयो,’ उनले भने, ‘म आफूले काम जानेपछि कसैले छलछाम गर्न पनि सक्ने भएन।’
लकडाउनका कारण व्यापार ठप्प भयो। तयार लुगा उद्योगमै थुप्रो लाग्यो। बजारमा रहेको बक्यौता उठ्न सकेन।
उद्योगमा आर्थिक संकट आइलाग्यो। केही कामदार परिवारसहित उद्योगमै थिए। तिनको दैनिक गुजारा चलाउनु पनि उद्योगको जिम्मेवारी थियो।
संकट टार्न रमेश मल्ल र विर्जुनाथ योगी शेयरधनीका रूपमा थपिए। शेयर धनी ६ जना भए तर व्यापार नभएपछि घाटा बढ्दै गयो।
कोभिडको दोस्रो लहरपछि उद्योग थला पर्यो। शेयरधनीहरू निराश भए। चार जना शेयरधनीले उद्योग छोड्ने निर्णय सुनाए। त्यसैअनुसार जनही ६ लाख रुपैयाँ लिएर बाहिरिए।
त्यो रकमको भार रेशम र प्रकाशले लिए। त्यसअघि नै ३५ लाख रुपैयाँ ऋण लागेको थियो।
स्थिति निकै असजह भए पनि यी दुई युवाले हिम्मत छाडेनन्।
उनीहरूले अर्डर लिएर मात्र उत्पादन गर्ने नीति लिए। कोभिडका कारणले आर्थिक समस्यामा पर्न थालेका सर्वसाधारण उभोक्ताहरू तुलनात्मकरूपमा सस्तो पर्ने गार्मेन्ट लुगा खोज्न थाले।
बिस्तारै बजारमा माग बढ्यो। उत्पादन पनि बढाउँदै गए। लकडाउन पूर्णरूपमा अन्त्य भई बजार सामान्य भयो।
रेशमका अनुसार त्यसयता सामाजिक सञ्जालमार्फत अर्डर आउने गरेको छ। धेरैजसो भुक्तानी डिजिटल माध्यमबाटै हुन्छ।
गत माघ ११ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्योगको औपचारिक उद्घाटन गरे। उद्घटनकै क्रममा उद्योगका उत्पादनको ब्रान्ड नाम ‘डासोब’ राखिएको घोषणा भयो।
हाल उद्योगले मासिक ५० हजार रुपैयाँ भाडा तिर्ने गरेको छ। सिलाइ मेसिन ३० वटा छन्। बटम रिप बनाउने र रंगीन स्वेटर बुन्ने मेसिन एकएक वटा छन्। कर्मचारी २७ जना छन्।
हालसम्ममा उद्योगको कुल लगानी दुई करोड रुपैयाँ नाघेको छ। प्रकाशका अनुसार उद्योगको न्यूनतम खर्च चल्न मासिक कम्तीमा २० लाख रुपैयाँको व्यापार हुनुपर्छ।
हाल मासिक कम्तीमा २५ लाख रुपैयाँको व्यापार हुने गरेको रेशमको भनाइ छ।

प्रकाश यसरी आए गार्मेन्ट उद्योगमा
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३, खाराका प्रकाश गाउँमै आठ कक्षाको पढाइ पूरा गरेर दाङ झरेका थिए।
दाङमै २०६२ सालमा एसएलसी (कक्षा १०) उत्तीर्ण गरेर स्नातक तहसम्मको पढाइ पूरा गरे।
उनका बुबा गुमानसिंह रुकुममै होटेल चलाउँथे। चार छोराछोरीमध्ये जेठा प्रकाश बाल्यकालमै सिजनअनुसारका फलफूल किनेर बेच्थे। मेलामा सुन्तला बेच्थे। नाफा भएकोमध्ये थोरै पैसाको जेरी किनेर खान्थे।
दाङमा पढ्दा तुलसीपुर बसपार्कनजिकै ‘प्रकाश अर्गानिक खाद्य घर’ नामको पसल खोलेका थिए। पछि त्यो पसल बेचे।
उनले तुलसीपुरको पुलचोकमा ‘प्रकाश मोबाइल पसल’ नाममा मोबाइल फोनको पसल पनि खोलेका थिए तर त्यसमा मन अडिएन।
त्यसबेला ट्युसन सेन्टर खुब चल्तीको व्यवसाय थियो। उनले गणितमा स्नातकोत्तर तहको पढाइ पूरा गरेर काठमाडौंबाट फर्केका मामा अर्जुन खड्कासँग सल्लाह गरे। मामाभान्जा मिलेर पुल्चोकमै ‘दाङ भ्याली कम्युनिकेसन एन्ड ट्युसन सेन्टर’ खोले।
ट्युसन सेन्टर निकै राम्ररी चल्यो। आम्दानी राम्रै भयो तर अर्जुन लोकसेवा परीक्षा तयारी गर्ने भनेर काठमाडौं गएपछि ट्युसन सेन्टर बन्द भयो।
ट्युसन सेन्टरमै भएको चिनजानले प्रकाशको बिहे पनि भयो।
प्रकाश २०७३ सालमा विदेश जाने विचारले काठमाडौं गए। उनका जेठान दीपेन्द्र भण्डारी काठमाडौंको गोंगबुमा होटेल चलाउँथे। दीपेन्द्रले प्रकाशलाई गोंगबुको एउटा गार्मेन्ट उद्योगमा पुर्याए।
त्यो गार्मेन्ट उद्योग देखेपछि प्रकाशको विचार बदलियो। उनले तुलसीपुरमा त्यस्तै गार्मेन्ट उद्योगको सपना देखे। जेठानसँग सल्लाह गरे।
प्रकाश र दीपेन्द्र मिलेर २४ लाख जुटाए। कम्पनी रजिस्ट्रारको कार्यालयमा ‘डिबी फेसन गामेन्ट उद्योग प्रालि’ दर्ता गराए।
काठमाडौंबाट तुलसीपुर फर्कंदा प्रकाशले दश वटा मेसिन ल्याए। दश जना कालिगढ पनि पुर्याए।
त्यसबेला तुलसीपुरमा दुईवटा गार्मेन्ट कारखाना थिए। ती दुबै स्कुल युनिफर्मको मात्रै काम गर्थे।
प्रकाश सुरूदेखि नै फेन्सी उत्पादनमा लागे तर अपेक्षाअनुसार व्यापार भएन। ऋण लिएर कालिगढ टिकाउँदै अघि बढ्दा करिब २४ लाख रुपैयाँ ऋण लाग्यो।
२०७४ को अन्तिमतिर दीपेन्द्र उद्योगबाट बाहिरिए, प्रकाश एक्लै भए। कालिगढले पनि छाडे।
उनी अन्योलमा परेका थिए तर ठिक त्यही समय एनएमबी बैंकका कर्मचारी उद्योगमा आएर खाता खोल्न सहमत गराए। एउटा मौका हुन सक्ने ठानेर प्रकाशले ऋण लिने प्रक्रिया अघि बढाए।
उनको योजना स्वीकृत भयो, ३५ लाख रुपैयाँ ऋण पाए। त्यसबाट व्यक्तिको ऋण तिरे, बचेको पैसा उद्योगमै लगाए।
प्रकाशले कटाइ–सिलाइ काम गर्ने स्थानीय महिला खोज्दै उद्योगमा ल्याए। फेन्सीसँगै स्कुल युनिफर्ममा पनि काम थाले। उद्योगले गति लियो।
हाल उद्योगमा १८ महिला कालीगढ छन्।
कोभिडले ल्याएको संकट टरेपछि व्यापार बढ्दो छ। हालका साझेदार प्रकाश र रेशमले २०८२ सालको अन्त्यसम्ममा उद्योगमा कालिगढको संख्या ४० पुर्याउने लक्ष्य लिएका छन्।
प्रकाशका अनुसार दाङमा दक्ष कटिङ मास्टर पाउन कठिन छ।
उनी भन्छन्, ‘पुरुषहरू कालिगढी सिक्नै चाहँदैनन् बरु लाखौं रुपैयाँ खर्च गरेर विदेश जान्छन्। महिला कालिगढ अनुशासित र काममा इमानदार हुन्छन्।’
यिनै प्रकाशसँग जोडिन पुगेका थिए रेशम। यसमा उनी निकै सन्तुष्ट देखिन्छन्। प्रकाश त ‘उद्योगपति’ भनेर चिनिन थालेका छन्। उद्योगमा महिला कालिगढको संख्या बढ्दै गएकोमा खुसी देखिन्छन्।
उद्योगका लागि आवश्यक कच्चा पदार्थ काठमाडौं, वीरगञ्ज र विराटनगरबाट मगाउँछन्। अझै नपुग भए भारत र चीनबाट पनि मगाउँछन्।
रेशम हालै बबई क्याम्पसमा स्नोतकोत्तर तहमा भर्ना भएका छन्। कुनै दिन उनले बैंकको जागिरे हुने सपना देखेका थिए। अहिले उद्योगमा रमाएका छन्।
सन्तुष्ट कालीगढ
सल्यानको सिद्धकुमाख गाउँपालिका–४ की २३ वर्षीया रेखा परियारले ‘डिबी गार्मेन्ट’ मा काम गरेको साढे तीन वर्ष पूरा भएको छ।
उनी बिहान सात बजे उद्योगमा पुग्छिन्, बेलुका सात बजे फर्किन्छिन्। उनी दैनिक १५ जोरसम्म ट्र्याकसुट सिलाउँछिन्। गोटागन्तीका आधारमा पारिश्रमिक पाउँछिन्। मासिक सरदर ३५ हजार रुपैयाँ कमाउँछिन्।
गार्मेन्टमा काम गर्न थालेपछि आफ्नो जीवन सहज भएको उनको भनाइ छ।
उनले भनिन्, ‘सिलाइको काम हजुरबासँग सिकेकी थिएँ। गार्मेन्टमा आएपछि झन् सिपालु भएँ। यही सिपले मेरो जीवन सहज भएको छ।’
शान्तिनगर गाउँपालिका–५, काँसीपुरकी ३० वर्षीया मिथिला रानाले यो गार्मेन्टमा नौ वर्ष बिताइसकिन्। उनी एक दिनमा ३० वटासम्म टी–र्सट सिउँछिन्। स्कुलले विद्यार्थीको ट्र्याकसुट पनि सिउँछिन्।
मिथिलाका श्रीमान् मलेसियामा छन्। आफ्नो कामबाट उनी सन्तुष्ट देखिन्छिन्।
भन्छिन्, ‘मेरो मिहिनेतले घरपरिवारको खर्च चलेको छ। श्रीमानको कमाइ चोखो बचत हुन्छ। म महिनाको ३८ हजार (रुपैयाँ) सम्म बुझ्छु।’
शान्तिनगर गाउँपालिका, शान्तिपुरकी २५ वर्षीया गीता सोतीले पनि यो गार्मेन्टमा काम गरेको तीन वर्ष भयो। श्रीमान् कुबेत गएको एक महिना भयो।
गीताले भनिन्, ‘मैले यही गार्मेन्टमा आएर काम सिकेकी हुँ। अहिले म सबै खाले लुगा सिउन सक्छु। अरू महिला दिदीबहिनी पनि हुनुहुन्छ। काम गर्न रमाइलो छ।’
यसरी युवा उद्यमीले चलाएको डिबी गार्मेन्ट उद्योगले व्यापार त गरेकै छ, धरैका लागि रोजगारी पनि सिर्जना गरेको छ।
