देशमा के गर्ने भन्ने योजना नहुँदा धेरैजसो युवा अलमलमै वैदेशिक रोजगारी रोज्छन्। सर्लाही हरिवन नगरपालिका-४ गेलहाका जितेन्द्रकुमार महतो पनि यहाँ उपाय नलागेपछि कतार जाने तयारीमा थिए।
काठमाडौं आएर उनले कतारको एक होटलमा वेटर कामका लागि जान अन्तर्वार्ता पनि दिए। छनोट भएर उनको भिसा आउँदै थियो।
एकाएक उनले योजना बदले।
'घरको अवस्था निकै कमजोर थियो। विदेश जानै लागेको थिएँ, यतै अडिएँ। अहिले गाउँमै सानोतिनो व्यवसाय गर्दैछु,' उनले भने।
२० वर्षीय जितेन्द्रले करिब चार महिनाअघि सर्लाहीको सासापुरमा 'भजुबाबा आधुनिक दुना-टपरी तथा रेडिमेड पत्ता उद्योग' खोलेका छन्। बाँसको टाटीको बेरा र टायलको छानो भएको टहरामा छ उनको उद्योग। यसले नामजस्तै दुना-टपरी बनाउँछ।
जितेन्द्रले पातका लागि हरिवनको वन उपभोक्ता समितिसँग समन्वय गरेका छन्। त्यस्तै चार जनाले लालबन्दीको जंगलबाट संकलन गरेर ल्याउँछन्। दुना र टपरी गाँसेर दिने छुट्टै समूह छ।
'हातले गाँसिएका दुना-टपरी सानो मेसिनमा राखेर, पेलेर, काटकुट गरी मिलाएर चिटिक्कको बनाइन्छ। अनि प्याकेजिङ गरेर अर्डरअनुसार बजार पठाउँछु,' उनले भने।
हाल उनी दैनिक एक हजार वटा दुना-टपरी बजार पठाउँदै छन्। मासिक कारोबार कम्तीमा साढे एक लाख रूपैयाँको पुगेको छ। पछिल्लो एक महिनामा सबै खर्च कटाएर ३५ हजार रूपैयाँ बचाएको उनले बताए।
जितेन्द्रको उद्योगको दुना-टपरी सर्लाही जिल्लाभरि पुगिसकेको छ। केहीपटक काठमाडौं पनि पठाएका छन्। अर्डर अनुसार होम डेलिभरी पनि हुने उनले बताए।
'अहिले दुना-टपरीको माग निकै राम्रो छ। श्राद्ध, पूजाआजा, बिहे, ब्रतबन्ध, पास्नी जस्ता सबैजसो कर्म र भोजभतेरमा दुना-टपरी प्रयोग बढेको छ,' उनले भने, 'बजारको माग अनुसार उत्पादन गर्न सकेको छैन।'
जितेन्द्रको उद्योग सानो छ। मेसिन पनि सानो र एउटा मात्रै छ। धेरै बनाएर राख्न नसक्दा बजारको माग अनुसार पुर्याउन सकेका छैनन्। उत्पादन बढाउन चाहिने लगानी पनि उनीसँग छैन।
उनी विपन्न परिवारमा जन्मिएका हुन्। अभावसँग संघर्ष गर्दै हुर्केका उनी स्कुल पढ्दैदेखि काम गर्थे। आमाबुबासँगै मजदुरीमा जान्थे, इँटा र बालुवा बोक्थे। घर ढलानको काममा पनि सघाउँथे। यसरी श्रम गर्दै उनले एसइई दिए।
यसपछि एउटा कम्पनीमा लेखापालको काम पाए। तर त्यहाँ पारिश्रमिक साह्रै थोरै थियो। बरू विदेश जाने विचार गरे।
‘पाँच जना दिदीहरूको बिहे गरेको ऋण छ। त्यो ऋण तिर्न यहाँको जागिरले धान्ने भएन,' उनले भने।
चिनजानकै एक जनाले उनलाई कतारको एक होटलमा वेटर काम मिलाइदिने भए। कतार पुग्न दुई लाख २० हजार रूपैयाँ चाहिन्छ, खानबस्न पाएर मासिक करिब ४४ हजार रूपैयाँ तलब हुन्छ भनेका थिए।
जितेन्द्रले आफ्नो, आमाबुबाको र बहिनीको ज्याला मजदुरीबाट केही पैसा जोहो गरे। अर्काको जग्गामा खेती गरेर पनि पैसा बचाए। अलिकति ऋण पनि लिएर काठमाडौं आए अनि अन्तर्वार्ता दिए। छनोट भएपछि भिसा पर्खेर बसेको समयमा हरिवनकै एक होटलमा वेटर तालिम लिए।
त्यही बेला वडा कार्यालयले युवाहरूका लागि व्यावसायिक तालिम दिन लागेको उनले थाहा पाए। उनले पनि दुना-टपरी बनाउने तालिममा सहभागी हुने निधो गरे। तालिम सात दिनमा सकियो।
'जंगलमा खेर जाने पात सदुपयोग गरेर व्यवसाय हुने बलियो सम्भावना देखेँ,' जितेन्द्रले भने, 'विदेश जान जम्मा गरेको एक लाख रूपैयाँ थियो। वडाले अनुदान पनि दिने भयो। मैले कतार जाने योजना त्यागेँ।'
अनुदान समेत गरेर दुई लाख ४० हजार रूपैयाँ लगानीमा उनले दुना-टपरीको फिनिसिङ गर्ने मेसिन किने। यसरी तालिममा सिकेको सीप अनुसार उनले काम थालेका हुन्।
युवाहरूलाई स्थानीय स्रोतमा आधारित उत्पादनशील काममा लगाउन थुप्रै सीपमूलक तालिम दिनुपर्ने जितेन्द्र बताउँछन्। उनीहरूले अनुदान र सहुलियत ऋण पाउने व्यवस्था पनि गर्नुपर्ने उनले बताए। यसो हुने हो भने युवाहरू कामका लागि विदेश जाने क्रम घट्ने उनको विश्वास छ।
थोरै लगानीमा सुरू भएको दुना-टपरीको कामबाट राम्रो आम्दानी हुने आशा उनको छ। ठूलो र आधुनिक मेसिन थपेर, उत्पादन बढाएर, बजार विस्तार गर्ने र व्यवस्थित उद्योग सञ्चालन गर्ने सपना उनले देखेका छन्।
जितेन्द्रको उद्योगले बनाएको टपरी आकार अनुसार गोटाको तीनदेखि पाँच रूपैयाँसम्म पर्छ। दुना साढे दुई रूपैयाँमा पाइन्छ।
'दुना-टपरी प्लास्टिकको तुलनामा सस्तो र वातावरणमैत्री हुन्छ। तर मान्छे प्लास्टिकका सामानमा बानी परेका छन्। प्लास्टिकले वातावरणमा पार्ने असरको कुरा बुझाउन सके दुना-टपरीको माग बढ्छ,' उनी भन्छन्, 'अनि धेरैलाई पातको दुना-टपरी चुहिन्छ भन्ने लाग्दो रहेछ। मेसिनमा राखेर बनाएको दुना-टपरी चुहिँदैन।'