बजारमा अण्डाको मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले मंगलबारबाट लागु हुने गरी अण्डाको मूल्य बढाएको हो।
‘हामीले हिजो बैठक बसेर आजबाट अण्डाको मूल्य बढाउने निर्णय गरेका हौं,’ संघका अध्यक्ष विनोद पोखरेलले भने।
अत्यधिक गर्मीका कारण अण्डाको उत्पादन घटेकाले मूल्य बढेको उनको भनाइ छ।
‘माग बढी छ। उत्पादन छैन,’ उनले भने, ‘त्यसैले थोरै अवधिमै अण्डाको मूल्य बढेको हो।’
अहिले स्कुल, कलेज खुलेकाे र पर्यटन आगमन पनि बढेकाले अण्डाकाे माग बढेकाे उनले जानकारी दिए।
बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्। उनका अनुसार प्रतिक्रेट पन्ध्र रूपैयाँका दरले अण्डाको मूल्य बढाइएको छ।
मूल्य बढेसँगै अब मध्यम अण्डा प्रतिक्रेट चार सय ९५, ठूलो अण्डा पाँच सय २५ र एक्स–एल पाँच सय ४० रूपैयाँ पुगेको छ।
यसअघि मध्यम अण्डा चार सय ८०, ठूलाे पाँच सय १० र एक्स–एल अण्डा पाँच सय २५ रूपैयाँ थियो। यो किसानले पाउने मूल्य हो। किसानले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढेको छ।
अहिले उपभोक्तालाई मध्यम आकारको अण्डा प्रतिक्रेट पाँच सय ५०, ठूलो अण्डा पाँच सय ८० र एक्स–एल अण्डा ६ सय रूपैयाँ पुगेको बानियाँटारस्थित अण्डा व्यवसायी दिपक कुवँरले जानकारी दिए।
उनका अनुसार यसअघि मध्यम आकारको अण्डा प्रतिक्रेट पाँच सय ३०, ठूलो अण्डा पाँच सय ५० र एक्स–एल अण्डा पाँच सय ८० रूपैयाँमा कारोबार भएको थियो।
यो होलसेल पसलले दिने मूल्य हो। यो मूल्य किराना पसल अनुसार फरक हुनेछ।
अहिले प्रतिगोटा अण्डाको मूल्य भने साढे २२ रूपैयाँ पुगेको छ। यसअघि २० रूपैयाँमा बिक्री भइरहेको थियो।