मोटोपन विशेष गरी उचाइ र तौल अनुसारको बडिमास इन्डेक्स (बिएमआई) निकालेर पत्ता लगाइन्छ।
बिएमआई २५ भन्दा थोरै हुँदा सामान्य मानिन्छ। २५ भन्दा धेरै भए मोटोपन सुरू भएको मानिन्छ। बिएमआई ३८ भन्दा माथि हुन थाल्यो भने त्यो अत्यधिक मोटोपन।
मोटोपनका कारण
मोटोपनको पहिलो कारण खानपिन नै हो। अस्वस्थकर खाना, चिल्लो पदार्थ धेरै खाने, मादक पदार्थ, सुर्तिजन्य पदार्थको सेवनले पनि मोटोपन हुन्छ।
दोस्रो कारण तनाव हो। जसलाई तनाव धेरै हुन्छ, उसको शरीरमा नराम्रो हर्मोन धेरै निस्किन्छ। अनि मोटोपन बढाउँछ।
तेस्रो कारण वंशानुगत हो। जीनको समस्याले गर्दा मोटोपन आफै बढ्दै जान सक्छ।
चौथो कारण शारीरिक गतिविधिको कमी हो। एउटै कुर्सीमा बसेर कम्प्युटरमा धेरै समय काम गर्दा मोटोपन बढ्छ। त्यस्तै राति अबेरसम्म बसेर काम गर्नेहरूलाई पनि मोटोपन हुन्छ। शारीरिक व्यायाम नपुग्नु पनि मोटोपनको कारण बन्न सक्छ।
पाँचौं कारण, कहिलेकाहीँ कुनै औषधिको असरले मोटोपन बढाएको हुन्छ।
शरीरको बोसो, उचाइ र तौल अनुसार नै मोटोपनको वर्गीकरण गर्न सकिन्छ। मोटोपनलाई पहिले सामान्य मानिन्थ्यो। अहिले मोटोपन एउटा रोग मानिन्छ।
मोटोपनले विभिन्न रोग बोलाउन सक्छ। अत्यधिक मोटोपनले मधुमेह (सुगर/डायबिटिज), उच्च रक्तचाप (हाई ब्लड प्रेसर), थाइरोइड, मस्तिष्क घात (ब्रेन स्ट्रोक), हृदयघात (हार्ट अट्याक), कोलेस्ट्रोल अनियन्त्रित, क्यान्सर लगायत हुने सम्भावना हुन्छ। अर्थात् मोटोपनले दीर्घ रोगहरू बढाउँछ।
डायबिटिजले मोटोपन बढाउँछ भने मोटोपनले डायबिटिज बढाउँछ। त्यस्तै प्रेसरले मोटोपन बढाउन सक्छ भने मोटोपनले प्रेसर अनियन्त्रित भएर अरू रोग निम्त्याउन सक्छ। यसरी एउटा रोग सुरू भएर अर्को रोगलाई पनि जोड्ने भएकाले मोटोपन अहिले सबभन्दा ठूलो समस्या बनिरहेको छ।
मोटोपन हुन नदिन के गर्ने?
स्वच्छ, सफा र सन्तुलित खाना खानुपर्छ। जतिखेर पनि खाइरहने गर्नु हुँदैन। गुलियो र कार्बोहाइड्रेट धेरै खान हुँदैन। खानाको मात्रा र सन्तुलन मिलाउनुपर्छ।
त्यस्तै व्यायाम गर्नुपर्छ। लगातार चार–पाँच घन्टा बसेर काम गर्नेले एक–एक घन्टामा कम्तीमा दुई–तीन मिनेट उठेर हिँड्नुपर्छ। त्यस्तो गर्न नसके उठेर शरीर तन्काउनुपर्छ।
हर्मोनको सन्तुलन पनि मिलाउनुपर्छ। दिनभर बसेर काम गर्नेहरूको शरीरमा विभिन्न हर्मोन निस्किन्छन्। यसले मस्तिष्क र मुटुको तनाव बढाउँछ। सुगर र हाइपरटेन्सन (उच्च रक्तचाप) हुन सक्छ।
मोटोपन रोक्न सकियो भने यस्ता धेरै गडबडी रोक्न सकिन्छ।
सन्तुलित भोजन कसरी मिलाउने?
खाना शरीरलाई कति आवश्यक छ भन्ने आधारमा खानुपर्छ। तर यति क्यालोरी खाने भनेर नापेरै खाने चाहिँ हुँदैन। हामी कति क्यालोरी खर्च गर्न सक्छौं, त्यो अनुमान गरेर खानुपर्छ। गुलियो कम हुनुपर्छ।
उदाहरणका लागि हाइकिङ जानु छ भने खाना धेरै खान सकिन्छ। घरमै बस्नु छ भने कम खानुपर्छ। मिठो वा गुलियो धेरै खान मन लाग्यो भने त्यसको क्यालोरी खर्च पनि गर्नुपर्छ।
खाने समय पनि मिलाउनुपर्छ। जस्तै, बिहान नास्ता खाने, त्यसको एक–दुई घन्टापछि खाना खानुपर्छ। चार–पाँच घन्टापछि नास्ता खाने अनि सुत्नुभन्दा दुई घन्टाअघि खानु राम्रो हुन्छ। त्यो बीचमा भोक लाग्यो भने सलाद र पानी खान सकिन्छ।
राति छोटो समयमा पच्ने खाना खानुपर्छ।
मोटोपन भएकालाई रोग लाग्ने सम्भावना धेरै हुन्छ। त्यसैले कम्तीमा ५ देखि १० प्रतिशत तौल घटाउन सकियो भने रोग लाग्ने सम्भावना पनि ५० प्रतिशतले घट्न सक्छ।
(मधुमेह तथा थाइरोइड रोग विशेषज्ञ डा. महेन्द्र अग्रहरी भरतपुर सामुदायिक अस्पतालमा कार्यरत छन्।)