ज्याकेट तथा ब्यागको डिजाइन कपी हुन थालेपछि नेपाली ब्राण्ड 'राइनो लेदर'ले डिजाइन दर्ता गराएको छ।
विभिन्न कम्पनीले हेर्दा राइनो लेदरको जस्तै उत्पादन बजारमा ल्याएपछि बाध्य भएर डिजाइनहरूको ट्रेडमार्क दर्ता गर्नु परेको राइनो लेदरकी निर्देशक अलिशा शाहले जानकारी दिइन्।
'हामीले उच्च गुणस्तरको 'ए' ग्रेड लेदरको प्रयोग गरेर डिजाइनरको सहयोगमा उत्पादन बजारमा ल्याउछौं र केही कम्पनीले हाम्रो डिजाइनको नक्कल गरेर कमसल सामान बजारमा ल्याइरहेका छन्। त्यही कार्य रोक्न उद्योग विभागमा ट्रेडमार्क दर्ता गराएका हौं,' उनले भनिन्।
हालसम्म करिब ४० भन्दा धेरै डिजाइन दर्ता गरिएको उनले बताइन्।
फेरि पनि कसैले राइनो लेदरको डिजाइन कपी गरेर सामान बजारमा ल्याए कानुनी प्रक्रियामा जाने उनले चेतावनी दिइन्।
यदी कसैले यस्तो कार्य गरेमा पेटेण्ड डिजाइन र ट्रेडमार्क एन २०२२ अन्तर्गत वस्तु जफत र ५ लाखसम्म जरिवाना हुन सक्ने कम्पनीले जनाएको छ।
'यो हाम्रो मात्र होइन, सबै राम्रो नेपाली ब्राण्डको समस्या हो। हाम्रो यो कदमले अरु ब्राण्डहरुलाई पनि सहयोग पुग्छ,' शाहले भनिन्।
त्यस्तै, अहिले विभिन्न कम्पनीले आफ्नो ब्राण्डको नाम राइनो लेदरको नामसँग मिल्दोजुल्दो नाम राखेर वा राइनो लेदरकै टिमले बनाएको हो भनेर भ्रम फैलाइरहेकाले त्यस्ता भ्रमबाट सजग हुन उनले आग्रह समेत गरिन्।
राइनो लेदरले हाल लेडिज र जेन्ट्सका ज्याकेट, लेडिज र जेन्ट्सका प्यान्ट, साइड ब्याग, ट्रलिब्याग, ट्राभलिङ ब्याग, ब्याक प्याक, लेडिज पर्स, जेन्ट्स वालेट, ल्यापटप ब्याग, लेडिज र जेन्ट्सका बेल्ट, किरिङ्ग लगाएतका दर्जनौ सामानका साथै विभिन्न प्रकारका कर्पोरेट आइटमहरू उत्पादन गरिरहेको छ।
राइनो लेदरका उत्पादनहरू लाई ए ग्रेडको छालाको प्रयोग गरेर आफ्नै डिजाइनर मार्फत डिजाइन गरिने हुँदा गुणस्तरीय र अरु भन्दा युनिक रहेको कम्पनीको दाबी छ।
२५ वर्ष पुरानो यो कम्पनीको ३ वटा आउटलेट छ भने प्रत्यक्ष रुपमा एक सयभन्दा धेरैले रोजगारी पाइरहेका छन्।
कम्पनीले विशेषत महिला, विपन्न तथा असाहय व्यक्तिहरूलाई रोजगारी दिइरहेको उनले बताइन्।