युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पुर्याउने उद्देश्यले शनिबार 'काठमाडौं युथ कन्क्लेभ २०२४' आयोजना गरिने भएको छ।
युवाहरूलाई जोड्न र आवश्यक नेतृत्व, उद्यमशीलता विकास, व्यवस्थापकीय र औद्योगिक सीपहरूद्वारा सशक्त बनाउनको लागि एक आदर्श प्लेटफर्मको रूपमा कन्क्लेभले आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ।
युनिभर्सल कलेज र फोनेक्श कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा हुने कन्क्लेभले युवालाई उद्यमशीलता, नेतृत्व विकास, नेपालमा अवसर सिर्जना गर्ने, बौद्धिक पलायन रोक्ने र केही हदसम्म प्राज्ञिक विकासमा सहयोग पुग्ने कन्क्लेभका संयोजक राजु टण्डनले जानकारी दिए।
नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा शनिबार बिहान १० बजे सुरू हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रूपमा उपस्थित हुने आयोजकले जनाएको छ।
विद्यार्थीलाई सही दिशानिर्देश गर्न, सामाजिक संलग्नतामा उत्प्रेरित गर्न र परम्परागत शिक्षण विधिमा आवश्यक परिवर्तन ल्याउन कन्क्लेभ सहयोगी बन्ने आयोजकको विश्वास छ।
कार्यक्रममा गीत, संगीत, हास्यव्यङ्ग्यसहित देशका ख्यातिप्राप्त व्यक्तित्वहरूले आफ्ना सफलताका कथा, ऊर्जा र उत्प्रेरणाका विचारहरू प्रस्तुत गर्नेछन्।