हरितालिका तीजका अवसरमा काठमाडौंमा २१औं तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला, २०८१ आयोजना हुने भएको छ।
महिला श्रृजनशील केन्द्रको आयोजना तथा राइजिङ नेपाल प्रालि (इभेन्ट संसार) को व्यवस्थापनमा फेस्टिबल आयोजना हुन लागेको हो।
आयोकका अनुसार तीज मेला बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा आगामी भदौ ७ गतेदेखि ९ गतेसम्म चल्नेछ।
श्रृजनशील महिला दिदीबहिनीहरूलाई सीप र दक्षताको अभिवृद्धि गराई उद्यमशीलता तथा स्वरोजगारतर्फ प्रेरित गर्न यो मेला आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।
'महिला दिदीबहिनीहरूलाई आर्थिक रूपमा सवल बनाई प्रविधिमैत्री वातावरण सिर्जना गरी एक सफल उद्यमी बनाउने लक्ष्यका साथ यो मेला आयोजना हुँदै आएको छ,' महिला श्रृजनशील केन्द्रकी अध्यक्ष मिलु थापाले भनिन्, 'समुदायहरूलाई सीप सिकाई उनीहरूको सिर्जना तथा उत्पादनलाई बजारीकरण गर्न यस मेलालाई अवसरका रूपमा लिन सकिन्छ।'
मेलामा घरेलु तथा हस्तकलाका सामग्रीहरू, महिला उद्यमशीलताका वस्तु तथा सेवाहरू, तिज विशेष खानाका परिकारहरू, निःशुल्क स्वास्थ्य शिविर, मेहन्दी आर्ट तथा उपहारहरू राखिएको छ।
मेलामा ७० वटाभन्दा बढी स्टलहरू रहने र त्यसमा ७ वटा स्टल असहाय, अशक्त, अपाङ्ग र पिछडिएको ग्रामीण क्षेत्रका दिदीबहिनीहरूका लागि निःशुल्क उपलब्ध गराइएको आयोजकले जानकारी दिएको छ।