वरिष्ठ दन्त चिकित्सकद्वय डा.अजय न्यौपाने र डा.सरु थापाले सामाजिक काम गर्ने उद्देश्यले फाउण्डेशन स्थापना गरेका छन्।
स्वास्थ्य, शिक्षा, वातावरण र विपद् व्यवस्थापनमा काम गर्नेगरी डा.अजय एण्ड डा.सरु फाउण्डेशन स्थापना गरेको अध्यक्ष न्यौपानेले बताए।
गरिब, विपन्न र असहायहरुको लागि शिक्षा र स्वास्थ्यमा पहुँच बढाउने, विपद् व्यवस्थापन, वातावरण, कला र संस्कृतिको संरक्षणमा सघाउने लक्ष्य राखेको उनले बताए।
‘ग्रामीण क्षेत्रका बासिन्दाहरुलाई लक्षित गरेर विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्छौं। आँखाको दृष्टि गुमाएका विपन्नको उपचारलाई प्राथमिकतामा राख्छौं। गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने, शिक्षकलाई प्रोत्साहन गर्न पुरस्कार प्रदान गर्ने, वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने, विपद्मा व्यवस्थापन र राहत प्रदान गर्ने, कला, संस्कृतिको जगेर्नामा आवश्यक सहयोग गर्ने योजना छ,’ डाक्टर न्यौपानेले भने, ‘तत्कालका लागि चितवन र आसपासका जिल्लाका गाउँपालिकामा काम गर्छौं। विस्तारै नगरपालिकाका विपन्न परिवारका लागि पनि सहयोग गर्छौं।’
फाउण्डेशनले प्रत्येक वर्ष २० जना छात्रछात्रालाई १० हजार रुपैयाँका दरले छात्रबृत्ति र ५ जना शिक्षकलाई १०/१० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने डा.सरु थापाले बताइन्।
साथै ग्रामीण क्षेत्रका अति विपन्न २० परिवारको स्वास्थ्य बीमाको गर्ने उनले बताइन्। उनीहरूले पुन: प्रयोग गर्न मिल्ने सामग्रीको प्रयोग बढी गरेर वातावरणमैत्री डेण्टलको विकास गर्ने लक्ष्य राखेका छन्।
साथै बालबालिका र युवाहरुलाई खेलकुदमा प्रोत्साहन गर्न आवश्यक सामग्रीमा सहयोग गर्ने र विभिन्न प्रतियोगिता सञ्चालन गर्ने डा.थापाले बताइन्।
फाउण्डेशन सञ्चालनको लागि तत्कालका लागि साइराम डेण्डल केयरबाट १० लाख रुपैयाँको अक्षय कोष निर्माण गरिएको छ। साथै १० लाख रुपैयाँ चालु पूँजीकोरुपमा रहेको उनले बताइन्। अक्षय कोषमा प्रत्येक बर्ष १० लाख रुपैयाँ थप गर्दै १० वर्षमा १ करोड रुपैयाँ पुर्याउने लक्ष्य छ।
चिकित्सक दाम्पत्तीले हालसम्म शिविरमार्फत ३५ हजार जनालाई निःशुल्क सेवा प्रदान गरेको बताए।
‘हामीले हप्तामा सातै दिन मेहनत गरेर केही रकम सामाजिक काममा खर्च गर्दै आएका छौं। आगामी दिनमा पनि कतैबाट पनि आर्थिक सहयोग लिने छैनौं। बरु स्थानीय तहहरू र संघ संस्थाहरुसँग सहकार्य गरेर काम गर्छौं,’ थापाले भनिन्।
डा.न्यौपाने तीस वर्षदेखि दन्त चिकित्सकको रुपमा कार्यरत छन्। उनी भरतपुर अस्पतालका दन्तरोग विभाग प्रमुख हुन्। न्यौपाने र थापाले चितवनको नारायणघाट र टाँडीमा साइराम डेण्टल केयर सञ्चालन गर्दै आएका छन्।