नेपालमा रेमिटेन्स सेवा प्रदान गर्ने प्रमुख संस्था आइएमइले आज (बुधबार)देखि जिएमई रेमिटसँगको मर्जरपछि एकीकृत कारोबार सुरू गरेको छ।
यस मर्जरसँगै आइएमइको रेमिटेन्स बजारमा ५० प्रतिशतभन्दा बढी हिस्सा कायम भएको आइएमइले जनाएको छ।
एकीकृत नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले आइएमइको व्यवसायिक यात्रा र योगदानको प्रसंशा गर्दै भने, 'रेमिटेन्स सेवा प्रदान गर्ने यो संस्था १०० गुणा बढेर अहिलेको अवस्थासम्म आइपुगेको छ। यसलाई थप डिजिटाइज गरेर सुरक्षित बनाउन आवश्यक छ। यसका लागि सुरक्षा व्यवस्थालाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता छ।'
उनले डिजिटल प्रविधिको प्रयोगबाट रेमिटेन्स सेवामा थप सुधार गर्न र हुन्डीलाई निरुत्साहित गर्न जरुरी रहेको बताए।
आइएमईका संस्थापक तथा निवर्तमान अध्यक्ष चन्द्र ढकालले रेमिटेन्स क्षेत्रमा आधा हिसस्ता अगेट्ने गरी ठूलो कम्पनी भएकोमा खुसी व्यक्त गरे।
आइएमईको प्रारम्भिक दिनको स्मरण गर्दै उनले भने, '२००१ मा सानो काउन्टरबाट सुरू भएको यो यात्रा सहज थिएन। नेपालमा रेमिटेन्स सेवा औपचारिक रूपमा उपलब्ध गराउन सुरुवात गरेका हामीले अहिले आइएमइलाई देशकै ठूलो रेमिटेन्स कम्पनी बनाउन सफल भएका छौं।'
उनले आइएमइले नेपालका लागि मात्र नभई विश्वभरका नेपालीका लागि भरोसा योग्य सेवा प्रदान गर्दै आएको र यस मर्जरपछि अझ व्यापक सेवा दिन तत्पर रहेको बताए।
ढकालले कम्पनी सुरू हुने बखतमा आफूले मासिक दुई मिलियन डलर विदेशी मुद्रा भित्र्याउने लक्ष्य राखेको र सरोकारवालाहरूले नपत्याएको स्मरण गरे।
अहिले मासिक दुई सय मिलियन डलरभन्दा बढी रेमिटेन्स भित्र्याएको बताए। आफूहरू जापान बस्ने क्रममा नेपाल पैसा पठाउने क्रममा देखिएको समस्या तथा भोगेको समस्यालाई मध्यनगर गरेर आइएमइको सुरूवात गरिएको उनले बताए।
ढकालले रेमिटेन्स क्षेत्रको सेवा विस्तार गर्ने गरीको नीतिगत व्यवस्था गर्न पनि राष्ट्र बैंकलाई आग्रह गरे। आइएमइ छिटै पब्लिक लिमेटड कम्पनी बनाउने तयारी गरेको उनले बताए।
एकीकृत कारोबार पछिको आइएमइका अध्यक्षले हेमराज ढकाल अझ स्तरीय सेवा प्रदान गर्न केन्द्रित हुने प्रतिवद्धता गरे।
यो मर्जरसँगै आइएमइका निवर्तमान सिइओ खिलेन्द्र पौडेलले भने, 'कम्पनी सुरू गर्दा सानो थियो, तर सपना ठूलो थियो। अहिले हामीले ठूलो उपलब्धि हासिल गरेका छौं। मर्जरसम्बन्धी नीतिगत व्यवस्थाको कार्यान्वयनले हाम्रो व्यवसाय अझ बलियो भएको छ।'
एक करोड चुक्ता पुँजीबाट सुरू गरिएको आइएमइ अहिले करिब एक अर्ब १५ करोडको कम्पनी बनेको उल्लेख गरिएको छ।