इलामको माङसेबुङ गाउँपालिका–२ का खड्गबहादुर कार्कीलाई घरखर्च चलाउन कुनै समस्या छैन।
दुई वर्षअघि मात्रै मलेसियाबाट फर्किएका खड्गबहादुरले आएकै वर्ष अकबरे खुर्सानीको खेती सुरू गरे। त्यही साल ‘बताहा कृषि तथा नर्सरी फार्म’दर्ता गरी अकबरे खुर्सीनीको खेतीमा जुटे।
गत वर्षदेखि अकबरे खुर्सानीले राम्रै आम्दानी दिन थालेको उनी बताउँछन्।
खड्गबहादुरले सुरूवातमा थोरै लगानीमा आफ्नै ४ रोपनी जमीनमा अकबरेखेती गरेका थिए।
पछि आफ्नोसँगै छिमेकीको पनि चार रोपनी जग्गा भाडामा लिएर थप खेती गरेको खड्गबहादुर बताउँछन्।
‘सुरूमा एक हजारमात्र बिरूवा रोपेका थिएँ। भाडामा लिएर थप पाँच हजार बिरूवा रोपेँ। पहिलो पटक नै प्रशस्त उत्पादन भएपछि थप उत्साहित भएको छु,’ उनले भने।
खड्गबहादुरका अनुसार पहिलो पटक नै ११ क्वीन्टल खुर्सानी उत्पादन भएको थियो। उत्पादित खुर्सानीको बजार व्यवस्थापनका लागि पनि समस्या नभएको उनले बताए।
‘प्रतिकिलो २५० रूपैयाँदेखि तीन सयसम्ममा बारीबाटै बिक्री हुन्थ्यो। त्यसकारण यसपालि खेति अझै विस्तार गरेको छु,’ उनले भने।
यसरी वार्षिक १५ लाख रूपैयाँ आम्दानी भएको खड्गबहादुरले बताए।
उनले १० हजार बोट अकबरे विस्तार गर्ने योजनामा रहेको सुनाए। खुर्सानीका साथै उनले गोलभेँडा, भण्टा, बन्दाकोभी, प्याजखेती तथा एभोकाडो र कफीका बिरुवा पनि उत्पादन गर्दै आएका छन्।
एउटा बोटले दुई वर्षसम्म उत्पादन दिने उनले बताए।
‘हरियो खुर्सारी दिनैपिच्छे पनि टिप्न पाइन्छ तर पाकेको भने सातामा दुईपटक टिप्न मिल्छ, एक हजार बोटबाट पहिलोपटक ३० र दोस्रो खेपमा २० केजीसम्म उत्पादन हुन्छ,’ उनले भने।
आफूले उत्पादन गरेको अकबरे खुर्सानी इलाम बजारसहित झापाको दमक र सुनसरीको इटहरीसम्मका व्यापारीले लैजाने गरेको उनले बताए।