शुक्रबार डेनिस ब्रुअर कार्ल्सबर्गले खेतान समूहको सेयर खरिद गर्न लागेको जानकारी दिएको छ।
काल्सबर्गको वेबसाइटमा कम्पनीले यससम्बन्धी जानकारी सार्वजनिक गरेको छ।
शुक्रबार सार्वजनिक भएको सम्झौता अनुसार कार्ल्सबर्ग साउथ एसिया पिटिइ लि.को गोरखा ब्रुअरी प्रालिमा हाल रहेको ९० प्रतिशत सेयर स्वामित्व बढेर ९९.९४ प्रतिशत पुग्ने भएको छ।
हाल कार्ल्सबर्ग इण्डिया पिटिइ लि.मा भारतको शत प्रतिशत लगानी छ। गोरखा ब्रुअरी प्रालिमा लगानी भएसँगै कार्ल्सबर्ग साउथ एसिया पिटिइ लिले यहाँको ९९.९४ प्रतिशत व्यवसाय आफू मातहत आउने उल्लेख गरेको छ।
काल्सबर्ग नेपालको बेवसाइटमा उदृत कार्ल्सबर्गका ग्रुपका सिइओ ज्याकोभ आरुप एण्डरसनको भनाइमा उल्लेख छ, 'हाम्रो साझेदारसँग यो सौहार्दपूर्ण सम्झौता हुन सकेको र यससँगै एसियाका दुई महत्त्वपूर्ण व्यवसायमा पूर्ण नियन्त्रण पाएकोमा हामी खुशी छौं।'
यो प्रस्तावित कारोबार ७४ करोड ४० लाख डलर (करिब एक खर्ब ३ अर्ब रूपैयाँ) बराबरमा हुने भएको छ।
नेपालमा हुने कारोबारको लागि यहाँको सरकारसँग अनुमति लिन बाँकी रहेको र त्यो सबै सक्दा यो कारोबार सन् २०२४ को अन्त्यसम्ममा सम्पन्न भइसक्ने उल्लेख गरिएको छ।