विदेश जानेमात्र होइन, स्वदेशमै उद्यम गर्नुपर्छ भन्ने मानसिकता विस्तारै युवाहरूमा विकसित हुँदै गएको छ। विभिन्न तालिम प्रदायक संस्थाबाट तालिम लिई व्यवसाय सञ्चालन गर्दै आएका व्यक्तिहरूको संख्या पनि बढ्दो क्रममा छ।
प्यारीमाया लिम्बू झपाको बुद्धशान्ति–४ मन्दिरचोकमा ढाकाको उद्यम गर्छिन्। एपिएस ढाका ट्रेनिङ सेन्टरका नाममा घरेलु तथा साना उद्योग चन्द्रगढी झापामा उद्योग दर्ता गराएर उनी व्यवसायसँगै ढाकाको क्षेत्रमा काम गर्ने नयाँ व्यक्तिलाई तालिम पनि दिन्छिन्।
हालसम्ममा उनले आफ्नो उद्योग र स्थानीय तह, घरेलुलगायत विभिन्न सङ्घसंस्थामार्फत ३ सयभन्दा बढी मानिसलाई ढाकासम्बन्धी तालिम दिइसकिन्।
‘तालिम लिएका अधिकांश व्यक्ति सानोतिनो भए पनि उद्यम गरिरहेका छन्, कोही पनि खाली हात बस्नुपरेको छैन,’ उनले भनिन्।
बजारको माग धेरै रहेकाले आफूले पनि मागअनुसार ढाकाका कपडा बनाउन नसकेर कहिलेकाहीँ माग नै स्थगन नै गर्नुपरेको उनी बताउँछन्।
ढाकासम्बन्धी सीप सिकेपछि कोही पनि बेरोजगार बस्नुपरेको छैन। घरको सबै काम गरेर आफ्नै घरमा यो उद्यम गर्न सकिने भएकाले धेरैजसो महिला यसमा लागेका उनी बताउँछन्।
उनको उद्योग पनि घरमै छ। छतमा बाँसको घेरबार हालेर त्यहीँ ढाकासम्बन्धी उद्योग चलाएकी छन्।
‘वार्षिक ४ लाखभन्दा बढी रकम मुनाफा हुन्छ,’ उनले भनिन्।
उनले तीनजना युवतीलाई काम पनि दिएकी छन्। घरको अन्य काम सकेर फुर्सदको समयमा मिल्ने भएकाले आफू एकदमै सन्तुष्ट रहेको उनी बताउँछन्।
‘साथीभाइ, आफन्तको विवाह समारोह, व्रतबन्ध, जन्मदिन समारोह, घुमफिर सबैतिर सहभागी पनि हुन्छु। फुर्सदको समयमा गरेको कामबाट यतिको आम्दानी घरमै बसेर गरिरहेकी छु, यो भन्दा के चाहियो,’ उनी भन्छिन्।
उनको एपिएस ढाका ट्रेनिङ सेन्टरमा ढाकाको दौरा सुरुवाल, सारी, टोपी, चोली, पछ्यौरी, हाफसल, कोट, गलबन्दी, खाँडीका कपडा तान लगाउनका साथै ढाकासम्बन्धी उद्यम गर्ने मानिसलाई तालिमका साथ कामसमेत दिने गरेको प्यारीमाया बताउँछिन्।
ढाका उद्यमको सुरुआत
प्यारीमायाले २०६१ सालतिर झापाको दमकमा सञ्चालित सानो उद्योगमा ढाकासम्बन्धी तालिम लिएकी थिइन्। त्यहीँबाट पाँच हजार रूपैयाँमा तान किनेर आफ्नै घरमा ढाकाको काम सुरु गरेकी थिइन्।
‘सुरुमा गाउँकै दिदी नाता पर्नेलाई व्यवसायमा साझेदारी गरी बुद्धशान्तिमा उद्यम सुरु गरेँ। दुवैजना मिलेर विस्तारै व्यावसाय पनि बढाउँदै लगेर चार वर्षसम्म साझेदारीमा काम गरेँ । पाँच हजारको एउटा तान किनेर सुरु भएको उद्यमबाट कमाएको रकमबाहेक लगानीका लागि अन्य स्रोत खोज्नु परेन । त्यहीबाट भएको आम्दानीले अन्य स्रोतहरु जोड्दै गयौँ,’ प्यारीमायाले भनिन्।
२०६५ सालतिर घरबाट अनमी पढ्नुपर्छ भन्ने कुरा उठेपछि पढ्ने सोच बनाएको प्यारीमायाले बताइन्।
चार वर्षमा खर्च कटाएर दुवैजनालाई दुई लाख र चारवटा तान भागमा पर्यो। आफ्नो भागमा परेको चारमध्ये तीनवटा तान बिक्री गरी एउटा घरमै छाडी करिब दुई वर्ष अनमी पढाइका लागि काठमाडौं गएको प्यारीमाया बताउँछिन्।
उनका अनुसार अनमी पढ्ने बेलामा लागेको सबै खर्च आफैले ढाकाको काम गर्दा बचत भएको पैसाले पुगेको थियो।
अनमीको पढाइपश्चात झापा फर्किएपछि सुवासचन्द्र राईसँग बिहे भयो। बिहेपश्चात कन्काई अस्पतालमा प्यारीमायाले जागिर सुरू गरिन्। तर त्यसबाट सन्तुष्ट हुन नसकिएको उनले बताइन्।
‘बिहानदेखि सँझसम्म काम गर्यो, आवतजावत गर्न बसभाडा अनि खाजा खर्च कटाउँदा महिनामा एक/दुई हजारमात्र बचत हुन्थ्यो। घरबाट पनि कस्तो जागिर गरेको भनेर दबाब आउन थाल्यो, आफूलाई पनि चित्त नबुझेपछि पुनः आफ्नो पुरानै पेसामा फर्किएँ,’ प्यारीमायाले भनिन्।
घरमा एउटा तान राखेकी थिइन्। त्यही तानबाट फेरि काम सुरू गरेको प्यारीमाया बताउँछिन्। त्यसपछि घरेलु, स्थानीय पालिकाअन्तर्गत लघुउद्यममा ढाकासम्बन्धी थप तालिम लिने र दिने अवसर जुट्दै गएको उनले बताइन्।
विसं २०७३ मा घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता नै गराएर काम सुरु गरेँ। यो काममा श्रीमानको पूर्ण सहयोग प्राप्त भएको प्यारीमायाको भनाइ छ।
उद्योगमा दर्ता भएपछि घरेलु तथा गाउँपालिकाले तानहरू अनुदानमा दिएकाले त्यसले झनै उद्यम गर्न प्रेरित गरेको प्यारीमाया बताउँछिन्।
‘घरको काम, समाजिक कामसँगै घरमै बसीबसी पैसा कमाउन सकिन्छ भने यो पेसा किन नगर्ने?,’ उनले भनिन्।
आफूले तालिम दिएका सबै दिदीबहिनीले आफूले जस्तै घरमै ढाकासम्बन्धी उद्यम गरिरहेको र यसबाट मनग्य आम्दानी भइरहेको प्यारीमाया बताउँछिन्।