नेपालभर करिब ५०० सहकारी संस्थालाई प्रविधि मैत्री बनाइसकेको कम्पनी एम बैंक–मोबाइल बैंकिङ र नेपालको नम्बर १ रेमिट कम्पनी आइएमई लिमिटेडबीच सम्झौता भएको छ।
सम्झौतासँगै एम बैंकसँग आबद्ध सहकारीका सदस्यहरूले आइएमई रेमिटेन्समार्फत पठाएको पैसा सिधैं आफ्नो खातामा जम्मा गर्न सक्ने भएका छन्।
मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम एम बैंक मार्फत सहकारीका सदस्यहरूले सिधैं आफ्नो खातामा पैसा जम्मा गर्न सक्नेछन्।
जसका लागि आइएमई र एम बैंक टेक्नोलोजीबीच शुक्रबार सम्झौता भएको छ।
आइएमईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र एम बैंक टेक्नोलोजीका संस्थापक तथा प्रबन्ध निर्देशक सञ्जय महासेठले सम्झौतामा हस्ताक्षर गरे।
एम बैंकले नेपालभरका करिब ५ सय सहकारी संस्थालाई मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम प्रदान गरिरहेको छ। एम बैंकसँग आबद्ध सहकारीहरूले रेमिटेन्सको रकम सिधैं आफ्नो सहकारीको खातामा प्राप्त गर्न सक्नेछन्।
मोबाइलबाटै आफ्नै सहकारीको खातामा रेमिटेन्स रकमको भुक्तानी लिन सकिने यस व्यवस्थाले धेरै सदस्यहरू लाभान्वित हुने विश्वास एम बैंकले लिएको प्रमुख महासेठले जानकारी दिए।
शुक्रबारबाट ९औं वर्षमा प्रवेश गरेको एम बैंक सहकारी क्षेत्रमा लोकप्रिय मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम कम्पनी हो।
स्थापना दिवसकै अवसरमा आइएमईसँग सहकार्य गरी रेमिटेन्स सेवालाई सुरुवात गरिएको हो।
एम बैंकमार्फत् सहकारीका सदस्यलाई आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर गर्न, व्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको जानकारी लिन, फोन, नेट, टिभी, रिचार्ज गर्ने, डिजिटल वालेट लोड गर्न सकिने, विजुलीको विल, खानेपानी बिल भुक्तानी गर्ने, बस तथा हवाई टिकट, होटल बुक गर्न, क्युआर भुक्तानी गर्ने, विभिन्न सरकारी सेवाको भुक्तानी गर्ने लगायतका अरु विभिन्न सेवाहरू सहजै लिन सक्नेछन्।