होटल पौवा प्रालीले सिन्धुलीको मुलकोटमा र खोटाङको हलेसीमा पौवा रिसोर्ट सञ्चालनमा ल्याएको छ।
कम्पनीले बुधबार एक कार्यक्रम आयोजना गरी एकैसाथ दुई ठाउँमा रिसोर्ट सञ्चालनमा ल्याएको जानकारी गराएको हो।
कम्पनीका अनुसार दुई वटै रिसोर्ट ४५/४५ रोपनी क्षेत्रफलमा बनाइएको छ। मुलकोटस्तिथ पौवा रिसोर्ट ५० करोड र हलेसीस्थित पौवा रिसोर्ट ५० करोड लगानीमा बनाइएको हो।
नेपालको पर्यटन उद्योगलाई थप उचाईंमा पुर्याउनका लागि 'मिसन एक सय'को योजना सहित अगाडि बढेको कम्पनीका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए।
'आठ वर्षदेखि पर्यटक उद्योगलाई विस्तार गर्नका लागि होटलमा लगानी गरिरहेका छौं,' उनले भने, 'काठमाडौंदेखि ९० किलोमिटरको दुरीमा रहेको सिन्धुलीको मुलकोट पर्यटकका लागि उत्कृष्ट गन्तव्य हो।'
खोटाङको हलेसी महादेव किराँत, बौद्ध र सनातन हिन्दुहरूको संगमस्थल भएकाले आन्तरिक र बाह्य धर्मालम्बीहरूलाई लक्षित गरी हलेसी तुवाचुङ नगरपालिकामा रिसोर्ट सञ्चालनमा ल्याइएको उनले बताए।
'जहाँबाट अतिथ्यताको सुरूआत हुन्छ' भन्ने मुल नाराको साथ कम्पनीले हालसम्म १५ रिसोर्ट सञ्चालनमा ल्याइसकेको छ।
रूपन्देहीको भैरहवा र बुटवल, कपिलवस्तुको गोरूसिंगे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुंगा, सुदूरपश्चिमको धनगढी, पोखरा, गौशालामा पौवा रिसोर्ट खुलिसकेको छ।
पौवाको ड्रिम प्रोजेक्टको रूपमा कैलाश मानसरोवर यात्राको मुख्य प्रवेशद्वार नेपालगञ्जमा पाँचतारे होटल ‘पौवा वेस्ट्रन’को निर्माण भइरहेको कम्पनीले जानकारी दिएको छ।
पौवाले अहिलेसम्म तीन वटा मोडेलमा सेवा विस्तार गरिरहेको छ। जसअन्तर्गत पहिलो मोडलमा आफ्नै लगानी र स्वामित्वमा सेवा दिने, दोस्रो स्थानीय साझेदारसँग संस्थागत साझेदारीमा सेवा दिने र तेस्रो व्यवस्थापन जिम्मा लिएर पौवाको ब्राण्डमा सेवा दिइरहको छ।