शाकाहारी खाना मात्र उपलब्ध गराउँदै आएको मास्टर सेफ सन्तोष साहको गौशालास्थित रेस्टुरेन्टमा साउन महिनाभर लसुन र प्याज समेत नराखी मिथिला थाली खान पाइने भएको छ।
सेफ सन्तोषले भने, 'गौशालाको मिथिला थाली यसै पनि शाकाहारी रेस्टुरेन्ट हो, तर साउन महिनाभर पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजन तथा शुद्ध शाकाहारीलाई लक्षित गरी प्याज र लसुन बिनाको मिथिला थाली उपलब्ध गराउन लागिएको हो।'
साउनमा मन्दिर दर्शन गर्नका लागि पनि गाह्रो हुन्छ, घण्टौ लामबद्ध भइ दर्शन गरेपछि भक्तजनहरूका लागि आराम गर्न र भोक मेट्नका लागि मिथिला थाली उपयुक्त गन्तव्य हुने उनको विश्वास छ।
उनका अनुसार जनकपुर, ललितपुरको झम्सिखेल र काठमाडौंको गैरीधारामा सञ्चालित मिथिला थालीमा सबै परिकार पाइने भए पनि गौशालाको मिथिला थालीलाई शाकाहारी रेस्टुरेन्टका रूपमा सञ्चालन गरिएको हो।
शाकाहारी मिथिला थालीमा १७ प्रकारका परिकार पाइन्छ। जसमा तिल र आलसले झानेको सलाद, आलुको चोखा, कडिबडी, बिरिया, मौसमी तरकारी, रहरको दाल, भात, दही, घ्यू रोटी, तिलौरी, तरुवालगायत चार प्रकारका अचारले थाली भरिएको हुन्छ।
रेष्टुराँमा चार सय रूपैयाँमा मिथिला थाली, पाँच सय रूपैयाँमा मिथिला थाली विथ मसरुम, पाँच सय ५० रूपैयाँमा मिथिला थाली विथ पनिर र आठ सय ५० रुपैयाँमा मिथिला थाली प्रिमियम उपलब्ध छ।
साउनलाई भगवान शिवको महिना मानिन्छ। साउन महिनाभर पशुपतिनाथ मन्दिरमा नेपाली र भारतीय भक्तजनको दर्शन गर्नेको ठूलो भिड लाग्छ। भक्तजनहरूको आवश्यकतालाई लक्षित गरी उनीहरूको सुविधाका लागि शुद्ध शाकाहारी भोजन तयार हुने सेफ सन्तोषले बताए।