उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुधार योजना बनाउन सुरू गरेको छ।
नयाँ सरकार गठन भएसँगै प्रधानमन्त्रीको निर्देशन अनुसार सुधार योजना बनाउन सुरू गरिएको मन्त्रालयका प्रवक्ता चण्डी प्रसाद घिमिरेले जानकारी दिए।
'जताततै निराशा छाएको छ। उत्साह जगाउने गरी प्रधामन्त्रीबाट भएको निर्देशन अनुसार योजना बनाउन सुरू गरेका छौं,' उनले भने।
सोही निर्देशन अनुसार मन्त्रालयले आइतबार उद्योगीहरूको छाता संगठनसँग छलफल गरेको छ। छलफलमा नीतिगत, संरचनागत, कानुनी, निर्यात प्रवर्द्धन, आयात विस्थापन, औद्योगिक पूर्वाधार लगायतका विषयमा गर्न सकिने सुधारबारे कुरा उठाइएको थियो।
आगामी दिनमा मन्त्रालयले वस्तुगत छाता संगठन, पूर्व सचिव, विज्ञहरूसँग छलफल गरिने सुधार योजना कार्य प्रतिवेदन तयार गरी एक महिनाभित्र प्रधानमन्त्री कार्यालयमा बुझाइने उनले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा सम्बोधन गर्ने क्रममा तीन महिनाभित्र योजना बनाएर कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएका छन्।