स्यानिटेसन सामग्री उत्पादक हिमगिरी हाइजिन प्रालिले उद्योगमा एक अर्ब लगानी थप्ने भएको छ।
शनिबार विराटनगरमा कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई उद्योगको ‘ब्रान्ड एम्बेसडर’ घोषणा गर्दै उद्योगले लगानी थप्ने जानकारी दिएको हो।
उद्योगका अध्यक्ष महेश जाजुले स्याम्पु, ब्यूटीसोप, डिटरजेन्ट पाउडर लगायतका सामग्रीहरू उत्पादन गर्न कम्पनीले थप एक अर्ब रूपैयाँ लगानी गर्ने तयारी गरेको जानकारी दिए।
कम्पनीलाई अझ उत्पादनमा केन्द्रीत गर्दै लैजान र स्वदेशमै रोजगारी बढाउन लगानी थप्ने तयारी भएको उनको भनाइ छ।
हिमगिरी हाइजिन प्रालिले १८ वर्षअघि हिमालयन सोप नामको रुग्ण उद्योग खरिद गरेर हिमगिरी सोप एण्ड केमिकल प्रालिका रुपमा सञ्चालन गरेको थियो। उद्योगले साबुन, डिटरजेन्ट पाउडर, ट्वाइलेट सोपलगायतका ब्रान्डहरू उत्पादन गर्दै आएको छ।
यस उद्योगबाट उत्पादित धोनी लगायतका विभिन्न ब्राण्डका साबुनहरू भारत र भुटानमा पनि निर्यात भइरहेको जाजुले जानकारी दिए।
'हाम्रो लोकप्रिय धोनी र घरघरमा हिमगिरीको नारालाई सार्थक बनाउन वरिष्ठ कलाकार महजोडीलाई हिमगिरी हाइजिन ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेका छौं,' जाजुले भने, 'देशलाई आत्मनिर्भर बनाउन अरु १ अर्बभन्दा बढी लगानी थप्दै अरु हजारौंलाई रोजगारी सृजना गर्ने लक्ष्य लिएका छौं।'
हिमगिरी हाइजिनले आफ्ना चार सयभन्दा बढी वितरकमार्फत धोनी र एक्स्ट्रा साबुन नेपाली उपभोक्तालाई सेवा पुर्याउँदै आएको उनले बताए।
शनिबार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यकै उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको छ।
हिमगिरीले कोभिड-१९ को महामारीको समयमा सेनिटाइजर, मास्क, फेस सिल्ड, पिपिइ, ह्याण्ड वास, डिसइन्फेक्टेड र अक्सिजन लगायतको उत्पादन सुरू गरेको थियो। कोभिडकै समयमा कम्पनीले ४२ लाख रूपैयाँ बराबरको मास्क निःशुल्क उपलब्ध गराएको दाबी गरेको छ।
कम्पनीका प्रबन्ध निर्देशक प्रकाश मुन्दडाले विदेशी उत्पादनभन्दा स्वदेशी उत्पादन नै किन्ने वातावरण बन्दै जानुपर्ने बताए।
उनले विषम अवस्थामा पनि हिमगिरी हाइजिनले रोजगारीको अवसर सिर्जना गरेको भन्दै जसका कारण युवा पलायन रोकिन मद्दत पुगेको दाबी गरे।