चौधरी ग्रुप मातहतको सिजी फुड्स नेपालद्वारा उत्पादित वाइवाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान)लाई १० लाख रूपैयाँ हस्तान्तरण गरेको छ।
आइसिसी टी–२० विश्कपमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरुप सिजी फुड्सले गरेको घोषणा अनुसार उक्त रकम हस्तान्तरण गरिएको हो।
नेपाल राष्ट्रिय टिम टी–२० विश्वकपमा सहभागी बनिरहदा खेलाडीहरूलाई प्रोत्साहन स्वरुप वाइवाइले प्रत्येक रनका लागि एक हजार, प्रत्येक चौकाका लागि आठ हजार, प्रत्येक छक्काका लागि १२ हजार रूपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो।
त्यसैगरी, प्रत्येक विकेटका लागि १५ हजार, प्रत्येक अर्धशतक बापत ५० हजार, प्रत्येक शतक बापत एक लाख र नेपाली टिमको प्रत्येक जितमा एक लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने पनि घोषणा गरेको थियो।
त्यसैगरी सुपर आठमा पुगेमा राष्ट्रिय टिमका लागि ३० लाख रूपैयाँ उपलब्ध गराउने वाइ वाइको घोषणा थियो।
सोही घोषणा बमोजिम विश्वकपमा नेपाली टिमको समग्र प्रदर्शन अनुसार सम्पूर्ण रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाहरूको २ लाख १६ हजार, छक्काहरूको १ लाख ८ हजार गरी ९ लाख ४४ हजार भएकोमा उक्त रकममा ५६ हजार थप गरी दश लाख रूपैयाँ हस्तान्तरण गरेको हो।
बुधबार आयोजित समारोहबीच सिजी फुड्सका सिइओ प्रदीप पुडासैनीले क्यानका सचिव पारश खड्कालाई उक्त रकमको चेक हस्तान्तरण गरे।
उक्त अवसरमा बोल्दै सिइओ पुडासैनीले टी–२० विश्वकपमा सहभागी राष्ट्रिय टिममा आवद्ध खेलाडीहरूलाई नेपालको राष्ट्रिय झण्डा विश्वकपको मैदानमा फहराउन सफल भएकोमा बधाई एवं धन्यवाद दिए।
'चौधरी ग्रुपले नेपाली क्रिकेटको फाउण्डेसन निर्माणमा योगदान गर्दै आएको छ। अहिले हाम्रो राष्ट्रिय टिम टी–२० विश्वकपमा खेल्नुलाई म ठूलो उपलब्धी मान्छु,' पुडासैनीले भने, 'निकट भविष्यमा नेपाली राष्ट्रिय टिमले महत्वपूर्ण उपाधि सहित नेपाललाई गौरवान्वित गराउनेछ भन्नेमा मलाई विश्वास छ।'
चौधरी ग्रुपले आगामी दिनमा पनि नेपाली क्रिकेटको विकासमा सहयात्रा गर्ने उनको भनाइ छ।
क्यानका सचिव पारस खड्काले नेपालीे क्रिकेटलाई जगैदेखि बलियो बनाउन चौधरी ग्रुपले पुर्याउँदै आएको योगदान उच्च रहेको बताए।
नेपाल आइसिसी टी–२० विश्वकपमा खेल्न सफल भएको अवसरमा लामो समयदेखि पुरूष अन्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइवाइले महिला अन्डर–१९ क्रिकेट टिमलाई समेत प्रायोजन बापत ३० लाख तथा अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि ३० लाख गरी जम्मा ६० लाख रूपैयाँ नेपाल क्रिकेट संघलाई सहयोग गर्ने घोषणा पनि गरेको छ।
उक्त रकम क्यानसँगको समन्वयमा निकट भविष्यमा हस्तान्तरण गरिनेछ कम्पनीले बताएको छ।