यो वर्ष अत्यधिक गर्मी छ।
गर्मीबाट बच्न हामी कुलर पनि प्रयोग गर्न सक्छौं। गर्मीयाममा कोठा चिसो बनाउन कुलर उपयोगी सामग्री हो।
कुलर मुख्यतः घर, कार्यालय अथवा कुनै निश्चित स्थानको तापक्रम सन्तुलनमा राख्नका लागि प्रयोग गरिने विद्युतीय उपकरण हो।
बजारमा कस्ता–कस्ता किसिमका कुलर पाइन्छ? कहाँ पाइन्छ? कतिमा पाइन्छ? कसले बेच्छ? यसबारे हामी चर्चा गर्ने छौं।
बजारमा लेजर, सिजी, सेन्सेइ, गोदरेज, क्रम्पटन, हिमस्टार, माइडिया, एलजी लगायत ब्राण्डका कुलर पाइन्छ। कुलर मुख्यतः टावर, पर्सनल र डेजर्ट गरी तीन प्रकारका हुन्छन्।
ब्राण्ड र प्रकार अनुसार मूल्य तय हुन्छ।
ती मध्ये क्रम्पटन, माइडिया, एलजी प्रिमियम ब्राण्ड हो भने लेजर, सिजी, सेन्सेइ, हिमस्टार लगायत ब्राण्डका कुलर तुलनात्मक रूपमा सस्ताे रहेको इमाडोलस्थित पावर इन्टर प्राइजेजका सञ्चालक रोशन बोगटीले बताए।
'प्रायजसो ग्राहकले प्रिमियम रूचाउँछन्,' उनले भने।
उनका अनुसार कुलर २५ लिटरदेखि २ सय लिटरसम्मको हुन्छ।
त्यसमध्ये घरायसी प्रयोजनका लागि २५ देखि ५० लिटरसम्मका कुलर उपयुक्त मानिन्छन्। परिवारको संख्या ठूलो छ भने ८० लिटरसम्म पनि प्रयोगमा आउँछन्।
यसको मूल्य ब्राण्ड अनुसार १० हजारदेखि ३५ हजारसम्म पर्छ। ५० लिटरभन्दा माथिका कुलरको मूल्य भने ४५ हजारदेखि ७० हजारसम्म पर्छ।
अध्यधिक गर्मीका कारण यो वर्ष कुलरको माग धेरै बढेको उनको अनुभव छ।
'गतवर्षभन्दा अहिले माग एकदमै बढी छ। पोहोर ५/७ वटा कुलर बेचेका थियौं,' उनले भने, 'अहिले १५/२० वटा बेचिसक्यौं।'
अहिले उनको पसलमा कुलरको मौज्दात सकिएको छ। ग्राहकको मागका आधारमा भने ल्याउन सकिने उनी बताउँछन्।
'अब विस्तारै पानी पर्न सुरू गर्छ जस्तो छ,' उनले भने, 'ल्याएर बिक्री भएन भने मौज्दात रहनुभन्दा ग्राहकको मागका आधारमा ल्याउँछौं।'
उनले सिजी, गोल्छा र अन्य कम्पनीहरूले कुलर बेच्दै आएका छन्।
गोदरेज, सिजी, सेन्सेइ र क्रम्पटन ब्राण्डका कुलर सिजी डिजिटलमार्फत् बिक्री हुन्छ।
विशालनगरमा भाटभटेनी अगाडि, त्रिपुरेश्वरमा वर्ल्ड ट्रेड सेन्टरको पहिलो तला, रविभवन, बालाजु चोक, सितापाइलास्थित ताम्राकार हाउस, ललितपुरमा ग्वार्को चोक, भक्तपुरमा गठ्ठाघर तथा राधेराधेमा सिजी डिजिटलका बिक्री केन्द्र छन्।
सिजी डिजिटलका नायव महाप्रबन्धक विष्णु ज्ञवालीका अनुसार खुद्रा पसलहरूसमेत गरी काठमाडौं उपत्यकामा करिब सय वटा पसलबाट बिक्री गरिन्छ।
टावर कुलर सबैभन्दा सस्तो कुलर हो। यो नाम जस्तै अग्लो र पातलो हुन्छ। यसले त्यति धेरै हावा फ्याँक्दैन। यो विशेषगरी पसलहरूमा प्रयोग हुन्छन्। यसको क्षमता २० देखि ५० लिटरसम्म हुन्छ। यसको मूल्य १२ हजादेखि २२ हजार रूपैयाँसम्म पर्छ।
पर्सनल कुलरमा टावर कुलरको तुलनामा क्षमता र मूल्य दुबै बढी हुन्छ। यो बढीजसो घरायसी प्रयोजनमा खपत हुन्छ। यसको क्षमता ३५ देखि ५० लिटरको हुन्छ। यसको मूल्य १२ हजार देखि २३ हजारसम्म पर्छ।
डेजर्ट कुलर सबैभन्दा बढी माग भएको कुलर हो। यसको क्षमता ५० देखि ८० लिटरको हुन्छ। यसको मूल्य २५ हजारदेखि ७० हजारसम्म पर्छ।
हिमस्टार ब्राण्डका कुलर गोल्छा अर्गनाइजेसन अन्तर्गत स्विच अनले बिक्री गर्छ। हिमस्टार ब्राण्डमा पनि यी तीनै प्रकारका कुलर पाइन्छ।
गोदरेज ब्राण्डको भने डेजर्ट कुलर मात्रै पाइन्छ।