फोनपेले भारतीय यात्रुहरूद्वारा नेपालभरी युपिआई (युनिफाइड पेमेन्ट्स इन्टरफेस) को प्रयोगमा ठूलो वृद्धि भएको घोषणा गरेको छ।
२०२४ फेब्रुअरी २८ मा सुरू भएदेखि युपिआइको प्रयोगबाट २५ करोड रूपैयाँभन्दा बढी रकमको कारोबार भएको छ र ७७ वटै जिल्लामा १ लाखभन्दा बढी कारोबार भएका छन्।
यो वृद्धि भारतीय पर्यटकहरू नेपाल भ्रमणको योजना बनाइरहेका समयमा भएको फोनपेको भनाइ छ। यस वर्ष उच्च संख्यामा भारतीय पर्यटकहरू नेपाल आउने अपेक्षा गरिएको छ।
युपिआई भुक्तानीले मुद्रा साट्ने वा नगद बोक्ने आवश्यकता हटेको छ भने यात्रा गर्न पनि सहज भएको छ।
फोनपे नेटवर्कमार्फत् युपिआई भुक्तानीको सजिलो, सुरक्षा, र तत्काल सेवाले भारतीय पर्यटकहरूको कारोबारमा वृद्धि ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ, जसले नेपाल भ्रमणलाई अझ सुविधाजनक र रमाइलो बनाएको छ।
यो सहज भुक्तानी समाधानले नेपाललाई भारतीय यात्रुहरूका लागि बिगतको भन्दा अझै बढी रुचाइएको गन्तव्य बनाएको बताइएको छ।
बलियो बैंक तथा वित्तीय संस्था (बिएफआई) नेटवर्क सहित फोनपेले नेपालमा युपिआई भुक्तानीको सुविधा दिने क्षेत्रमा अग्रस्थान लिएको छ।
अहिले, नेपालको ८० प्रतिशत क्युआर कोड प्रणालीले फोनपेमार्फत् युपिआई भुक्तानी लिन सक्छ।
फोनपेले सञ्चालन गरेको क्युआर र भुक्तानी प्रणालीले नेपालका सबै ७७ जिल्लामा युपिआई भुक्तानी स्वीकार गर्न सक्षम बनाएको छ।
फोनपेले सञ्चालन गरेको विस्तृत नेटवर्कमा बैंक र पेमेन्ट सेवा प्रदायकहरू (पिएसपी) समावेश छन्, सबैको साझा प्रयासमा देशभरी युपिआई भुक्तानी सजिलै उपलब्ध भएको छ।
जसले गर्दा यो प्रविधि छिटो लोकप्रिय हुन सफल भएको कम्पनीले जनाएको छ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमारले भने, 'नेपालमा युपिआई भुक्तानीलाई ग्राहकहरुले यसरी छिट्टै अपनाउदा यसले सहज र सुरक्षित डिजिटल भुक्तानीको बढ्दो माग भएको देखिएको छ। हामी यस डिजिटल परिवर्तनमा प्रमुख भूमिका खेल्न र नेपाली नागरिकहरू र भारतीय यात्रुहरुलाई सहज भुक्तानी विकल्प दिन पाउँदा धेरै खुशी छौं।'
आगामी दिनहरूमा, फोनपेले नेपाली नागरिकहरूले भारतमा पनि युपिआई भुक्तानी गर्न सकुन् भनेर प्राविधिक र सञ्चालन तयारी पूरा गरिसकेको छ।
यसका लागि फोनेपे नेपाल राष्ट्र बैंकको अनुमतिको प्रतीक्षामा छ।