यो वर्ष गर्मी अत्यधिक बढेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गत शनिबार काठमाडौंको तापक्रम ३५.३ डिग्री सेल्सियस मापन गरिएको थियो।
गर्मी याममा कोठा चिसो बनाउन प्रयोग गरिने सामग्रीमध्ये एयर कन्डिसनर (एसी) मुख्य सामग्री हो। एसी मुख्यतः घर, कार्यालय अथवा कुनै निश्चित स्थानको तापक्रम सन्तुलनमा राख्नका लागि प्रयोग गरिने विद्युतीय उपकरण हो।
बजारमा कस्ता–कस्ता किसिमका एसी पाइन्छ? कहाँ पाइन्छ? कतिमा पाइन्छ? कसले बेच्छ?
बजारमा धेरै प्रकारका एसीहरूको प्रयोग र माग हुने गरे पनि बढी चलेका एसी ब्रान्डहरूको विषयमा यहाँ चर्चा गरिएको छ।
अहिले मुख्यतः सामसङ, हिमस्टार, बाल्ट्रा, सिजी, टिसिएल, डेको र गोदरेज ब्राण्डका एसीहरूको माग बढी देखिन्छ।
एसीको मूल्य तौल र ब्राण्डको आधारमा निर्धारण गरिएको हुन्छ। सामान्यतः ५० हजारदेखि एक लाख ५० हजार रूपैयाँसम्मका एसी रहेका छन्।
बाल्ट्रा ब्राण्डका बिक्री प्रतिनिधि राजन बज्रचार्यले आफूसँग अहिले एक टनको मात्रै एसी उपलब्ध भएको बताए। उनले काठमाडौंको टेकुमा साल्ट ट्रेडिङ अगाडि रहेको पसलबाट बिक्री गर्दै आएका छन्।
बाल्ट्राले इन्भर्टर र नन् इन्भर्टर एसीहरू बिक्री गर्छ। इन्भर्टर एसीको मूल्य न्यूनतम ७८ हजार र नन् इन्भर्टरको ६६ हजार रूपैयाँ रहेको छ।
इन्भर्टर एसी चलिरहेको समयमा बिजुली गयो भने पनि तत्काल बन्द हुँदैन। अन्य उपकरणले जस्तो सुरू हुँदाको अवस्थामा समेत बढी विद्युत खपत गर्दैन।
यो एसीलाई कोठाको तापक्रम समान बनाउन विस्तारै घुमाउन मिल्ने गरी राख्न सकिने उनले बताए। त्यस्तै बिजुली आएपछि पहिले नै निश्चित गरिएको तापक्रममा एसी चल्छ।
धेरै प्रयोग हुने एसीमा सामसङ र हिमस्टारको एसी पर्छन्।
यी दुबै एसी नेपालमा गोल्छा अर्गनाइजेसन अन्तर्गतको स्विच अनले बिक्री गर्छ। स्विच अनका सोरूमहरूका साथै सबै सामसङ प्लाजाहरूमा सामसङ र हिमस्टारका एसीहरू उपलब्ध छन्। एसी खरिद गर्नेको लागि जडान गर्न कम्पनीले प्रतिनिधि पठाउँछ।
स्विच अनले १ टन, १.५ टन र २ टनका एसीहरू अहिले बिक्री गरिरहेको बताएको छ।
यसमा पनि विभिन्न मोडल अनुसार फरक मूल्य निर्धारण भएको स्विच अनका प्रतिनिधि विशाल कार्कीले बताए।
हिमस्टार एसीको मूल्य ७७ हजार ९९० देखि एक लाख २५ हजार ६९० रूपैयाँसम्म छ।
सामसङ एसीको मूल्य एक लाख ५ हजारदेखि एक लाख ४५ हजार रूपैयाँसम्म उपलब्ध छ।
एलजी, टिसिएल, गोदरेज, डेको, मोइडिया ब्राण्डका एसीहरूको बिक्री सिजी डिजिटल मार्फत् हुन्छ।
विशालनगरमा भाटभटेनी अगाडि, त्रिपुरेश्वरमा वर्ल्ड ट्रेड सेन्टरको पहिलो तला, रविभवन, बालाजु चोक, सितापाइलामा ताम्राकार हाउस, ललितपुरमा ग्वार्को चोक, भक्तपुरमा गठ्ठाघर तथा राधेराधेमा सिजी डिजिटलमा बिक्री केन्द्र छन्।
सिजी डिजिटलका नायव महाप्रबन्धक विष्णु ज्ञवालीका अनुसार खुद्रा पसलहरूसमेत गरी काठमाडौं उपत्यकामा करिब १०० वटा पसलबाट बिक्री गरिन्छ।
टिसिएलको एसीको मूल्य ६० हजारदेखि एक लाख रूपैयाँसम्म तोकिएको छ।
एलजीको ८० हजार रूपैयाँदेखि एक लाख ५० हजार रूपैयाँसम्म मूल्य तोकिएको छ।
गोदरेजको ७० हजारदेखि एक लाख रूपैयाँसम्म तोकिएको छ।
सिजीको ६० हजार रूपैयाँदेखि एक लाख, डेकोको ७५ हजारदेखि एक लाख रूपैयाँसम्म मूल्य तोकिएको छ।
बजारमा वाल माउन्ट एसीको माग पनि बढी हुने गरेको व्यवसायीहरूले बताएका छन्।
यो भित्तामा झुन्डाउने एसी हो। वितरकहरूमा अनुसार यस्तो एसीले बजारको ८० प्रतिशत माग धानेको छ।