यशोदा फुड्सले आफ्नो उद्योगप्रति लक्षित समाचार बनाउन लगाउने, बनाउने र प्रसारण गर्नेहरूविरुद्ध प्रचलित साइबर कानुन लगायतका कानुन बमोजिम कारबाही गर्नका लागि आवश्यक पहल गरेको बताएको छ।
कम्पनीले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो।
विज्ञप्तिमा भनिएको छ, 'यस उद्योगलाई निहित स्वार्थ पूरा गर्न अनावश्यक दुःख दिने नियतले केही तत्वहरूले स्वार्थी तत्वहरूलाई प्रयोग गरी कपोलकल्पित समाचार बनाउन लगाउने, बनाउने र प्रसारण गर्नेहरू विरुद्ध प्रचलित साइबर कानुन लगायतका प्रचलित नेपाल कानुन बमोजिम कारबाही गर्नका लागि उद्योगले आवश्यक पहल कदमी लिइ सकेको व्यहोरा समेत सम्पूर्ण उपभोक्ता महानुभावहरूमा सादर अवगत गराउँदछौं।'
'उद्योगलाई बदनाम गराउन प्रायोजित रूपमा हुँदै नभएको विषयलाई प्रमाण बिना भ्रामक समाचार तयार गरी प्रसारण गर्नेहरुप्रति उद्योग सजग रहेको छ,' विज्ञप्तिमा भनिएको छ, 'हालैका दिनमा केही व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरी कपोलकल्पित समाचार बनाएको पाइएकोप्रति उद्योगको गम्भीर ध्यानाकर्षण भएको छ।'
यस्ता कपोलकल्पित र काल्पनिक कुराहरूको पछाडि नलागी यस उद्योगका उत्पादनहरूको उत्पादन मिति चेकजाँच गरी ढुक्कसँग उपभोग गर्न र बजारमा म्याद समाप्त भएका अर्थात उपभोग मिति समाप्त भएका उत्पादन प्रयोग नगर्न समेत कम्पनीले अपिल गरेको छ।
यशोदा फुड्सले आफ्नो उत्पादनको गुणस्तर (क्वालीटी) मा विशेष सजगता अपनाइ आएको व्यहोरा अनुरोध गर्दै उद्योग स्वच्छ व्यापारीक प्रतिस्पर्धाबाट अगाडि बढ्न चाहेको र कुनै कपोलकल्पित फन्डा तयार गरी आम उपभोक्ताको भावनामा माथि खेलबाड नगरेको, गर्न नचाहेको तथा त्यस्ता तत्वहरूप्रति सचेत रहेको समेत बताएको छ।