यो वर्ष गर्मी अत्यधिक बढेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार काठमाडौंको तापक्रम ३५.३ डिग्री सेल्सियस मापन गरिएको थियो।
यसभन्दा पहिले २०४६ वैशाख २५ गते ३६.६ डिग्री सेल्सियस मापन गरिएको मौसमविद मीनकुमार अर्यालले बताएका छन्। यस आधारमा शनिबारको तापक्रम ३५ वर्षयताकै बढी हो।
गर्मी बढेपछि कोठा चिसो बनाउने सामग्री (पंखा, एसी, कुलर) को माग बजारमा बढेको छ। कतिपय सामग्री अभाव भएको व्यापारीहरूले बताउने गरेका छन्। कोठा चिसो बनाउन प्रयोग गरिने सामग्रीमध्ये पंखाको माग धेरै छ।
'अहिले त कति धेरै माग हो। विगतमा फाट्टफुट्ट रूपमा मात्रै बिक्री हुने गरेको थियो। यो पटक धेरै बिक्री भएर मेरो पसलमा सबै सामान नै सकियो। थप मगाउन खोजिएको त्यो पनि पाइएको छैन,' काठमाडौंको डिल्लीबजारमा पछिलो २० वर्षदेखि पसल सञ्चालन गर्दै आएका श्री मालिका ट्रेड एण्ड लिंक सेन्टरका सञ्चालक कुमार अर्यालले भने।
बजारमा कस्ता–कस्ता किसिमका पंखा पाइन्छ? कहाँ पाइन्छ? कतिमा पाइन्छ? कसले बेच्छ?
यी विषयमा धेरैको चासो हुने गर्छ। हामीले यही चासो मेटाउन खोजेका छौँ।
सामान्यत: बजारमा चार किसिमका पंखा पाइन्छन्। ती टेबल, स्ट्यान्ड, भित्ते र सिलिङ पंखा हुन्। व्यापारीहरूका अनुसार सिलिङ फ्यानको माग अरूको तुलनामा कम छ।
यसका दुई वटा कारण छन्। यस्तो फ्यान राख्न कोठाको उचाइ कम्तीमा १० फिट चाहिन्छ। काठमाडौंमा अक्सर नौ फिट उचाइका कोठा छन्। त्यस्तै घर बनाउने क्रममा यस्तो पंखा राख्ने ठाउँ पनि बनाइएको हुँदैन।
यो कोठाको माथि झुन्ड्याइने पंखा हो। कम उचाइमा भए जोखिम हुन्छ। अरूको तुलनामा कम बिक्री भएको छ। अन्य पंखाको माग बढी हुन्छ।
यी पंखा विभिन्न कम्पनीहरूले नेपाल भित्र्याएका छन्। बढी मात्रामा सिजी, क्रम्प्टन, माइडिया, ब्ल्याक एण्ड डेकर, हिमस्टार र बाल्ट्रा छन्।
सिजी, क्रम्प्टन, माइडिया, ब्ल्याक एण्ड डेकरको बिक्री नेपालमा चौधरी ग्रुपको सिजी डिजिटलका सोरूमहरूका साथै अन्य खुद्रा पसलहरूबाट पनि पाइन्छ। हिमस्टारको गोल्छा अर्गनाइजेसन अन्तर्गतको स्विच अनले बिक्री गर्छ।
सिजी डिजिटलका महाप्रबन्धक विष्णु ज्ञवालीका अनुसार यी पंखाको मूल्य एक हजार पाँच सय रूपैयाँदेखि पाँच हजार रूपैयाँसम्म पर्छ।
सिलिङ फ्यानको दुई हजारदेखि तीन हजार रूपैयाँ पर्छ।
स्ट्यान्ड फ्यान र वाल फ्यानको मूल्य दुई हजारदेखि पाँच हजार रूपैयाँ पर्छ। सिजी डिजिटलले बिक्री गर्ने पंखामा सबैभन्दा महँगो ब्ल्याक एण्ड डेकर हो।
सिजीले काठमाडौं उपत्यकामा आफ्ना १४ वटा आधिकारिक बिक्री केन्द्रका साथै अन्य खुद्रा पसलहरूबाट बिक्री गर्दै आएको छ।
विशालनगरमा भाटभेटनी अगाडि, त्रिपुरेश्वरमा वर्ल्ड ट्रेड सेन्टरको पहिलो तला, रविभवन, बालाजु चोक, सितापाइलामा ताम्राकार हाउस, ललितपरमा ग्वार्को चोक, भक्तपुरमा गठ्ठाघर तथा राधेराधेबाट सिजी डिजिटलका बिक्री केन्द्र छन्।
सिजी डिजिटलका नायव महाप्रबन्धक ज्ञवालीका अनुसार खुद्रा पसलहरूसमेत गरी काठमाडौं उपत्यकामा करिब १०० वटा पसलबाट बिक्री गरिन्छ।
ज्ञवालीले पछिल्लो समय अत्यधिक माग बढेको कारण पूर्ति गर्न समस्या रहेको बताए।
'अहिले बजारमा केही अभाव देखिएको छ। हामीले मगाएका छौं,' उनले भने।
त्यस्तै, हिमस्टारका पंखा गोल्छा अर्गनाइजेसन अन्तर्गतको स्विच अनले बिक्री गरेको छ। स्विच अनका बिक्री प्रतिनिधि विशाल कार्कीले तीन हजार दुई सय ५० रूपैयाँदेखि चार हजार ९५० रूपैयाँसम्मका पंखाहरू पाइने बताए।
कार्कीका अनुसार काठमाडौं नक्साल, न्यूरोड (आरकम्प्लेक्सको अगाडि), नारायण चौर (चोक), गठ्ठाघर (चोक) बाट किन्न पाइन्छ।
स्विच अनका टेबल, वाल र स्ट्यान्ड फ्यान पाइन्छ।
बाल्ट्राका बिक्री प्रतिनिधिले पनि अहिले पंखाको माग धेरै बढेको बताए।
'गर्मी धेरै बढ्यो अहिले निकै भिडभाड छ, माग निकै बढेको छ,' बाल्ट्राका बिक्री प्रतिनिधि राजन बज्राचार्यले भने।
उनका अनुसार तीन हजार ३५० देखि चार हजार ७५ रूपैयाँसम्मका पंखा बिक्री भएको छ। टेकु साल्ट ट्रेडिङको अगाडि रहेको बाल्ट्राको सोरूमबाट यी सामग्री बिक्री भइरहेको छ।
उनले पनि टेबल फ्यानको माग बढी भएको बताए।